YouVersion Logo
Search Icon

प्रस्‍थान 20

20
दश आज्ञा
1अनि यी सब कुरा परमेश्‍वरले भन्‍नुभयो: #व्‍य ५:१-२१
2“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ।
3“मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।
4“आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू। #प्रस ३४:१७; लेवी १९:४; २६:१; व्‍य ४:१५-१८; २७:१५ 5तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु, #प्रस ३४:६-७; गन्ती १४:१८; व्‍य ७:९-१० 6तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।
7“परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन। #लेवी १९:१२
8“शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू। #प्रस १६:२३-३०; ३१:१२-१४ 9छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू, #प्रस २३:१२; ३१:१५; ३४:२१; ३५:२; लेवी २३:३ 10तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ-दिन हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्‍तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्‌। 11किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्‍यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष्‌ दिनुभयो, र त्‍यसलाई पवित्र गर्नुभयो। #उत २:१-३; प्रस ३१:१७
12“आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌। #व्‍य २७:१६; मत्ती १५:४; १९:१९; मर्क ७:१०; १०:१९; लूक १८:२०; एफि ६:२-३
13“हत्‍या नगर्नू। #उत ९:६; लेवी २४:१७; मत्ती ५:२१; १९:१८; मर्क १०:१९; लूक १८:२०; रोम १३:९; याक २:११
14“व्‍यभिचार नगर्नू। #लेवी २०:१०; मत्ती ५:२७; १९:१८; मर्क १०:१९; लूक १८:२०; रोम १३:९; याक २:११
15“चोरी नगर्नू। #लेवी १९:११; मत्ती १९:१८; मर्क १०:१९; लूक १८:२०; रोम १३:९
16“आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू। #प्रस २३:१; मत्ती १९:१८; मर्क १०:१९; लूक १८:२०
17“आफ्‍नो छिमेकीका घरको लालच नगर्नू। आफ्‍नो छिमेकीकी पत्‍नीको लालच नगर्नू, आफ्‍नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्‍यसको कुनै पनि थोकको लालच नगर्नू।” #रोम ७:७; १३:९
18जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढ़ै उभिरहे। #व्‍य ५:२२-३३ #हिब १२:१८-१९ 19तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस्‌ र हामी सुन्‍नेछौं, तर परमेश्‍वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं।”
20मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्‍वर तिमीहरूलाई जाँच्‍नलाई, र उहाँको भय तिमीहरूका सामु रहोस्, र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।”
21मानिसहरू टाढ़ै उभिरहे। परमेश्‍वर हुनुभएको त्‍यो बाक्‍लो बादलमा उहाँको नजिक मोशा गए।
विभिन्‍न व्‍यवस्‍था र विधिविधान
22तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले इस्राएलीहरूलाई यसो भन्‍नू: स्‍वर्गबाट म तिमीहरूसित बातचीत गरेको तिमीहरू आफैले सुनेका छौ। 23मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू। तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्‍ना निम्‍ति नबनाउनू।
24“मेरो निम्‍ति माटोको वेदी बनाएर त्‍यसैमा तिमीहरूका होमबलि, मेलबलि, भेड़ाबाख्राहरू र गाईबस्‍तुहरू चढ़ाउनू। जहाँ-जहाँ म मेरो नाउँको आदर गराउनेछु, त्‍यहाँ-त्‍यहाँ आएर म तिमीहरूलाई आशिष्‌ दिनेछु। 25तिमीहरूले मेरो निम्‍ति ढुङ्गाको वेदी बनाउँदा कुँदेको ढुङ्गाको वेदी नबनाउनू। किनकि त्‍यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्‍यसलाई अशुद्ध पार्नेछौ। #व्‍य २७:५-७; यहो ८:३१ 26र मेरै वेदीमा खुट्‌किलो बनाएर नउक्‍लनू। किनभने त्‍यसो गर्दा त्‍यसमाथि तिमीहरूको नग्‍नता उघ्रनेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in