YouVersion Logo
Search Icon

यशैया 8

8
परमप्रभुको हतियार, अश्‍शूर देश
1परमप्रभुले मलाई भन्‍नुभयो, “आफ्‍नो निम्‍ति एउटा ठूलो कागतको मुट्ठा ले, र त्‍यसमा साधारण कलमले ‘महेर-शालल-हाज-बज’#8:1 अर्थात्‌ “लुट्‍नलाई चाँडो, ठग्‍नलाई छिटो” भनेर लेख्‌। 2अनि म यसलाई पक्‍का गर्नलाई मेरा दुई विश्‍वासयोग्‍य गवाहहरू, अर्थात्‌ उरियाह पूजाहारी र येबेरक्‍याहको छोरो जकरियालाई बोलाउनेछु।”
3तब मेरी पत्‍नी अगमवादिनीकहाँ म गएँ, र तिनी गर्भवती भएर एक जना छोरो जन्‍माइन्‌। अनि परमप्रभुले मलाई भन्‍नुभयो, “त्‍यसको नाउँ महेर-शालल-हाज-बज राख्‌। 4बालकले ‘मेरा बुबा’ र ‘मेरी आमा’ भन्‍न जान्‍न अघि नै दमस्‍कसको धन र सामरियाको लूट अश्‍शूरका राजाले लैजानेछ।”
5परमप्रभुले मलाई फेरि यसो भन्‍नुभयो, 6“यस प्रजाले शान्‍तिसित बग्‍ने शीलोको पानीलाई तिरस्‍कार गरी रसीन र रमल्‍याहको छोरामा आनन्‍द मनाएको कारणले, 7अब हेर्, परमप्रभुले यूफ्रेटिसका पानीको भल, अर्थात्‌ अश्‍शूरको राजा र त्‍यसका रवाफसहित तिनीहरूका विरुद्धमा ल्‍याउन लाग्‍नुभएको छ। त्‍यसका सबै नहरमाथि त्‍यो उर्लेर आउनेछ र त्‍यसका सबै किनारमाथि बग्‍नेछ। 8त्‍यो बाढ़ीझैँ अगाड़ि बढ़ेर यहूदासम्‍मै बग्‍नेछ। त्‍यो त्‍यसको घिच्रैसम्‍म पुग्‍नेछ। त्‍यसको फिँजाइएका पखेटाले तेरो देशलाई ढाक्‍नेछ, हे इम्‍मानुएल!”
9हे जातिहरू हो, युद्धको नारा लगाओ र चकनाचूर होओ! सुन, हे टाढ़ा-टाढ़ा देश हो, लड़ाइँको लागि तयार होओ, र चकनाचूर होओ! लड़ाइँको लागि तयार होओ, र चकनाचूर होओ! 10युद्धको युक्ति रचना गर, तर त्‍यो विफल हुनेछ। तिमीहरूका उपाय प्रस्‍ताव गर, तर त्‍यो ठहर्नेछैन, किनकि परमेश्‍वर हामीसित हुनुहुन्‍छ।
परमप्रभुको भय मान
11यस प्रजाको मार्गमा नहिँड्‌नलाई परमप्रभुले मलाई चेताउनी दिँदै आफ्‍नो बलियो हात ममाथि राखेर मलाई यसो भन्‍नुभयो, 12“जुन कुरालाई यी मानिसहरू षड्‌यन्‍त्र भन्‍छन्, त्‍यसलाई तैंले षड्‌यन्‍त्र नभन्, र जे कुरादेखि तिनीहरू डराउँछन्‌ त्‍यसदेखि तँ नडरा, त्‍यसदेखि भयभीत नहो। #१ पत्र ३:१४-१५ 13सर्वशक्तिमान्‌ परमप्रभुलाई नै तैंले पवित्र ठान्‍नू, र उहाँकै भय तैंले मान्‍नू, उहाँसँग नै तँ डराउनू। 14र उहाँ नै तेरो वासस्‍थान हुनुहुनेछ, तर इस्राएलका दुवै घरानाका निम्‍ति उहाँ एउटा ढुङ्गा हुनुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्‌न लगाउँछ। अनि उहाँ यरूशलेमका मानिसहरूका निम्‍ति धराप र पासो हुनुहुनेछ। #१ पत्र २:८ 15धेरै जना ठेस खानेछन्, तिनीहरू लोट्‌नेछन्‌ र टुक्रा-टुक्रा हुनेछन्, तिनीहरू पासोमा पर्नेछन्‌ र पक्राउ पर्नेछन्‌।”
16यो गवाही-पत्र बाँधिदेऊ र यो व्‍यवस्‍था मेरा चेलाहरूका बीचमा बन्‍द गरेर त्‍यसमा मोहोर लगाइदेऊ। 17याकूबको घरानादेखि आफ्‍नो मुख लुकाउनुहुने परमप्रभुको म प्रतीक्षा गर्नेछु, र उहाँमा नै म मेरो भरोसा राख्‍नेछु। #हिब २:१३
18म र परमप्रभुले मलाई दिनुभएका छोराछोरीहरू यहीँ नै छौं। सियोन पर्वतमा विराजमान हुनुहुने सर्वशक्तिमान्‌ परमप्रभुतर्फबाट इस्राएलमा हामी चिन्‍ह र लक्षण हौं।
19जब मानिसहरूले तिमीहरूलाई भूतप्रेत खेलाउने र तन्‍त्रमन्‍त्र गर्ने धामीझाँक्रीसँग सल्‍लाह लेओ भनी भन्‍लान्, तब के मानिसहरूले आफ्‍ना परमेश्‍वरकहाँ गएर सोध्‍नुपर्दैन र? जीवितहरूका विषयमा मरेकाहरूलाई किन सोध्‍ने? 20व्‍यवस्‍था र गवाहीकहाँ जाओ! यदि तिनीहरू यस वचनअनुसार बोलेनन्‌ भने तिनीहरूसित बिहानको मिरमिरे उज्‍यालो पनि छैन। 21तिनीहरू कष्‍टित र भोका भएर देशमा घुमिहिँड्‌नेछन्‌। जब तिनीहरू अत्‍यन्‍तै भोका हुन्‍छन्, तब तिनीहरू रिसाउनेछन्, र मास्‍तिर हेरी आफ्‍ना राजा र आफ्‍ना परमेश्‍वरलाई सराप्‍नेछन्‌। 22तब तिनीहरूले पृथ्‍वीतिर हेर्नेछन्, तर त्‍यहाँ दु:ख, अन्‍धकार र डरलाग्‍दो नैराश्‍य मात्र देख्‍नेछन्‌। अनि तिनीहरू घोर अन्‍धकारमा जाकिनेछन्‌।

Currently Selected:

यशैया 8: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy