यर्मिया 30
30
इस्राएलको पुनर्स्थापन
1परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यही हो: 2“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तँलाई भनेका सबै कुरा एउटा पुस्तकमा लेख्। 3यस्तो दिन आउँदैछ, जब म मेरा प्रजा इस्राएल र यहूदालाई निर्वासनबाट फर्काएर ल्याउनेछु, र देश अधिकार गर्न मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको त्यस देश म फेरि तिनीहरूलाई दिनेछु,’ परमप्रभु भन्नुहुन्छ।”
4इस्राएल र यहूदाको विषयमा परमप्रभुले भन्नुभएका कुरा यी नै हुन्: 5“परमप्रभु यसो भन्नुहुन्छ: ‘डरको आवाज र त्रासको आवाज सुनिँदैछ। शान्तिको होइन। 6सोध र हेर: के पुरुषले छोराछोरी जन्माउन सक्छ र? किन त हरेक बलियो मानिस प्रसववेदनामा परेझैँ आफ्नो हातले पेट समातेको म देख्तछु? किन हरेकको अनुहार मरेको जस्तै पहेँलो भएको छ? 7हाय! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ! त्यस्तो अरू कुनै दिन पनि हुनेछैन। याकूबको निम्ति यो दु:खको दिन हुनेछ, तर ऊ त्यसबाट बचाइनेछ।
8“सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, ‘त्यस दिन म त्यो जुवा तिनीहरूको काँधबाट भाँचिदिनेछु, र म तिनीहरूको बन्धन फुकाइदिनेछु। विदेशीहरूले कहिल्यै तिनीहरूलाई दास बनाउनेछैनन्। 9त्यसको सट्टामा तिनीहरूले परमप्रभु आफ्ना परमेश्वर र मैले तिनीहरूका निम्ति खड़ा गरेका तिनीहरूका राजा दाऊदकै सेवा गर्नेछन्।’
10“परमप्रभु भन्नुहुन्छ, ‘यसैले हे मेरो दास याकूब, नडरा। हे इस्राएल, हताश नखा। म तँलाई टाढ़ा देशबाट र तेरा सन्तानलाई निर्वासन भएको देशबाट बचाएर ल्याउनेछु। याकूबलाई फेरि शान्ति र सुरक्षा हुनेछ। कसैले त्यसलाई डर देखाउन सक्नेछैन’। #यर ४६:२७-२८ 11परमप्रभु भन्नुहुन्छ, ‘म तेरो उद्धार गर्नेछु, तेरो साथमा रहनेछु। जुन जातिहरूकहाँ तँलाई मैले तितरबितर पारेको थिएँ, ती सबलाई म बिलकुलै खतम पार्नेछु। तापनि म तँलाई त बिलकुलै खतम पार्नेछैनँ। म तँलाई न्यायपूर्वक अनुशासन गर्नेछु। तँलाई दण्ड नदिई म पूरै छोड्नेछैनँ’।
12“परमप्रभु यसो भन्नुहुन्छ: ‘तेरो घाउ निको नहुने, र तेरो चोट निको पार्न नसकिने छ। 13तेरो पक्षमा बिन्ती गरिदिने कोही छैन। तेरो घाउको कुनै उपचार छैन, तेरो निम्ति चङ्गाइ छैन। 14तेरा सबै सहयोगीहरूले तँलाई बिर्सिसके। तिनीहरू तेरो केही वास्ता गर्दैनन्। तेरो ठूलो अपराध र तेरा धेरै पापहरूले गर्दा शत्रुले झैँ मैले तँलाई हिर्काएँ, र निष्ठुरले झैँ तँलाई दण्ड दिएँ। 15तेरो चोटको कारण, तेरो निको नहुने दुखाइको कारण तँ किन रुन्छस्? तेरो ठूलो दोष र धेरै पापहरूको कारणले यी सबै मैले तँलाई गरेको हो।
16“‘तर तँलाई निल्नेहरू सबै निलिनेछन्। तेरा सबै शत्रुहरू निर्वासनमा लगिनेछन्। तँलाई लुट्नेहरू लुटिनेछन्। तँलाई बिगार्नेहरूलाई म बिगार्नेछु। 17तर म तँलाई फेरि स्वस्थ बनाउनेछु, र तेरा चोटहरू म निको पार्नेछु,’ परमप्रभु भन्नुहुन्छ, ‘किनभने तँलाई त्यागिएकी, कसैले वास्ता नगर्ने सियोन भनिन्छ’।
18“परमप्रभु यसो भन्नुहुन्छ: ‘म याकूबका पालको सुख-शान्ति फेरि फिर्ता दिनेछु, र त्यसका बस्ने ठाउँहरूलाई टिठ्याउनेछु। त्यसकै भग्नावशेषमा त्यो सहर फेरि बनाइनेछ, र महल अघिको आफ्नै स्थानमा खड़ा हुनेछ। 19तिनीहरूबाट धन्यवादको स्तुतिगान र आनन्दको सोर सुनिनेछ। म तिनीहरूका संख्याको वृद्धि गर्नेछु, र तिनीहरू घट्नेछैनन्। म तिनीहरूमा सम्मान ल्याउनेछु, र तिनीहरूलाई ठट्टा गरिनेछैन। 20तिनीहरूका छोराछोरीहरू अघिका जस्तै हुनेछन्, र मेरो सामुन्ने तिनीहरूको समूह स्थापित हुनेछ। तिनीहरूमाथि अत्याचार गर्नेहरूलाई म दण्ड दिनेछु। 21तिनीहरूको अगुवा तिनीहरूमध्येकै एक जना हुनेछ। तिनीहरूको शासक तिनीहरूकै बीचबाट निस्कनेछ। म त्यसलाई मेरो नजिक ल्याउनेछु, र त्यो मेरो नजिक आउनेछ। किनकि मेरो नजिक आउनलाई कसले आफै भक्ति गर्नेछ?’ परमप्रभु भन्नुहुन्छ। 22‘यसरी तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु’।”
23हेर, क्रोधमा परमप्रभुको आँधी उठ्नेछ, दुष्टहरूको टाउकोमा भुमरीको झोक्का बजारिनेछ। 24आफ्नो मनका उद्देश्यहरू सिद्ध नहोउञ्जेल, परमप्रभुको भयङ्कर रीस मर्नेछैन। आउने दिनहरूमा तिमीहरूले यो बुझ्नेछौ।
Currently Selected:
यर्मिया 30: NNRV
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012