YouVersion Logo
Search Icon

१ कोरिन्थी 2

2
1भाइ हो, म तिमीहरूकहाँ आउँदा, ठूला-ठूला कुराहरू र बुद्धिमा परमेश्‍वरका गवाहीको घोषणा गर्दै आइनँ। 2किनकि तिमीहरूसँग हुँदा येशू ख्रीष्‍ट र उहाँलाई क्रूसमा टाँगेका कुराबाहेक अरू केही नजान्‍ने नै मैले निश्‍चय गरेको थिएँ। 3म तिमीहरूकहाँ दुर्बलतामा र ज्‍यादै डर र कम्‍पसाथ आएँ।#प्रे १८:९ 4मेरो उपदेश र सन्‍देश घतलाग्‍दो र बुद्धिपूर्ण शब्‍दमा थिएन, तर पवित्र आत्‍माको र शक्तिको प्रदर्शनमा थियो, 5ताकि तिमीहरूको विश्‍वास मानिसको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्तिमा आधारित होस्‌।
पवित्र आत्‍माको ज्ञान
6तापनि परिपक्‍व भएकाहरूका बीचमा हामी बुद्धिको प्रचार गर्दछौं, तर यस युगको बुद्धि होइन, न त यस युगका शासकहरूको बुद्धि, जो निश्‍चय बितिजानेछ। 7तर हामी परमेश्‍वरको गुप्‍त र लुकेको बुद्धिको प्रचार गर्दछौं, जो युगयुगअघि हाम्रो महिमाको निम्‍ति परमेश्‍वरले नियुक्त गरिदिनुभयो। 8यस युगका कुनै पनि शासकहरूले त्‍यो कुरा बुझेनन्‌। तिनीहरूले बुझेका भएदेखि महिमाका प्रभुलाई क्रूसमा टाँग्‍ने नै थिएनन्‌। 9तर यसो लेखिएको छ,#यशै ६४:४
“आँखाले नदेखेका र कानले नसुनेका
र मानिसले मनमा नसोचेका,
यी नै कुरा परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्‍ति तयार पार्नुभएको छ।”
10परमेश्‍वरले हाम्रा निम्‍ति पवित्र आत्‍माद्वारा त्‍यो प्रकट गर्नुभएको छ। किनकि पवित्र आत्‍माले प्रत्‍येक कुरा खोज्‍नुहुन्‍छ, परमेश्‍वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्‍छ। 11मानिसभित्र रहेको आफ्‍नै आत्‍माबाहेक कसले मानिसका विचारलाई बुझ्‍न सक्‍छ? त्‍यसरी नै परमेश्‍वरका विचार परमेश्‍वरका आत्‍माबाहेक कसैले बुझ्‍दैन। 12अब हामीले संसारको आत्‍मा पाएका छैनौं, तर परमेश्‍वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्‍न सकौं भनेर उहाँबाट पवित्र आत्‍मा पाएका छौं। 13जुन कुरा हामी प्रचार गर्छौं, ती कुरा मानिसहरूको बुद्धिले सिकाएका शब्‍दहरूमा होइन, तर पवित्र आत्‍माले सिकाउनुभएअनुसार हामी आत्‍मिक शब्‍दहरूमा आत्‍मिक सत्‍यताहरूको अर्थ खोल्‍दछौं।
14जो मानिस आत्‍मिक छैन, त्‍यसले परमेश्‍वरका आत्‍माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्‍यसको निम्‍ति मूर्खता हुन्‍छन्, र त्‍यसले ती बुझ्‍न सक्‍दैन, किनकि ती कुराहरू आत्‍मिक रीतिले मात्र चिन्‍न सकिन्‍छ। 15आत्‍मिक मानिसले सबै कुराको जाँच गर्दछ, तर ऊचाहिँ कुनै मानिसद्वारा जाँचिनेछैन।
16“किनकि कसले प्रभुको मनलाई जानेको छ? र कसले उहाँलाई सिकाउन सक्‍छ?”
तर हामीसँग त ख्रीष्‍टको मन छ।#यशै ४०:१३

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in