YouVersion Logo
Search Icon

१ इतिहास 23

23
लेवीहरू
1जब दाऊद वृद्ध र धेरै उमेरका भए, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए। #१ राज १:१-४०
2तिनले इस्राएलका सबै कुलनायक, पूजाहारीहरू र लेवीहरूलाई भेला गराए। 3लेवीहरूमध्‍ये तीस वर्ष र त्‍यसभन्‍दा बढ़ी उमेरकाहरू गनिए। तिनीहरूका पुरुषहरू सबै जम्‍मा अठतीस हजार थिए। 4तिनीहरूमध्‍येका चौबीस हजारचाहिँ परमप्रभुका मन्‍दिरको कामको रेखदेख गर्न, छ हजार अधिकृत र न्‍यायकर्ताहरू, 5चार हजार द्वारपालहरू, र चार हजारचाहिँ दाऊदले दिएका बाजा बजाएर परमप्रभुको स्‍तुतिगान गर्न तिनले खटाइदिए।
6दाऊदले तिनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम भाग-भाग गरी विभाजन गरे।
गेर्शोनीहरू
7गेर्शोनीहरूका सन्‍तान:
लादान र शिमी।
8लादानका छोराहरू:
जेठा छोरा यहीएल, जेताम र योएल— तीन जना।
9शिमीका छोराहरू:
शलोमोत, हजीएल र हारान— तीन जना। लादानका परिवारका मुखियाहरू यी नै थिए।
10अनि शिमीका छोराहरू:
यहत, जीजा, येऊश र बरीआ— चार जना।
11यहतचाहिँ जेठा थिए, दोस्रा जीजा, तर येऊश र बरीआका थोरै छोराछोरीहरू भएका हुनाले तिनीहरूलाई कामको निम्‍ति एकै परिवारमा गनिए।
कहातीहरू
12कहातका छोराहरू:
अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल चार जना। 13अम्रामका छोराहरू: #प्रस २८:१
हारून र मोशा। हारूनलाई चाहिँ अलग गरिएको थियो। तिनी र तिनका सन्‍तान सधैँको लागि अनि पवित्र कुराहरू अर्पण गर्न, परमप्रभुको सामु बलिदानहरू चढ़ाउन, र उहाँको सामु सेवा गर्न र उहाँको नाउँमा सधैँ आशीर्वाद दिन अलग गरिएका थिए।
14परमप्रभुका जन मोशाका छोराहरूचाहिँ लेवीकै कुलका कहलाइए।
15मोशाका छोराहरू:
गेर्शोम र एलीएजर।
16गेर्शोमका सन्‍तान:
शूबाएलचाहिँ जेठा थिए।
17एलीएजरका सन्‍तान:
रहब्‍याहचाहिँ जेठा थिए। एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्‍याहका छोराहरू औधी धेरै थिए।
18यिसहारका छोराहरू:
शलोमीतचाहिँ जेठा थिए।
19हेब्रोनका छोराहरू:
यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल र चौथा यकमाम।
20उज्‍जीएलका छोराहरूमा:
मीकाचाहिँ जेठा र दोस्रा यिशियाह।
मरारीहरू
21मरारीका छोराहरू:
महली र मूशी।
महलीका छोराहरू:
एलाजार र कीश।
22एलाजार मर्दा तिनका छोरीहरू मात्र थिए, छोराहरू थिएनन्‌। यसैले तिनका दाजुभाइहरू, अर्थात्‌ कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे।
23मूशीका छोराहरू:
महली, एदेर र यरीमोत— तीन जना।
24सूचीमा परिवार-परिवारअनुसार लेखिएका लेवीका सन्‍तान, आ-आफ्‍ना परिवारका मुखियाहरू, बीस वर्ष र त्‍यसभन्‍दा बढ़ी उमेरकाहरू जसले परमप्रभुको मन्‍दिरमा सेवा गर्थे, तिनीहरू यस्‍तै थिए। 25किनभने दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो प्रजालाई शान्‍ति दिनुभएको छ, र यरूशलेममा सदासर्वदा उहाँ वास गर्न आउनुभएको छ। 26यसैकारण लेवीहरूले फेरि कहिल्‍यै पवित्र वासस्‍थान अथवा त्‍यसको सेवामा प्रयोग गरिने भाँड़ाहरू बोक्‍नुपर्नेछैन।” #व्‍य १०:८ 27दाऊदका यी नै पछिल्‍ला वचनद्वारा बीस वर्ष र त्‍यसभन्‍दा बढ़ी उमेरका लेवीहरू गनिए।
28लेवीहरूको काम परमप्रभुका मन्‍दिरको सेवामा हारूनका सन्‍तानहरूलाई सघाउनु थियो। चोक र कोठाहरूको रेखदेख गर्नु, सबै पवित्र थोकहरू शुद्ध पार्नु, परमेश्‍वरका भवनको सेवाको अरू काम गर्नु, #गन्ती ३:५-९ 29अनि टेबिलमा राखिएको रोटी मिलाउनु, अन्‍नबलिको पीठो, अखमिरी बाबर, पोलेका र तेलमा पकाएका फुरौला र ढक र तराजू तयार गर्नु— यी सबै कामको जिम्‍मा तिनीहरूको थियो। 30परमप्रभुलाई सधैँ बिहान र बेलुका, अनि शबाथ, औंसी र ठहराइएका चाड़हरूमा परमप्रभुको निम्‍ति होमबलि चढ़ाउने बेलामा 31तिनीहरू धन्‍यवाद दिने र स्‍तुति गर्ने काममा विधिपूर्वक र निरन्‍तर लागिरहनुपर्थ्‍यो।
32यसरी लेवीहरूले भेट हुने पाल र पवित्रस्‍थानको जिम्‍मा, अनि तिनीहरूका कुटुम्‍ब हारूनका सन्‍तानहरूको अधिकारमुनि परमप्रभुका मन्‍दिरको सेवाको जिम्‍मा लिनुपर्थ्‍यो।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in