YouVersion Logo
Search Icon

प्रेरित 10

10
पत्रुस र कर्नेलियस
1कैसरियामा कर्नेलियस नाउँका एक जना मानिस थिए, जो इटालिया भन्‍ने पल्‍टनका एक कप्‍तान थिए। 2तिनी ईश्‍वरभक्त थिए, र तिनी र तिनको सारा परिवारले परमेश्‍वरको भय मान्‍थे। तिनले मानिसहरूलाई उदारतासाथ दान दिई परमेश्‍वरलाई सधैँ प्रार्थना गर्थे। 3तिनले दिउँसो तीन बजेतिर दर्शनमा स्‍पष्‍ट रूपले परमेश्‍वरका एउटा स्‍वर्गदूत आफूतर्फ आएर यसो भनिरहेका सुने, “कर्नेलियस!”
4भयभीत भएर तिनले उनलाई नियालेर हेरे र भने, “प्रभु, भन्‍नुहोस्‌।”
अनि उनले तिनलाई भने, “तिम्रा प्रार्थना र गरीबहरूलाई दिएका दान सम्‍झनाको रूपमा परमेश्‍वरको सामने पुगेका छन्‌। 5अब मानिसहरूलाई योप्‍पामा पठाऊ, र पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। 6तिनी चर्मकार सिमोनकहाँ बसेका छन्, जसको घर समुद्रको किनारमा छ।”
7जब तिनीसँग बोल्‍ने स्‍वर्गदूत बिदा भए, तब तिनले आफ्‍ना नोकरहरूमध्‍ये दुई जना र निरन्‍तर तिनको सेवा-टहल गर्ने एक जना भक्त सिपाहीलाई बोलाए, 8र तिनीहरूलाई सबै कुरा बताएर योप्‍पामा पठाए।
पत्रुसको दर्शन
9भोलिपल्‍ट तिनीहरू आफ्‍नो यात्रामा त्‍यस सहरको नजिक आइपुग्‍दा, दिउँसो बाह्र बजेतिर पत्रुसचाहिँ प्रार्थना गर्न घरको कौसीमा उक्‍ले। 10तिनी भोकाए, र तिनले केही खाने मन गरे, तर अरूहरूले भोजन तयार गरिरहेको बेला तिनी ध्‍यान-मग्‍न भए। 11तिनले स्‍वर्ग उघ्रेको र त्‍यहाँबाट चारै कुनामा बाँधिएको तन्‍नाजस्‍तो केही पृथ्‍वीतिर झरिरहेको देखे। 12त्‍यस तन्‍नामा पृथ्‍वीका सबै किसिमका चारखुट्टे जनावर र घस्रने प्राणी र आकाशका चराचुरुङ्गीहरू थिए। 13तब तिनले एउटा आवाज सुने, “ए पत्रुस उठ, र मारेर खाऊ।”
14तर पत्रुसले भने, “होइन प्रभु, किनभने मैले कहिल्‍यै केही अपवित्र वा अशुद्ध थोक खाएको छैनँ।”
15त्‍यो आवाज फेरि दोस्रो पल्‍ट तिनले सुने, “परमेश्‍वरले जे शुद्ध गर्नुभएको छ त्‍यसलाई तिमी अपवित्र नठान।”
16तीन पल्‍टसम्‍म यस्‍तो भयो, र तुरुन्‍तै त्‍यो तन्‍ना स्‍वर्गतिर लगियो।
17जब पत्रुस आफूले देखेको यो दर्शनको अर्थ के होला भनेर मनमनै अन्‍योलमा परेका थिए, त्‍यति नै बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्‍दै ढोका अगाडि खड़ा भए, 18“पत्रुस भनिने सिमोन यहाँ बसेका छन्‌ कि?” भनी उच्‍च सोरमा सोधे।
19जब पत्रुस दर्शनको विषयमा विचार गरिरहेका थिए तब पवित्र आत्‍माले तिनलाई भन्‍नुभयो, “हेर, तीन जना मानिसले तिमीलाई खोज्‍दैछन्‌। 20उठ, र तल जाऊ, र नहिचकिचाईकन तिनीहरूका साथ लाग, किनभने तिनीहरूलाई मैले पठाएको हुँ।”
21तब पत्रुस ओर्ले, र ती मानिसहरूकहाँ गएर भने, “हेर, तिमीहरूले खोजेको मानिस मै हुँ। तिमीहरू यहाँ आएको कारण के हो?”
