YouVersion Logo
Search Icon

लेवीहरू 20

20
विभिन्‍न पापहरूका दण्‍ड
1परमप्रभुले मोशालाई भन्‍नुभयो, 2“इस्राएलीहरूलाई भन्‌: ‘इस्राएलीहरू अथवा तिनीहरूसित वास गर्ने परदेशीहरू जसले आफ्‍नो बालक मोलोखलाई चढ़ाउँछ त्‍यो मारिनैपर्छ। समुदायका मानिसहरूले त्‍यसलाई ढुङ्गाले हानून्‌। 3त्‍यसले आफ्‍नो बालक मोलोखलाई चढ़ाउँदा मेरो पवित्रस्‍थान र पवित्र नाउँलाई अपवित्र गर्छ। यसकारण त्‍यसको विरोध गरेर म त्‍यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिदिनेछु। 4त्‍यसले आफ्‍नो बालक मोलोखलाई चढ़ाउँदा समुदायका मानिसहरूले त्‍यस मानिसलाई नमारेर नदेखेका जस्‍तो गरे भने,
5म त्‍यस मानिस र त्‍यसको परिवारको विरोध गर्नेछु, र त्‍यसलाई र त्‍यसको साथमा मोलोख पछि लागेर आफूलाई वेश्‍यासमान बनाउने सबैलाई आफ्‍ना मानिसहरूबाट म बहिष्‍कार गरिदिनेछु।
6“‘जुन मानिस झाँक्री, बोक्‍सी र जादू-मन्‍त्र गर्नेतिर लागेर मलाई विश्‍वासघात गर्छ, त्‍यसको विरोध गरेर म त्‍यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गर्नेछु।
7“‘आफैलाई ममा अर्पण गरेर पवित्र होओ। किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। 8तिमीहरूले मेरा विधिहरू पालन गर। तिमीहरूलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ।
9“‘जसले आफ्‍ना आमा-बुबालाई सराप्‍छ त्‍यो मारिनैपर्छ। आफ्‍ना आमा-बुबालाई सरापेको कारण त्‍यसको अपराध त्‍यसकै शिरमाथि परोस्‌। #प्रस २१:१७; मत्ती १५:४; मर्क ७:१०
10“‘यदि कसैले अर्काकी पत्‍नीसित व्‍यभिचार गर्‍यो भने व्‍यभिचारी र व्‍यभिचारिणी दुवै मारिनैपर्छ। #प्रस २०:१४; लेवी १८:२०; व्‍य ५:१८
11“‘आफ्‍ना बुबाकी पत्‍नीसित सहवास गर्नेले आफ्‍ना बुबाको अनादर गरेको हो। ती दुवै मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्‌। #लेवी १८:८; व्‍य २२:३०; २७:२०
12“‘कुनै मान्‍छेले आफ्‍नी बुहारीसित सहवास गर्‍यो भने ती दुवै मारिनैपर्छ। त्‍यो दुराचरण हो। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्‌। #लेवी १८:१५
13“‘कुनै मान्‍छेले स्‍त्रीसँग सम्‍भोग गरेझैँ पुरुषसित गर्‍यो भने त्‍यो घृणित काम हो। तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्‌। #लेवी १८:२२
14“‘कुनै मान्‍छेले आमा र छोरी दुवैलाई राख्‍यो भने त्‍यो दुष्‍कर्म हो। त्‍यो ती दुवैसँग जलाइनुपर्छ, र तिमीहरूका बीचमा यस्‍तो दुष्‍कर्म नहोस्‌। #लेवी १८:१७; व्‍य २७:२३
15“‘कसैले पशुसित सम्‍भोग गर्‍यो भने त्‍यो मानिस मारिनैपर्छ, र त्‍यस पशुलाई पनि मारिदिनू। #प्रस २२:१९; लेवी १८:२३; व्‍य २७:२१
