YouVersion Logo
Search Icon

यशैया 44

44
चुनिएको इस्राएल
1“तर अब हे मेरो दास याकूब, मैले चुनेको इस्राएल, ध्‍यान लाएर सुन्, 2तँलाई बनाउने, तँलाई गर्भमा रच्‍ने र तँलाई गोहार गर्ने परमप्रभु यसो भन्‍नुहुन्‍छ: हे मेरो दास याकूब, मैले चुनेको यशूरून, तँ नडरा। 3किनकि म सुकेको जमिनमा पानी र सुक्‍खा भूमिमा खोलाहरू खन्‍याइदिनेछु। म तेरो वंशमाथि मेरो आत्‍मा खन्‍याउनेछु, र तेरो सन्‍तानलाई आशिष्‌ दिनेछु। 4तिनीहरू चौरमा उम्रेका घाँसजस्‍ता, बग्‍ने खोलाको नजिक उम्रेका लहरे-पीपलजस्‍ता हुनेछन्‌। 5कसैले भन्‍नेछ, ‘म परमप्रभुको हुँ’। अर्काले आफ्‍नो नाउँ याकूब राख्‍नेछ, अझै अर्काले आफ्‍नो हातमा ‘परमप्रभुको’ भनी लेख्‍नेछ, र आफ्‍नो नाउँ इस्राएल राख्‍नेछ।
मूर्तिहरू होइनन्, तर परमप्रभु
6“इस्राएलका महाराजा र उद्धारक र सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: पहिलो र पछिल्‍लो म नै हुँ। मबाहेक अरू परमेश्‍वर छैन। #यशै ४८:१२; प्रका १:१७; २२:१३ 7मजस्‍तै को छ र? त्‍यसले त्‍यो घोषणा गरोस्‌। त्‍यसले बताओस्‌ र मेरो अगि राखोस्, मेरा प्राचीन प्रजालाई स्‍थापित गरेकोदेखि यसो के भएको छ? अझ जे हुन आउँछ त्‍यसले हामीलाई अघिबाटै बताओस्‌। 8तिमीहरू नडराओ, न त थरहरी होओ। के मैले तिमीहरूलाई धेरै अघि नै घोषणा गरेर यो देखाएको होइनँ र? तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू परमेश्‍वर छ र? अँहँ, कोही चट्टान छैन, म यस्‍तो कसैलाई चिन्‍दिनँ।”
9मूर्तिहरू बनाउने सबै व्‍यर्थ हुन्, र तिनीहरूले मूल्‍यवान्‌ सम्‍झेका वस्‍तुहरू मूल्‍यहीन छन्‌। तिनीहरूको पक्षमा बोल्‍नेहरू अन्‍धा छन्, तथा तिनीहरू अबोध भएर आफू शर्ममा परेका छन्‌। 10कसले देवता बनाउँछ, अथवा खोपेको मूर्तिलाई ढालेर बनाउँछ, जसबाट त्‍यसलाई केही लाभ हुँदैन। 11त्‍यो र त्‍योजस्‍ता सबै लाजमा पर्नेछन्‌। कारीगरहरू केवल मानिसहरू मात्र हुन्‌। तिनीहरू एकसाथ भेला भएर खड़ा होऊन्‌। तिनीहरू तर्सिनेछन्‌ र लज्‍जित हुनेछन्‌।
12लोहारले एउटा औजार लिन्‍छ र भुङ्‌ग्रामा काम गर्छ, त्‍यसले घनले हिर्काएर मूर्तिको आकार निकाल्‍दछ। त्‍यसले आफ्‍नो बलियो पाखुराले त्‍यो काम गर्दछ। त्‍यो भोकाउँछ, र त्‍यसको बल घट्‌छ। त्‍यसले पानी पिउँदैन र त्‍यसलाई भाउन्‍न छुट्‌छ। 13सिकर्मीले सूत तानेर सीसाकलमले चिन्‍ह लाउँछ। त्‍यसले रामोले चिल्‍लो पारेर त्‍यसको आकार निकाल्‍छ, र परकालले त्‍यसमा चिन्‍ह लगाएर पूजा कोठामा राख्‍नलाई मानिसको सबै सुन्‍दरताको रूपमा त्‍यसको आकार निकाल्‍छ। 14त्‍यसले देवदारु काठ अथवा धूपी वा फलाँटको रूख चुन्‍यो, र वनका अरू रूखहरूसँग त्‍यसलाई बढ्‌न दियो। अथवा त्‍यसले सल्‍लाको रूख लगायो र वर्षाको पानीले त्‍यसलाई बढ़ायो। 15तब त्‍यो मानिसलाई जलाउनका निम्‍ति दाउरा हुन्‍छ, र त्‍यसले त्‍यसबाट केही लिएर आफै त्‍यसको आगो ताप्‍छ। त्‍यसले त्‍यो जलाएर रोटी पकाउँछ। तर त्‍यसले एउटा देवता पनि बनाएर त्‍यसलाई पुज्‍छ। त्‍यसले त्‍यसबाट मूर्ति बनाउँछ, र त्‍यसको अगाड़ि घोप्‍टो पर्छ। 16त्‍यस काठको आधा भाग त्‍यसले आगोमा जलाउँछ, त्‍यसमाथि त्‍यसले आफ्‍नो खानेकुरा पकाउँछ, त्‍यसैबाट त्‍यसले मासु भुट्‌छ र खान्‍छ। त्‍यसले आगो पनि तापेर भन्‍छ, “अहा! म तातिएँ, मैले आगो देख्‍न पाएँ।” 17त्‍यसको बाँकी भागबाट त्‍यसले एउटा ईश्‍वर बनाउँछ, त्‍यसको मूर्ति। त्‍यसको सामुन्‍ने त्‍यो घोप्‍टो परेर त्‍यसलाई पुज्‍छ, र त्‍यसलाई प्रार्थना गर्छ र भन्‍छ, “मलाई बचाउनुहोस्, किनकि तपाईं मेरा ईश्‍वर हुनुहुन्‍छ।”
18तिनीहरू केही जान्‍दैनन्, तिनीहरूले केही बुझ्‍दैनन्‌। तिनीहरूका आँखामा लेप लाइएको छ, यसैले तिनीहरूले देख्‍न सक्‍दैनन्, तिनीहरूका मन बन्‍द गरिएका छन्, र तिनीहरूले बुझ्‍न सक्‍दैनन्‌। 19कसैले बसेर विचार गर्दैनन्, यसो भन्‍नलाई कसैसित ज्ञान अथवा समझ छैन, “मैले त्‍यसको आधा भाग दाउराको रूपमा प्रयोग गरें। त्‍यसैको आगोमा मैले रोटी पनि पोलें। मैले मासु भुटेर खाएँ। के त्‍यसको बचेको भागबाट मैले घिनलाग्‍दा थोक बनाउने? के मैले नै रूखको ठुटाको सामुन्‍ने घोप्‍टो पर्ने?” 20त्‍यसले खरानी बुकाउँछ, धोकेबाज हृदयले त्‍यसलाई भ्रममा पार्छ। त्‍यसले आफ्‍नो प्राणलाई बचाउन सक्‍दैन, न त भन्‍न सक्‍छ, “के मेरो दाहिने हातमा भएको चीज झूटा होइन र?”
21“हे याकूब, यी कुरालाई याद राख्, किनकि हे इस्राएल, तँ मेरो दास होस्‌। मैले तँलाई बनाएको हुँ। तँ मेरो दास होस्‌। हे इस्राएल, तँलाई म बिर्सनेछैनँ। 22मैले तेरा अपराधहरू बादलझैँ र तेरा पापहरू बिहानको कुइरोझैँ हटाइदिएँ। फर्केर आइज, किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु।”
23हे आकाश, आनन्‍दले गा, किनकि परमप्रभुले त्‍यसो गर्नुभएको छ। हे भूगर्भ, चर्को सोरले करा। हे पर्वतहरू, वन र त्‍यहाँका सबै रूख हो, उच्‍च सोरले गाओ, किनकि परमप्रभुले मोल तिरेर याकूबलाई छुटाउनुभएको छ, उहाँ आफैले इस्राएलमा आफ्‍नो महिमा देखाउनुहुन्‍छ।
यरूशलेममा आबादी
24“परमप्रभु यसो भन्‍नुहुन्‍छ— तेरा उद्धारक, जसले तँलाई गर्भमा रच्‍नुभयो: म परमप्रभु हुँ, जसले सारा थोकलाई बनाउनुभयो, जसले एकलै आकाशलाई फैलाउनुभयो, जसले आफै पृथ्‍वीलाई फिँजाउनुभयो, 25जसले झूटा अगमवक्ताहरूका चिन्‍ह निष्‍फल तुल्‍याउँनुहुन्छ, र जोखना हेर्नेहरूलाई मूर्ख तुल्‍याउँनुहुन्छ, जसले ज्ञानी मानिसहरूको ज्ञान भ्रष्‍ट पार्नुहुन्छ, र त्‍यसलाई मूर्खतामा परिणत गर्नुहुन्छ, #१ कोर १:२० 26जसले आफ्‍ना दासहरूका वचनलाई पक्‍का गराउँनुहुन्छ, र आफ्‍ना समाचारवाहकहरूका भविष्‍यवाणी पूरा गर्नुहुन्छ, जसले यरूशलेमको बारेमा भन्‍नुहुन्छ, ‘त्‍यसमा मानिसहरूको आबादी हुनेछ,’ जसले यहूदाका सहरहरूका बारेमा भन्‍नुहुन्छ, ‘ती बनाइनेछन्,’ जसले त्‍यसका भत्‍काइएका ठाउँहरूका बारेमा भन्‍नुहुन्छ, ‘म पुनर्स्‍थापित गर्नेछु,’ 27जसले गहिरा पानीलाई भन्‍नुहुन्छ, ‘सुकिजा, म तेरा खोलाहरूलाई सुकाउनेछु,’ 28जसले कोरेसका बारेमा भन्‍नुहुन्छ, ‘त्‍यो मेरो गोठाला हो, र मेरो सबै इच्‍छा त्‍यसले पूरा गर्नेछ। यरूशलेमको बारेमा त्‍यसले यसो भन्‍नेछ, “त्‍यो फेरि बनाइओस्,” र मन्‍दिरको बारेमा चाहिँ, “यसको जग बसालिओस्‌’।” #२ इति ३६:२३; एज्रा १:२

Currently Selected:

यशैया 44: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy