YouVersion Logo
Search Icon

उत्‍पत्ति 16

16
इश्माएलको जन्म
1आफ्‍नी पत्‍नी साराईबाट अब्रामको कोही सन्‍तान भएको थिएन। तर हागार नाउँ भएकी तिनकी एउटी मिश्री कमारी थिई। 2साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मेरो कोख बन्‍द गरिदिनुभएको छ। यसकारण मेरी कमारीकहाँ जानुहोस्‌। शायद त्‍यसबाट मेरो निम्‍ति सन्‍तान हुन सक्‍छ।”
अब्रामले साराईको कुरा माने। 3अब्राम कनानमा बसेका दश वर्षपछि तिनकी पत्‍नी साराईले आफ्‍नी कमारी मिश्री हागारलाई आफ्‍ना पति अब्रामलाई तिनकी पत्‍नी हुनलाई दिइन्‌। 4अनि तिनी हागारकहाँ गए, र त्‍यो गर्भवती भई।
जब त्‍यसले “म गर्भवती भएछु” भनी थाहा पाई, तब त्‍यसले आफ्‍नी मालिक्‍नीलाई तुच्‍छ दृष्‍टिले हेर्न लागी। 5साराईले अब्रामलाई भनिन्, “ममाथिको अन्‍याय तपाईंकै शिरमाथि परोस्‌। मैले आफ्‍नी कमारी तपाईंकै काखमा दिएँ, र त्‍यो गर्भवती हुने बित्तिकै मलाई तुच्‍छ दृष्‍टिले हेर्न लागी। परमप्रभुले तपाईं र मेरो बीचमा इन्‍साफ गरिदेऊन्।”
6तर अब्रामले साराईलाई भने, “हेर, तिम्री कमारी तिम्रै हातमा छे। त्‍यसलाई जे गर्न मन लाग्‍छ त्‍यही गर।” तब साराईले त्‍यससित कठोर व्‍यवहार गर्न लागिन्, र त्‍यो तिनको सामुन्‍नेबाट भागेर गई।
7परमप्रभुका दूतले त्‍यसलाई उजाड़-स्‍थानमा शूरतिर जाने बाटोकै पानीको मूलनेर भेट्टाए। 8र तिनले सोधे, “ए साराईकी दासी हागार, कहाँबाट आइस्‌ र कता जाँदैछेस्‌?”
त्‍यसले भनी, “मेरी मालिक्‍नी साराईको सामुन्‍नेबाट भाग्‍दैछु।”
9परमप्रभुका दूतले त्‍यसलाई भने, “तेरी मालिक्‍नीकहाँ फर्केर जा, र तिनकै अधीनमा बस्‌।” 10परमप्रभुका दूतले फेरि त्‍यसलाई भने, “म तेरो वंशलाई यति औधी बढ़ाउनेछु कि त्‍यो धेरै भएकोले गन्‍न सकिनेछैन।”
11परमप्रभुका दूतले त्‍यसलाई भने,
“तँ गर्भवती छेस्,
र तैंले एउटा छोरो जन्‍माउनेछेस्‌।
तैंले त्‍यसको नाउँ इश्‍माएल#16:11 “इश्‍माएल” को अर्थ “परमेश्‍वर सुन्‍नुहुन्छ।”
राख्‍नू, किनभने परमप्रभुले तेरो दु:ख हेर्नुभएको छ।
12मानिसहरूमा त्‍यो जङ्गली गधाजस्‍तै हुनेछ।
त्‍यसको हात सबैका विरुद्धमा उठ्‌नेछ,
र सबैका हात त्‍यसको विरुद्धमा उठ्‌नेछन्‌।
आफ्‍ना सबै नातेदारहरूकै शत्रुतामा त्‍यो बसोबास गर्नेछ।”
13हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्‍तो नाउँ दिई, “मलाई देख्‍नुहुने परमेश्‍वर तपाईं हुनुहुन्‍छ।” किनभने त्‍यसले भनी, “मैले साँच्‍ची नै परमेश्‍वरलाई देखेकी छु, र उहाँलाई देखेर पनि म जीवितै छु।” 14यसकारण त्‍यस पँधेरोको नाउँ बेअर-लहै-रोइ राखियो। कादेश र बेरेदको बीचमा त्‍यो पर्छ।
15अनि हागारले अब्रामको एक जना छोरो जन्‍माई। हागारले जन्‍माएको आफ्‍नो छोराको नाउँ अब्रामले इश्‍माएल राखे। #गला ४:२२ 16हागारले अब्रामको निम्‍ति इश्‍माएल जन्‍माउँदा अब्राम छयासी वर्ष पुगेका थिए।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy