श्रेष्ठगीत 5
5
पुरुष:
1हे प्रियतमा! मेरी दुलही!
म आफ्नो बगैंचामा पसेको छु;
म मेरा मसला र मूर्र बटुल्दै छु।
म मह र चाकासितै खाँदै छु;
अनि दाखमद्य र दूध पिउँदै छु।
स्त्रीहरू:
खाओ, प्रियहरू हो र पिओ,
प्रेमले नअघाउञ्जेलसम्म पिओ!
चौथो गीत
स्त्री:
2म सुत्दा मेरो मन त जागै रहन्थ्यो,
मेरा प्रियतमले दैलो ढक्ढक्याएको सपनामा मैले देखें।
पुरुष:
मेरी प्रियतमा, मेरी प्राण-प्रिये, मेरी ढुकुर, मलाई भित्र आउन देऊ।
शीतले मेरो शिर भिजेको छ,
कुइरोले मेरो केश चिसो भएको छ।
स्त्री:
3मैले आफ्ना लुगा फुकालिसकें,
किन मैले फेरि ती लाउनू र?
मैले खुट्टा धोइसकें,
किन फेरि ती मैला पार्नू?
4मेरा प्रियतमले दैलोमा हात राखे,
उनीछेउ आउँदा म उत्तेजित भएँ।
5उनलाई भित्र पस्न दिन म तयार थिएँ,
मैले दैलाको आग्लो समातें,
त्यस बेला मेरा हातमा मूर्र लागेको थियो
र मेरा औंला मूर्रको रसले भिजेका थिए।
6मैले आफ्ना प्रियतमको निम्ति दैलो खोलें,
तर उनी त गइसकेका थिए!
मैले कति उनको स्वर सुन्न चाहँन्थें!
मैले उनलाई खोजें तर भेट्टाउन सकिनँ,
मैले उनलाई बोलाएँ तर केही जवाफ पाइनँ।
7सहरमा गस्ती लाउने प्रहरीहरूले मलाई भेटे,
तिनीहरूले मलाई कुटे र चोटै-चोट पारे,
सहरका पर्खालहरूका पहरादारहरूले मेरो खास्टो लगे।
8हे यरूशलेमका स्त्रीहरू हो, मसित वाचा बाँध,
मेरा प्रियतमलाई भेट्यौ भने
म उनको प्रेमले विह्वल भएकी छु भनी उनलाई भनिदेओ।
स्त्रीहरू:
9हे परमसुन्दरी,
के तिम्रा प्रियतम अरूभन्दा भिन्नै छन्?
तिनमा यस्तो अचम्मको कुरा के छ र?
त्यसको लागि हामीले तिमीसित वाचा बाँध्नुपर्छ?
स्त्री:
10मेरा प्रियतम सुन्दर र बलिया छन्,
उनी दश हजारमा पाइने एक जना पुरुष हुन्।
11उनको चेहरा गहुँ-वर्णको
र चिल्लो छ;
र केश घुम्रिएको र कागझैँ कालो छ।
12उनका आँखा खोलाको छेउमा भएको ढुकुर,
दूधमा नुहाएको र खोलाको किनारमा उभिएका ढुकुरझैँ सुन्दर छन्।
13ओखती र मसलाहरूले भरिएको बगैंचाझैँ सुन्दर
उनका गाला छन्।
मूर्रको रसले भिजेका लिली फूलझैँ
उनका ओठ छन्।
14उनका हातको बनावट सुन्दर छ
र औंलामा रत्न जडेका औँठीहरू लाएका छन्।
उनको शरीर नीर जडेको हस्ति-दन्तझैँ चिल्लो छ।
15उनका तिघ्रा सुनका खोपिल्टामा राखिएका सिङ्गमरमरका खम्बाहरूजस्ता छन्,
उनी लेबनानका अग्ला देवदारुले भरिएका पर्वतजस्तै
गौरवशाली छन्।
16उनको ओठमा मिठास छ,
उनका सबै कुराले मलाई मोहित पार्दछन्।
हे यरूशलेमका स्त्रीहरू हो,
मेरा प्रियतम यस्तै छन्।
Currently Selected:
श्रेष्ठगीत 5: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.