22तिनीहरूले भने, “एक जना कप्‍तान कर्नेलियस, जो सोझा र परमेश्‍वरसँग डराउने र सारा यहूदी जातिबाट सम्‍मान पाएका व्‍यक्ति हुनुहुन्‍छ, तपाईंलाई उहाँको घरमा बोलाइपठाउने र तपाईंबाट सन्‍देश सुन्‍नू भनी एउटा पवित्र स्‍वर्गदूतबाट उहाँलाई आदेश मिलेको छ। 23तब तिनले तिनीहरूलाई भित्र बोलाएर तिनीहरूको सत्‍कार गरे।
कर्नेलियसको घरमा पत्रुस
भोलिपल्‍ट पत्रुस उठेर तिनीहरूसँग गए, र योप्‍पाका कतिपय भाइहरू तिनको साथ लागे। 24पर्सिपल्‍ट तिनीहरू कैसरिया पुगे। आफ्‍ना कुटुम्‍बहरू र घनिष्‍ठ मित्रहरूलाई बोलाएर जम्‍मा गरी कर्नेलियस तिनीहरूको बाटो हेरिरहेका थिए। 25जब पत्रुस भित्र आए तब कर्नेलियसले तिनीसँग भेट गरी तिनका पाउ परी दण्‍डवत्‌ गरे। 26तर पत्रुसले उनलाई यसो भन्‍दै उठाए, “उठ्‌नुहोस्, म आफै पनि त मानिस नै हुँ।”
27तब तिनी उनीसँग कुरा गर्दै घरभित्र गए, र त्‍यहाँ तिनले धेरै जना जम्‍मा भएका भेट्टाए। 28तब पत्रुसले तिनीहरूलाई भने, “अरू जातिसँग सङ्गत गर्नु, अथवा तिनीहरूलाई भेटघाट गर्नु एक यहूदीको लागि कति अनुचित हो भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ, तापनि परमेश्‍वरले मलाई कुनै मानिसलाई अपवित्र अथवा अशुद्ध नठान्‍नू भनी देखाउनुभएको छ। 29यसैकारण डाक्‍ने बित्तिकै केही आपत्ति नजनाई म तपाईंहरूकहाँ आएँ। तपाईंहरूले मलाई किन डाक्‍नुभयो? अब भन्‍नुहोस्‌।”
30तब कर्नेलियसले भने, “चार दिनअघि प्राय: यही समय घरमा म तीन बजेको प्रार्थना गरिरहेको थिएँ, तब चहकिलो पोशाक पहिरेका एक जना मानिस मेरो सामुन्‍ने खड़ा भए, 31र भने, ‘कर्नेलियस, परमेश्‍वरको सामुन्‍ने तिम्रो प्रार्थनाको सुनाइ भएको छ, र तिमीले गरीबहरूलाई दिएका दानको सम्‍झना भएको छ। 32यसकारण योप्‍पामा मान्‍छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। तिनी समुद्रको किनारमा चर्मकार सिमोनको घरमा बसेका छन्‌।’ 33तब मैले तुरुन्‍तै तपाईंकहाँ मानिस पठाएँ, र तपाईं कृपापूर्वक आउनुभयो। अब प्रभुबाट तपाईंलाई आज्ञा भएका सबै कुराहरू सुन्‍न हामी सबै परमेश्‍वरको सामुन्‍ने यहाँ उपस्‍थित छौं।”
34तब पत्रुसले बोल्‍न थाले, “साँच्‍ची नै म देख्‍तछु, कि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न,#व्‍य १०:१७ 35तर हरेक जातिमा जो उहासँग डराउँछ, र उचित काम गर्छ, त्‍यो उहाँको सामुन्‍ने ग्रहणयोग्‍य हुन्‍छ। 36परमेश्‍वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्‍देश, अर्थात्‌ ख्रीष्‍टद्वारा प्रचार गरिएको शान्‍तिको सुसमाचार तपाईंहरूलाई थाहा छ। (उहाँ नै सबैका प्रभु हुनुहुन्‍छ।) 37यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्‍मापछि, गालीलदेखि सुरु गरेर सारा यहूदियाभरि प्रचार गरिएको वचन यही हो, 38कि परमेश्‍वरले नासरतका येशूलाई पवित्र आत्‍मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्‌नुभयो, किनकि परमेश्‍वर उहाँको साथमा हुनुहुन्‍थ्‍यो।
39“अनि उहाँले यहूदीहरूको देशमा र यरूशलेममा गर्नुभएका सबै कुराका हामी साक्षी हौं। उहाँलाई तिनीहरूले काठमा झुण्‍ड्याएर पनि मारे। 40उहाँलाई नै परमेश्‍वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो, र उहाँलाई प्रकट गराउनुभयो, 41सबै मानिसलाई होइन, तर हामी जसलाई परमेश्‍वरले साक्षीको रूपमा छान्‍नुभयो, र उहाँ मृतकबाट जीवित हुनुभएपछि हामीले उहाँसँग खानपान गर्‍यौं। 42उहाँले हामीलाई जनतामा प्रचार गर्न, र उहाँ जीवित र मृतकहरूका न्‍यायकर्ता हुनलाई परमेश्‍वरद्वारा नियुक्त हुनुभएको व्‍यक्ति हुनुहुन्‍छ भन्‍ने गवाही दिनलाई आज्ञा गर्नुभएको छ। 43सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन्, कि उहाँमाथि विश्‍वास गर्ने प्रत्‍येकले उहाँको नाउँद्वारा पाप-क्षमा पाउँछ।”
44पत्रुसले यी कुरा बोल्‍दाबोल्‍दै वचन सुन्‍ने सबैमाथि पवित्र आत्‍मा ओर्लनुभयो। 45अन्‍यजातिहरूमाथि पनि पवित्र आत्‍माको वरदान खन्‍याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्‍वासीहरू आश्‍चर्यचकित भए। 46किनकि अन्‍य भाषामा बोलेर तिनीहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने, 47“हामीझैँ पवित्र आत्‍मा पाउने यिनीहरूलाई पानीको बप्‍तिस्‍मा हुनदेखि कसले मनाही गर्न सक्‍छ?” 48अनि तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्‍मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्‍यहीँ रहनुहोस्‌ भनी अनुरोध गरे।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in