लेवीहरू 22
22
पूजाहारीहरू र अरू बलिदानका विधिहरू
1परमप्रभुले मोशालाई भन्नुभयो, 2“हारून र त्यसका छोराहरूलाई भन्: ‘इस्राएलीहरूले मेरो निम्ति चढ़ाएका पवित्र थोकहरूका बारेमा तिमीहरू होशियार रहो, र मेरो नाउँ अपवित्र नगर्नू। म परमप्रभु हुँ’।
3“तिनीहरूलाई भन्: ‘तिमीहरूको कुनै पुस्तामा पनि यदि कोही अशुद्ध मान्छे इस्राएलीहरूले परमप्रभुलाई अर्पण गरेका पवित्र थोकहरूका नजिक गयो भने, त्यस मान्छे मेरो सामुन्नेबाट बहिष्कृत हुनेछ। म परमप्रभु हुँ।
4“‘हारूनका सन्तानमध्ये कसैलाई पनि छालाको सरुवा रोग वा धातुको रोग छ भने, त्यो शुद्ध नहोउञ्जेल पवित्र थोकहरूबाट त्यसले केही नखाओस्। लाश छुने, धातु रोगीलाई छुने, 5घस्रने जीवजन्तुलाई छुने र कुनै पनि अशुद्धता भएको मान्छेलाई छुने 6मानिस साँझसम्म अशुद्ध रहोस्। त्यसले आफ्नो शरीर नधोउञ्जेल पवित्र थोकहरूबाट नखाओस्। 7सूर्य अस्ताएपछि मात्र त्यो शुद्ध हुनेछ। त्यसपछि त्यसले पवित्र थोकहरूबाट खान सक्छ, किनभने त्यो त्यसको भोजन हो। 8आफै मरेको अथवा जङ्गली पशुले फहराएर मारेको जन्तु खाएर त्यसले आफूलाई अशुद्ध नपारोस्। म परमप्रभु हुँ।
9“‘पूजाहारीहरूले मेरा आज्ञाहरू पालन गरून्, नत्रता तिनीहरूले मेरा आज्ञा घृणा गरेको कारण तिनीहरू दोषी भएर मर्लान्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ।
10“‘पूजाहारीको परिवारबाहेक जुनसुकै मान्छेले पवित्र थोक नखाओस्, न त पूजाहारीको पाहुना वा ज्यालादारी नोकरले पवित्र थोक खाओस्। 11तर दाम हालेर किनेको पूजाहारीको कमाराले र तिनको घरमा जन्मेका कमाराहरूले पनि पूजाहारीका भोजनको भागबाट खाए हुन्छ। 12पूजाहारीकी छोरी अरू कुलको कुनै पुरुषसित विवाह भएकी छे भने त्यसले कुनै पवित्र भेटीहरूबाट नखाओस्। 13तर कुनै पूजाहारीकी छोरी विधवा वा त्यागिएकी छे र त्यसका छोराछोरी नभई आफ्ना बुबाको घरमा बसेकी छे भने, त्यसको बाल्यावस्थामा झैँ त्यसले बुबाको भोजनबाट खाओस्। तर अरू कुलको जोसुकैले त्यसबाट नखाओस्।
14“‘कुनै मानिसले थाहा नपाई पवित्र थोकबाट केही खायो भने, त्यसको पाँचौँ भाग थपेर त्यस पवित्र थोकको भर्ना पूजाहारीलाई देओस्। 15इस्राएलीहरूले परमप्रभुलाई चढ़ाएका पवित्र थोकहरू पूजाहारीले अपवित्र नपारून्। 16पूजाहारीले पवित्र भेटीबाट मानिसहरूलाई खान नदेऊन्, नत्रता तिनीहरूले आफ्नो अधर्मको दोष र दण्ड भोग्नेछन्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ’।”
17परमप्रभुले मोशालाई भन्नुभयो, 18“हारून, त्यसका छोराहरू र सबै इस्राएलीहरूलाई भन्: ‘इस्राएली अथवा इस्राएलमा वास गर्ने परदेशीले भाकल वा राजीखुशीको होमबलि परमप्रभुलाई चढ़ाउँदा, 19त्यो ग्रहणयोग्य हुनलाई साँढ़े, भेड़ा वा बोकाहरूबाट निष्खोट नरचाहिँ चढ़ाओस्। 20खोट भएको जे छ त्यो तिमीहरूले नचढ़ाउनू, किनकि त्यो ग्रहणयोग्य हुनेछैन। #व्य १७:१ 21मेलबलि चढ़ाएर परमप्रभुलाई आफ्नो भाकल पूरा गर्दा अथवा राजीखुशीको बलि चढ़ाउँदा बथान वा बगालबाट लिइने पशु ग्रहणयोग्य हुनलाई त्यो सिद्ध र निष्खोट हुनुपर्छ। 22अन्धा, चोट भएका, अङ्गभङ्ग भएका, मूसा वा पाकेको घाउ भएका, यस्तालाई तिमीहरूले परमप्रभुको निम्ति अग्नि-होमको रूपमा वेदीमा नचढ़ाउनू। 23तर अङ्गभङ्ग भएको साँढ़े वा भेड़ाचाहिँ तिमीहरूले राजीखुशीको बलिमा चढ़ाए हुन्छ। तर भाकलको बलिमा चाहिँ त्यो ग्रहण हुनेछैन। 24जुन पशुका अण्ड कुच्च्याइएका वा चूर पारिएका, फोरिएका वा चिरिएका हुन्छन्, त्यो परमप्रभुको निम्ति नचढ़ाउनू। तिमीहरूको देशभरि नै त्यसो गर्नु निषेध छ। 25कुनै परदेशीबाट लिएर पनि यस्तो कुनै पशु परमेश्वरको भोजन स्वरूप नचढ़ाउनू। तिनीहरूमा भएका अङ्गभङ्ग र खोटले गर्दा, ती तिमीहरूका निम्ति ग्रहणयोग्य हुनेछैन’।”
26परमप्रभुले मोशालाई भन्नुभयो, 27“बाछा वा भेड़ाबाख्राका पाठा बियाएको सात दिनसम्म त्यसकै माउसँग बसोस्। आठौँ दिनदेखि त्यसलाई आगोद्वारा बलि गरे त्यो परमप्रभुमा ग्रहणयोग्य हुनेछ। 28गाई अथवा भेड़ीलाई त्यसको पाठासमेत एकै दिनमा नमार्नू।
29“तिमीहरूले परमप्रभुको निम्ति धन्यवाद बलि चढ़ाउँदा त्यो ग्रहणयोग्य हुने गरी चढ़ाओ। 30त्यही दिन त्यो खाइओस्। त्यसमा उब्रेको केही पनि बिहानसम्म नछोड़िओस्। म परमप्रभु हुँ।
31“तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नू। म परमप्रभु हुँ। 32मेरो पवित्र नाउँ तिमीहरूले अपवित्र नगर्नू। इस्राएलीहरूले म पवित्र छु भनी स्वीकार गरून्। तिमीहरूलाई पवित्र गराउने, 33र तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट निकाली ल्याउने परमप्रभु मै हुँ। म परमप्रभु हुँ।”
Currently Selected:
लेवीहरू 22: NNRV
Highlight
Share
Compare
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012