Logo ng YouVersion
Hanapin ang Icon

मर्कूस 4

4
बिउ र माटोको दृष्‍टान्त
1फेरि येशूले तालको किनारमा शिक्षा दिन थाल्नुभयो। उहाँको चारैतिर ठूलो भीड जम्मा भएपछि तालमा भएको एउटा डुङ्गामा चढेर बस्‍नुभयो। मानिसहरूचाहिँ तालको किनारमा बसेका थिए। 2उहाँले तिनीहरूलाई धेरै कुराहरू दृष्‍टान्तहरूद्वारा सिकाउनुभयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्‍नुभयो, 3“ध्यान दिएर सुन! एक जना किसान बिउ छर्नलाई निस्क्यो। 4उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए। 5केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्‍त नभएकोले ती चाँडै उम्रे। 6तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले। 7अरू केही बिउचाहिँ काँडाका झाडीमा परे; अनि काँडाहरू बढे, र ती बिरुवाहरूलाई निसासिदिए, अनि तिनीहरूले कुनै फल फलाउन सकेनन्। 8अरू बिउहरूचाहिँ असल जमिनमा परे। ती उम्रँदै र फस्टाउँदै गएर तीस, साठी र सय गुणासम्म फल फलाए।”
9तब येशूले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्यसले सुनोस् र बुझोस्।”
10जब उहाँ एकलै हुनुभयो, ती बाह्र चेलाहरू र उहाँका चारैतिर भएकाहरूले दृष्‍टान्तहरूका विषयमा उहाँलाई सोधे। 11उहाँले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको राज्यको रहस्य तिमीहरूलाई प्रकट गरिएको छ, तर अरूलाई हरेक कुरा दृष्‍टान्तहरूमा भनिन्छ, 12यसरी धर्मशास्त्र पूरा होस्:
“ ‘तिनीहरूले हेरिरहनेछन्, तर कहिल्यै देख्नेछैनन्;
सुन्‍न त सुनिरहनेछन्, तर कहिल्यै बुझ्नेछैनन्;
नत्रता तिनीहरूले पश्‍चात्ताप गर्नेथिए र क्षमा पाउनेथिए।’ ”#4:12 यशै 6:9, 10
13तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू यो दृष्‍टान्त बुझ्दैनौ? त्यसो भए तिमीहरूले अरू दृष्‍टान्त कसरी बुझौला? 14बिउ छर्नेले वचन छर्दछ। 15कति मानिसहरू बाटोतिर परेका बिउजस्तै हुन्, जहाँ वचन छरिन्छ; तिनीहरूले जब यसलाई सुन्छन्, तब शैतान आउँछ र तिनीहरूमा छरिएको त्यो वचन लैजान्छ। 16अरूचाहिँ ढुङ्गेनी ठाउँमा छरिएका बिउजस्तै हुन्, तिनीहरूले वचन सुन्‍नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छन्; 17तर तिनीहरूका जरा नभएकाले ती थोरै समयका लागि मात्र रहन्छन्। अनि जब वचनको कारण दुःख र सतावट आइपर्दछ, तब तिनीहरू झट्टै पछि हट्छन्। 18अझ अरूचाहिँ काँडाहरूमा छरिएका बिउजस्तै हुन्, जसले वचन सुन्छन्, 19तर यस जीवनको फिक्री र धनसम्पत्तिको छल, र अरू थोकहरूको मोह आउँछ; र वचनलाई निसासिदिन्छन्, र त्यो नफल्ने हुन्छ। 20तर अरूचाहिँ असल माटोमा परेका बिउजस्तै हुन्, जसले वचन सुन्दछन्, त्यसलाई ग्रहण गर्दछन्; अनि तीस गुणा, साठी गुणा र सय गुणासम्म फल फलाउँछन्।”
सामदानमाथिको बत्ती
21येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले बत्ती ल्याएर भाँडोमुनि अथवा खाटमुनि नराखेर त्यसलाई सामदानमाथि राख्दैनौ र? 22जे लुकाइन्छ, त्यो प्रकट हुनका लागि हो र जे गुप्‍तमा राखिन्छ, त्यो प्रकट गरिनको लागि हो। 23यदि कसैका सुन्‍ने कानहरू छन् भने त्यसले सुनोस् र बुझोस्।”
24उहाँले अझै भन्‍नुभयो, “तिमीहरू जे सुन्छौ, त्यसलाई होसियारीसाथ विचार गर। जुन नापले तिमीहरू अरूहरूलाई नाप्दछौ, तिमीहरू पनि त्यही नापले अर्थात् अझै बढ्ता गरी नापिनेछौ। 25जससित छ, त्यसलाई अरू दिइनेछ; र जससित छैन, त्यससित भएको पनि खोसिनेछ।”
बढ्ने बिउको दृष्‍टान्त
26उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्य यस्तो छ: जब एक जना मानिसले जमिनमा बिउ छर्छ, 27राति र दिउँसो, ऊ सुते पनि वा उठे पनि, त्यो बिउ उम्रन्छ; अनि बढ्छ। यद्यपि, यो कसरी हुन्छ सो उसले जान्दैन। 28माटोले आफैँ अन्‍न फलाउँछ; पहिले बोट, त्यसपछि बाला, त्यसपछि बालामा पूरा दाना लाग्छ। 29अन्‍न पाक्नसाथ उसले त्यसमा हँसिया लगाउँछ; किनकि कटनीको बेला आइपुगेको हुन्छ।”
रायोको बिउको दृष्‍टान्त
30उहाँले फेरि भन्‍नुभयो, “हामी परमेश्‍वरको राज्यको तुलना केसँग गरौँ? अथवा यसलाई वर्णन गर्नलाई हामीले कुन दृष्‍टान्त प्रयोग गरौँ? 31यो एउटा रायोको बिउजस्तो हो, जुन माटोमा रोपिने बिउहरूमध्ये सबैभन्दा सानो हुन्छ। 32तैपनि रोपेपछि यो बढेर बारीमा भएका अरू बोटबिरुवाहरूभन्दा ठूलो हुन्छ, जसका हाँगाहरू ठूला हुन्छन्, र चराचुरुङ्गीहरू यसको छहारीमा गुँड बनाएर बस्छन्।”
33यस्ता अरू धेरै दृष्‍टान्तहरूद्वारा येशूले तिनीहरूलाई बुझ्न सक्नेअनुसार वचनहरू सुनाउनुभयो। 34उहाँले तिनीहरूसित दृष्‍टान्तहरू प्रयोग नगरी केही भन्‍नुभएन; तर उहाँ आफ्ना चेलाहरूसित एकलै हुँदा तिनीहरूलाई सबैको अर्थ बताइदिनुहुन्थ्यो।
येशूले आँधी शान्त पार्नुभएको
35त्यही दिन, साँझ परेपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हामी पारिपट्टि जाऔँ।” 36अनि भीडलाई बिदा दिइसकेपछि, येशू जुन डुङ्गामा बस्‍नुभएको थियो, तिनीहरूले त्यसैमा उहाँलाई लगे। त्यस बेला त्यहाँ अरू डुङ्गाहरू पनि थिए। 37त्यसै समयमा डरलाग्दो आँधी आयो र छालहरू डुङ्गामा बज्रिन लागे। पानीले त्यस डुङ्गालाई डुबाउनै लाग्यो। 38येशूचाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, “हे गुरु, हामी डुब्नै लागेका छौँ, र पनि तपाईंले वास्ता गर्नुहुन्‍न?”
39उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्‍नुभयो, “चुप लाग्! शान्त होइजा!” तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो।
40उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्‍वास छैन?”
41तिनीहरू निकै डराए, र आपसमा भने, “यिनी को हुन्? आँधी र छालहरूले पनि यिनको आज्ञा मान्दा रहेछन्!”

Kasalukuyang Napili:

मर्कूस 4: NCV

Haylayt

Kopyahin

Paghambingin

Ibahagi

None

Gusto mo bang ma-save ang iyong mga hinaylayt sa lahat ng iyong device? Mag-sign up o mag-sign in

Video para sa मर्कूस 4