मर्कूस 12:35, 36, 37, 38, 39, 40, 41, 42, 43, 44
मर्कूस 12:35 NCV
मन्दिरका चोकहरूमा येशूले सिकाइरहनुहुँदा सोध्नुभयो, “ख्रीष्ट दावीदका पुत्र हुन् भनी व्यवस्थाका शिक्षकहरूले कसरी भन्दछन्?
मर्कूस 12:36 NCV
दावीद आफैँले पवित्र आत्माद्वारा यसरी घोषणा गरे: “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’
मर्कूस 12:37 NCV
दावीद आफैँले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?” ठूलो भीडले उहाँको कुरा आनन्दसाथ सुने।
मर्कूस 12:38 NCV
येशूले सिकाउँदै भन्नुभयो, “व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्। बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्
मर्कूस 12:39 NCV
र सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्।
मर्कूस 12:40 NCV
तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।”
मर्कूस 12:41 NCV
भेटी चढाउने ठाउँको सामु गएर येशू बस्नुभयो र भीडले मन्दिरको दानपेटीमा पैसा हालिरहेका हेर्नुभयो। धेरै धनी मानिसहरूले धेरै मात्रामा रकम चढाइरहेका थिए।
मर्कूस 12:42 NCV
तर एउटी गरिब विधवा आएर धेरै कम मूल्य भएको तामाका दुई साना सिक्का चढाई।
मर्कूस 12:43 NCV
तब आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यस गरिब विधवाले दानपेटीमा अरू सबैले भन्दा बढी चढाएकी छे।
मर्कूस 12:44 NCV
तिनीहरू सबैले आफ्ना प्रशस्त धनबाट चढाएका छन्, तर यस स्त्रीले त आफ्नो गरिबीबाट सबै थोक, आफ्नो जीविका चलाउने खर्चसमेत नै चढाएकी छे।”