YouVersion Logo
Search Icon

उत्‍पत्ति 21

21
इसहाकको जन्म
1आफूले भन्‍नुभएअनुसार सारालाई परमप्रभुले कृपा देखाउनुभयो, र आफ्‍नो प्रतिज्ञाबमोजिम गर्नुभयो। 2सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्‍थामा, परमेश्‍वरले अब्राहामलाई भन्‍नुभएको समयमा तिनले एक जना छोरा जन्‍माइन्‌। #हिब ११:११ 3साराले तिनीबाट जन्‍माएको आफ्‍नो छोराको नाउँ अब्राहामले इसहाक राखे। 4अब्राहामको आफ्‍नै छोरा इसहाक आठ दिनको हुँदा तिनले परमेश्‍वरको आज्ञाअनुसार त्‍यसको खतना गरे। #उत १७:१२; प्रे ७:८ 5तिनको छोरा इसहाक जन्‍मँदा अब्राहाम एक सय वर्ष पुगेका थिए।
6साराले भनिन्, “परमेश्‍वरले मलाई एउटा हाँस्‍ने कारण दिनुभयो। यो सुन्‍ने जति सबै मसँगै हाँस्‍नेछन्‌।” 7तिनले फेरि भनिन्, “साराले बालकलाई दूध खुवाउँछे भनेर कसले अब्राहामलाई भन्‍नेथियो? तापनि तिनको बुढ़ेसकालमा मैले तिनीबाट एक जना छोरा जन्‍माएँ।”
हागार र इश्‍माएल निकालिएका
8बालक बढ्‌दैगयो, र त्‍यसले दूध खान छोड़्यो। र इसहाकले दूध खान छोड़ेको दिन अब्राहामले एउटा ठूलो भोज दिए। 9तर मिश्री हागारले अब्राहामबाट जन्‍माएको छोरालाई ठट्टा गरिरहेको साराले देखिन्‌। 10यसैकारण तिनले अब्राहामलाई भनिन्, “यस कमारीलाई त्‍यसको छोरासँगै निकालिदिनुहोस्, किनकि यस कमारीको छोरो मेरा छोरा इसहाकसँग उत्तराधिकारी हुन पाउनेछैन।” #गला ४:२९-३०
11आफ्‍नै छोरो भएकोले यो कुरा अब्राहामलाई साह्रै नराम्रो लाग्‍यो। 12तर परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “त्‍यो बालक र तेरी कमारीको निम्‍ति तैंले चिन्‍ता नगरी साराले तँलाई जसो भन्‍छे सोहीबमोजिम गर्, किनकि इसहाकबाट नै तेरो वंशको नाउँ रहनेछ। #रोम ९:७; हिब ११:१८ 13म त्‍यस कमारीको छोराबाट पनि एक जाति खड़ा गर्नेछु, किनभने त्‍यो पनि तेरै सन्‍तान हो।”
14अब्राहामले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए, र बालकलाई पनि त्‍यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार बेर्शेबाको उजाड़-स्‍थान हुँदो डुल्‍न लागी।
15जब मशकको पानी सिद्धियो तब तिनले बालकलाई एउटा पोथ्रोमुनि छोड़ेर 16आफैचाहिँ उतापट्टि एक काँड़ले पार गर्ने दूरीमा बसी, किनकि “मैले यो बालक मरेको हेर्नु नपरोस्‌” भनी त्‍यसले मनमा सोची। अनि हागार त्‍यहाँ बसेर डाँको छोड़ी-छोड़ी रुन लागी।
17परमेश्‍वरले बालकको सोर सुन्‍नुभयो। अनि परमेश्‍वरका दूतले स्‍वर्गबाट हागारलाई हपारेर भने, “ए हागार, तँलाई के दु:ख पर्‍यो? नडरा, किनभने बालक भएको ठाउँबाट त्‍यसको सोर परमेश्‍वरले सुन्‍नुभएको छ। 18उठ्, गएर बालकलाई उठा, र त्‍यसको हात बलियो गरी पक्री नै राख्, किनभने म त्‍यसबाट एउटा ठूलो जाति खड़ा गर्नेछु।”
19तब परमेश्‍वरले तिनका आँखा खोलिदिनुभयो, र तिनले एउटा पानीको कूवा देखी, र गएर मशकमा पानी भरेर बालकलाई पिउन दिई।
20परमेश्‍वर त्‍यस बालकको साथ रहनुभयो। त्‍यो बढ्‌दैगयो, र उजाड़-स्‍थानमा बसेर एक धनुर्धारी बन्‍यो। 21त्‍यो पारानको मरुभूमिमा बस्‍थ्‍यो, र त्‍यसकी आमाले त्‍यसको लागि मिश्रबाट एउटी पत्‍नी ल्‍याइदिई।
अब्राहाम र अबीमेलेकको बीचमा भएको करार
22त्‍यस बेला अबीमेलेक र उनका सेनापति पीकोलले अब्राहामलाई भने, “तपाईंले गर्नुभएका सबै काममा परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ। #उत २६:२६ 23यसकारण यहाँ मसित परमेश्‍वरको सामु शपथ खानुहोस्, कि तपाईं मसँग वा मेरा छोराछोरीसँग अथवा मेरा नाति-पनातिसँग छलकपटको व्‍यवहार गर्नुहुनेछैन। तर मैले तपाईंसँग गरेको कृपाअनुसार नै मसँग र तपाईं परदेशी भएर बस्‍नुभएको देशसँग व्‍यवहार गर्नुहोला।”
24अब्राहामले भने, “हुन्‍छ, म शपथ खान्छु।”
25तब अब्राहामले अबीमेलेकका दासहरूले जबरदस्‍तसित खोसेर लिएको इनारको विषयमा अबीमेलेकलाई सुनाए। 26तर अबीमेलेकले भने, “यस्‍तो काम कसले गर्‍यो सो मलाई थाहा छैन। तपाईंले मलाई भन्‍नुभएन। आज मात्र मैले यो कुरा सुनें।”
27त्‍यसकारण अब्राहामले भेड़ा र गाई-गोरुहरू ल्‍याएर अबीमेलेकलाई दिए, र ती दुवै जनाले करार बाँधे। 28अब्राहामले बगालबाट भेड़ाका सात वटा पाठी छुट्ट्याएर राखे। 29अबीमेलेकले अब्राहामलाई सोधे, “तपाईंले यी सात पाठी छुट्ट्याएर राखेको अर्थ के हो?”
30अब्राहामले भने, “यो इनार मैले खनेको हो भन्‍ने गवाहीको निम्‍ति यी सात वटा पाठी मेरो हातबाट तपाईं लिनुहोस्‌।”
31यसैकारण त्‍यस ठाउँको नाउँ बेर्शेबा राखियो, किनकि त्‍यहाँ ती दुवैले आपसमा शपथ खाएका थिए।
32यसरी तिनीहरूले बेर्शेबामा आपसमा करार बाँधे। तब अबीमेलेक र उनका सेनापति पीकोल पलिश्‍तीहरूको देशमा फर्के। 33अब्राहामले बेर्शेबामा एउटा झ्‍याउको बोट रोपे, र त्‍यहाँ अनन्‍तका परमेश्‍वरको नाउँको पुकारा गरे। 34त्‍यसपछि अब्राहाम पलिश्‍तीहरूको देशमा धेरै दिनसम्‍म बसोबास गरे।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy