मत्ती 16:13-20
मत्ती 16:13-20 NNRV
येशू कैसरिया फिलिप्पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्छन्?” तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा-दिने यूहन्ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एक जना हुन् भनी भन्छन्।” उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौ, म को हुँ?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।” येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।” उहाँ ख्रीष्ट हुनुहुन्छ भनी कसैलाई नभन्नू भनी येशूले चेलाहरूलाई कड़ा आज्ञा दिनुभयो।