16“‘यदि कुनै स्‍त्री पशु-सम्‍भोगमा फेला परी भने त्‍यो स्‍त्री र पशु दुवै मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्‌।
17“‘कसैले आफ्‍नी बहिनी, अर्थात्‌ आफ्‍ना बुबा वा आमापट्टिकी छोरी विवाह गरेर तिनीहरूले यौन सम्‍बन्‍ध राखे भने त्‍यो लाजमर्दो कुरा हो। ती दुवै आफ्‍ना मानिसहरूका बीचबाट बहिष्‍कार गरिऊन्‌। त्‍यसले आफ्‍नै बहिनीको अनादर गरेको छ। त्‍यो आफ्‍नो अपराधको निम्‍ति उत्तरदायी हुनेछ। #लेवी १८:९; व्‍य २७:२२
18“‘रजस्‍वलाको समयमा कुनै मानिसले स्‍त्रीसित सहवास गर्‍यो भने ती दुवै आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिऊन्, किनभने त्‍यस पुरुषले स्‍त्रीका रगतको मूल देखायो र स्‍त्रीले चाहिँ आफ्‍नो रगतको मूल देखाई। #लेवी १८:१९
19“‘तैंले आफ्‍ना बुबा वा आमाकी दिदी-बहिनीसित सहवास नगर्‌। कारण यसबाट नजिकका साइनोको अनादर हुन्‍छ। तिनीहरू आफ्‍नो अपराधको निम्‍ति उत्तरदायी हुनेछन्‌। #लेवी १८:१२-१४
20“‘कसैले आफ्‍ना काका वा ठूलो-बुबाकी पत्‍नीसित सहवास गर्‍यो भने त्‍यसले आफ्‍ना काका वा ठूलो-बुबाको अनादर गरेको हो। तिनीहरू आफ्‍नो पापको निम्‍ति उत्तरदायी हुनेछन्‌। तिनीहरू निस्‍सन्‍तानै मर्नेछन्‌।
21“‘कसैले पनि आफ्‍नी भाइ-बुहारी वा भाउज्‍यूलाई विवाह गर्नु अशुद्धता हो। त्‍यसले आफ्‍ना दाजुभाइको अनादर गरेको हो। तिनीहरू निस्‍सन्‍तानै हुनेछन्‌। #लेवी १८:१६
22“‘तिमीहरूले मेरा सबै विधिविधानहरू पालन गर्नू। नत्रता जुन देशमा म तिमीहरूलाई लैजानेछु त्‍यसले तिमीहरूलाई उकेलेर फ्‍याँकिदिनेछ। 23तिमीहरूका सामुन्‍ने मैले निकाल्‍न लागेका जातिहरूका चालचलनमा तिमीहरू नहिँड्‌नू। तिनीहरूले यी सबै काम गरेका थिए, त्‍यसैकारण मैले तिनीहरूलाई घृणा गरें। 24तर मैले तिमीहरूलाई भनेको छु, “तिमीहरूले तिनीहरूको देश अधिकार गर्न पाउनेछौ, अनि दूध र मह बग्‍ने एक देश म तिमीहरूलाई दिनेछु।” तिमीहरूलाई अरू जातिहरूबाट अलग गर्ने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
25“‘यसैकारण तिमीहरूले शुद्ध र अशुद्ध पशु-पक्षीहरूको भेद राख्‍नू। मैले अशुद्ध ठहराएका पशु-पक्षी वा भूइँमा घस्रने प्राणीबाट तिमीहरूले आफैलाई अशुद्ध नबनाओ। 26तिमीहरू मेरो निम्‍ति पवित्र होओ, किनभने म, परमप्रभु, पवित्र छु, र तिमीहरू मेरै हुनलाई मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेर छुट्ट्याएको हुँ।
27“‘तिमीहरूमध्‍ये कुनै पुरुष वा स्‍त्रीले झाँक्री, बोक्‍सी वा जादू-मन्‍त्रको काम गर्‍यो भने त्‍यो मारिनैपर्छ। तिनीहरूलाई ढुङ्गाले हानेर मार्नू। तिनीहरूको अपराध तिनीहरूकै शिरमा परोस्‌’।”

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in