YouVersion Logo
Search Icon

गन्ती 17

17
हारूनको लहुरोमा कोपिला लागेको
1परमप्रभुले मोशालाई भन्‍नुभयो, 2“इस्राएलीहरूलाई भनेर तिनीहरूका पुर्खाका कुल-कुलबाट एक-एक वटा गरी बाह्र वटा लौराहरू ले, र तिनीहरू हरेकको नाउँ तैंले तिनीहरूको आ-आफ्‍नो लहुरोमा लेख्‌। 3लेवीका कुलको लहुरोमा तैंले हारूनको नाउँ लेख्, किनकि हरेक कुलको प्रमुख मानिसको निम्‍ति एउटा लहुरो हुनुपर्छ। 4भेट हुने पालमा गवाही-पाटीको सामुन्‍ने मैले तिमीहरूसित भेट गर्ने ठाउँमा ती राखिदे। 5जुन मानिसलाई म रोज्‍छु, त्‍यसको लहुरो टुसाउनेछ। यसरी इस्राएलीहरूले तेरो विरुद्धमा सुनाउने गनगन म बन्‍द गरिदिनेछु।”
6तब मोशाले इस्राएलीहरूलाई यो कुरा सुनाए, र तिनीहरूका नायकहरूले आ-आफ्‍ना पुर्खाको कुलअनुसार हरेक कुलनायकको निम्‍ति एक-एक वटा गरी बाह्र वटा लौराहरू तिनलाई दिए। हारूनको लहुरो पनि तिनीहरूका लौराहरूका बीचमा थियो। 7मोशाले ती लौराहरू लिएर गवाही-पाटीको पालमा परमप्रभुको सामुन्‍ने राखिदिए।
8भोलिपल्‍ट मोशा गवाही-पाटीको पालमा गए। अनि लेवी घरानाको निम्‍ति राखेको हारूनको लहुरोमा कोपिला लागेको रहेछ, र कोपिला लागेर फूल फुलेको र हाड़े-बदाम पनि पाकिसकेको रहेछ। #हिब ९:४ 9तब मोशाले सबै लौराहरू परमप्रभुको सामुन्‍नेबाट इस्राएलीहरूकहाँ ल्‍याए र हेरेर हरेकले आ-आफ्‍नो लहुरो लिए।
10परमप्रभुले मोशालाई भन्‍नुभयो, “विद्रोही पुस्‍ताको विरुद्धमा चिन्‍हको निम्‍ति हारूनको लहुरोलाई गवाही-पाटीको सामु फेरि लगेर राख्, र मेरो विरुद्ध तिनीहरूको गनगन तैंले अन्‍त गरिदे, नत्रता तिनीहरू मर्लान्‌।” 11परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले सबै गरे।
12इस्राएलीहरूले मोशालाई भने, “हेर्नुहोस्, हामी नष्‍ट भयौं, बरबाद भयौं, हामी सबै खतम भयौं 13परमप्रभुको पवित्र स्‍थानको नजिक आउने हरेक मर्नेछ। के हामी पनि सबै नष्‍ट हुने?”

Currently Selected:

गन्ती 17: NNRV

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for गन्ती 17