YouVersion Logo
Search Icon

१ कोरिन्थी 11

11
स्त्रीले केश ढाक्‍ने कुरा
1मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्‍टको अनुसरण गर्दछु।#१ कोर ४:१६; फिलि ३:१७
2म तिमीहरूको तारिफ गर्दछु, किनकि सबै विषयमा तिमीहरू मलाई सम्‍झन्‍छौ, र मैले तिमीहरूलाई दिएका शिक्षाहरू कायम राख्‍तछौ।
3तर तिमीहरूले यो बुझ भन्‍ने म चाहन्‍छु, कि हरेक मानिसको शिर ख्रीष्‍ट हुनुहुन्‍छ, स्‍त्रीको शिर तिनको पति हो, अनि ख्रीष्‍टको शिर परमेश्‍वर हुनुहुन्‍छ। 4प्रार्थना गर्दा वा अगमवाणी बोल्‍दा आफ्‍नो शिर ढाक्‍ने मानिसले आफ्‍नो शिरको अपमान गर्दछ। 5तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्‍ने स्‍त्रीले आफ्‍नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्‍नो केश खौरेको जस्‍तो हो। 6किनकि कुनै स्‍त्रीले शिर ढाक्‍दिन भने बरु तिनले केश काटोस्‌। तर केश काट्‌नु कि खौरनु स्‍त्रीको निम्‍ति शर्मको कुरो हो भनेता तिनले शिरमा घुम्‍टो हालोस्‌। 7किनकि पुरुषले आफ्‍नो शिर ढाक्‍नुहुँदैन, किनभने ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो, तर स्‍त्रीचाहिँ पुरुषको गौरव हो।#उत १:२६-२७ 8किनकि पुरुष स्‍त्रीबाट बनिएको होइन, तर स्‍त्रीचाहिँ पुरुषबाट बनिएकी हो।#उत २:१८-२३ 9स्‍त्रीको निम्‍ति पुरुष सृष्‍टि भएको होइन, तर स्‍त्री पुरुषको निम्‍ति हो। 10यसैकारण र स्‍वर्गदूतहरूका खातिर पनि स्‍त्रीले आफ्‍नो शिर घुम्‍टोले ढाकेको हुनुपर्छ।
11तरै पनि प्रभुमा पुरुषबाट स्‍त्री स्‍वतन्‍त्र हुँदिन, न त स्‍त्रीबाट पुरुष नै। 12किनकि जसरी पुरुषबाट स्‍त्री बनिई, त्‍यसरी नै पुरुष स्‍त्रीबाट जन्‍मन्‍छ। तर सब थोक परमेश्‍वरबाट नै आउँदछन्‌। 13तिमीहरू आफै विचार गर, शिर नढाकी परमेश्‍वरलाई प्रार्थना गर्न स्‍त्रीलाई सुहाउँछ र? 14पुरुषले लामो केश पाल्‍यो भने त्‍यो त्‍यसको निम्‍ति शर्मको कुरो हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? 15तर यदि स्‍त्रीको लामो केश छ भनेता त्‍यो तिनको निम्‍ति गौरव हो। किनकि स्‍त्रीको केश तिनलाई ढाक्‍नलाई दिइएको हो। 16तर कसैले यस विषयमा वाद-विवाद उठाउन चाहन्‍छ भने, हाम्रो कुनै यस्तो रीति छैन न त परमेश्‍वरका मण्‍डलीहरूको नै छ।
प्रभु-भोज
17तर यी आदेश दिँदा म तिमीहरूको तारिफ गर्दिनँ, किनकि तिमीहरू भेला हुँदा त्‍यो असलको निम्‍ति हुँदैन, तर त्‍यो अझ खराबीको निम्‍ति हुन्‍छ। 18किनकि पहिले त, मण्‍डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्‍छ भन्‍ने म सुन्‍दछु। अनि केही मात्रामा म त्‍यो विश्‍वास पनि गर्दछु। 19तिमीहरूमध्‍ये ग्रहणयोग्य ठहरिएकाहरू चिनिनलाई तिमीहरूमा मतभेद हुनु पनि आवश्‍यक नै छ। 20जब तिमीहरू एकसाथ भेला भएर खानपान गर्छौ त्यो चाहिँ प्रभु-भोज होइन। 21किनकि खान बस्‍दा हरेकले आफ्‍नो भोजन खान थाल्‍छ, र कोही भोकै रहन्‍छ, अनि कोहीचाहिँ मद्यले मातेको हुन्‍छ। 22के खान र पिउनलाई के तिमीहरूका आ-आफ्‍ना घर छैनन्‌ र? अथवा के तिमीहरू परमेश्‍वरको मण्‍डलीलाई तुच्‍छ ठान्‍छौ र केही नहुनेहरूको अपमान गर्दछौ? म तिमीहरूलाई के भनूँ? के यसको निम्‍ति म तिमीहरूको तारिफ#11:22 कुनै-कुनै अनुवादमा २२ पदमा “तारिफ” शब्द दुई पटक प्रयोग भएको पाइन्छ। गरूँ? म कदाचित्‌ तारिफ गर्दिनँ।
23किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्‍पी पनि दिएँ, अर्थात्‌ जुन रात उहाँ पक्राउ पर्नुभयो, त्‍यो रात प्रभु येशूले रोटी लिनुभयो, 24र धन्‍यवाद दिनुभएपछि उहाँले त्‍यो भाँच्‍नुभयो, र भन्‍नुभयो, “यो तिमीहरूका निम्‍ति मेरो शरीर हो। यो मेरो सम्‍झनाको निम्‍ति गर।” 25त्‍यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्‍झनामा यो अक्‍सर गर।” #प्रस २४:६-८; यर ३१:३१-३४ 26किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्‍छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेल तिमीहरू प्रभुका मृत्‍युको घोषणा गर्दछौ।
27यसकारण जसले अयोग्‍य रीतिले प्रभुको रोटी खान्‍छ, कि प्रभुको कचौराबाट पिउँछ, त्‍यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्‍याएकोमा दोषी ठहरिनेछ। 28हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्‍यसले रोटी खाओस्, र कचौराबाट पिओस्‌। 29किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्‍छ र पिउँछ त्‍यसले त्‍यो खाएको र पिएको कारणले आफूमाथि दण्‍ड ल्‍याउनेछ। 30यसैकारण तिमीहरूमध्‍ये धेरै जना दुर्बल र रोगी छौ, र कति जनाचाहिँ सुतिसकेका छन्‌। 31तर हामी साँच्‍चै आफैले आफैलाई जाँचेका छौं भने हामी न्‍यायमा पर्नेछैनौं। 32तर जब प्रभुले हाम्रो न्‍याय गर्नुहुन्‍छ, तब हामीलाई अनुशासन गर्नुहुन्‍छ, ताकि संसारसँग हामी दोषी नठहरिऔं।
33यसकारण मेरा भाइ हो, खानलाई एकसाथ भेला हुँदा एक दोस्रालाई पर्ख। 34यदि कोही भोको छ भने त्‍यसले घरैमा खाओस्, नत्रता एकसाथ भेला हुँदा तिमीहरू दण्‍डको भागी हुनेछौ। अरू कुराहरूका विषयमा म आउँदा निर्देशन दिनेछु।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy