YouVersion Logo
Search Icon

लेवीहरू 9

9
हारून र उनका छोराहरूको अभिषेक
1आठौँ दिनमा मोशाले हारून, उनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए। 2अनि तिनले हारूनलाई भने, “आफ्‍नो निम्‍ति पापबलिको लागि एउटा निष्‍खोट बाछा र होमबलिको लागि एउटा निष्‍खोट भेड़ा लिएर परमप्रभुको सामु बलि चढ़ाऊ। 3अनि इस्राएलीहरूलाई यसो भन, ‘तिमीहरूले पापबलिको लागि एउटा बोका र होमबलिको लागि एक वर्षे एउटा निष्‍खोट बाछो र निष्‍खोट थुमा ल्‍याओ। 4परमप्रभुको सामु बलिदान गर्नलाई मेलबलिको लागि एउटा साँढ़े र एउटा भेड़ा, र तेलमा मुछेको एउटा अन्‍नबलि पनि ल्‍याओ। किनकि परमप्रभुले आज तिमीहरूलाई दर्शन दिनुहुनेछ’।”
5मोशाले आज्ञा गरेबमोजिम तिनीहरूले सबै कुरा भेट हुने पालको सामुन्‍ने ल्‍याए, अनि सारा समुदाय परमप्रभुको नजिक आएर उभियो। 6अनि मोशाले भने, “परमप्रभुले आज्ञा गर्नुभएको तिमीहरूले गर्नुपर्ने काम यही हो, र यसरी परमप्रभुको महिमा तिमीहरूकहाँ देखा पर्नेछ।”
7मोशाले हारूनलाई भने, “वेदीको नजिक आएर आफ्‍नो पापबलि र होमबलि चढ़ाऊ, अनि आफ्‍नो निम्‍ति र मानिसहरूका निम्‍ति प्रायश्‍चित गर। परमप्रभुले आज्ञा गर्नुभएबमोजिम मानिसहरूले ल्‍याएका बलि चढ़ाएर तिनीहरूका निम्‍ति प्रायश्‍चित गर।” #हिब ७:२७
8तब वेदीको नजिक आएर हारूनले आफ्‍नै निम्‍ति पापबलिको बाछा मारे। 9हारूनका छोराहरूले रगत उनीकहाँ ल्‍याइदिए। उनले आफ्‍नो औँला रगतमा चोपेर वेदीका सीङहरूमा लगाए, र बाँकी रगतचाहिँ वेदीको आधारमा खन्‍याइदिए। 10पापबलिको बोसो, मिर्गौला, र कलेजो ढाक्‍ने मासु उनले वेदीमा जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। 11तर मासु र छालाचाहिँ उनले छाउनीबाहिर आगोमा जलाइदिए।
12तब हारूनले होमबलि मारे, र उनका छोराहरूले रगत उनीकहाँ ल्‍याइदिए, र उनले वेदीको वरिपरि त्‍यो छर्के। 13तिनीहरूले होमबलि टुक्रा-टुक्रा पारेर टाउकैसमेत उनीकहाँ ल्‍याइदिए, र उनले त्‍यो वेदीमा जलाइदिए। 14उनले आन्‍द्रा-भुँड़ी र खुट्टा पखालेर वेदीको होमबलिमा जलाइदिए।
15त्‍यसपछि मानिसहरूका निम्‍ति बलि ल्‍याएर तिनीहरूका पापबलिको बोका हारूनले मारे, र पहिलेको जस्‍तै पापबलिको लागि त्‍यो चढ़ाए।
16त्‍यसपछि उनले होमबलि लिएर विधिपूर्वक त्‍यो चढ़ाए। 17अनि अन्‍नबलि लिएर त्‍यसबाट मुट्ठीभरि वेदीमा बिहानको होमबलिबाहेक त्‍यो पनि चढ़ाए।
18मानिसहरूका निम्‍ति मेलबलिको साँढ़े र भेड़ा पनि हारूनले मारे। उनका छोराहरूले रगत लिएर उनलाई दिए, अनि उनले त्‍यो वेदीको वरिपरि छर्के। #लेवी ३:१-११ 19तर साँढ़े र भेड़ाको बोसो— बोसे-पुच्‍छर, आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो, मिर्गौलाहरू र कलेजो ढाक्‍ने मासु— 20तिनीहरूले ह्याकुलाहरूमाथि राखे, अनि उनले बोसोचाहिँ वेदीमा जलाए। 21ह्याकुलाहरूसमेत दाहिने साँप्रोचाहिँ मोशाले अह्राएबमोजिम हारूनले डोलाइने बलिको लागि परमप्रभुको सामु डोलाए।
22तब हारूनले आफ्‍ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढ़ाएर उनी तल ओर्ले। #गन्ती ६:२२-२६
23तब मोशा र हारून भेट हुने पालभित्र प्रवेश गरे, अनि निस्‍केर मानिसहरूलाई आशीर्वाद दिए। अनि परमप्रभुको महिमा सबै मानिसहरूमा देखा पर्‍यो। 24परमप्रभुको सामुन्‍नेबाट आगो निस्‍केर वेदीमा रहेको होमबलि र बोसोलाई भस्‍म पार्‍यो। जब मानिसहरूले यो देखे, तब तिनीहरू खुशीले कराएर घोप्‍टो परेर लोटे।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for लेवीहरू 9