YouVersion Logo
Search Icon

भजनसंग्रह 91

91
परमेश्‍वर हाम्रा रक्षक
1ज-जसले सुरक्षा पाउन परमप्रभुको शरण लिन्‍छन्
र सर्वशक्तिमान्‌को सुरक्षामुनि बस्‍छन्,
2तिनीहरूले उहाँलाई भन्‍न सक्‍छन्,
“मलाई बचाउने र रक्षा गर्ने तपाईं हुनुहुन्‍छ,
तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ, म तपाईंमा भरोसा राख्‍दछु।”
3उहाँले तिमीलाई सबै लुकेका खतराहरूदेखि
र सबै प्राणघातक रोगहरूदेखि कुशल राख्‍नुहुनेछ।
4उहाँले तिमीलाई आफ्‍ना पखेटाले ढाक्‍नुहुनेछ,
तिमी उहाँको रेखदेखमा कुशलसित रहनेछौ,
उहाँको विश्‍वासयोग्‍यताले तिमीलाई रक्षा गरेर बचाउनेछ।
5दिउँसो अचानक आइलाग्‍ने आक्रमणदेखि
वा रातमा हुने कुनै खतरादेखि तिमीले डर मान्‍नुपर्नेछैन
6वा अन्‍धकारमा आइलाग्‍ने आपत्-विपद्
अथवा दिउँसै प्राण लिने दुष्‍ट कुराहरूदेखि डराउनुपर्नेछैन।
7तिम्रो छेउमा हजार जना लोट्लान्,
तिम्रा चारैपट्टि दश हजार,
तर तिमीलाई केही चोट लाग्‍नेछैन।
8दुष्‍टहरूले कसरी सजायँ पाउँछन्,
तिमीले देख्‍नेछौ।
9परमप्रभुलाई आफ्‍ना त्राणकर्ता
र सर्वोच्‍च प्रभुलाई आफ्‍ना रक्षक तिमीले बनाएका छौ,
10यसर्थ तिमीमाथि केही विपद् आइपर्नेछैन
र तिम्रो घर छेउछाउ कुनै हुलदङ्गा आउनेछैन।
11 # मत्ती 4:6; लूका 4:10 तिमी जहाँ गए पनि रक्षा गर्नलाई
परमेश्‍वरले आफ्‍ना दूतहरूलाई तिम्रो जिम्‍मा दिनुहुनेछ।
12 # मत्ती 4:6; लूका 4:11 ढुङ्गामा तिम्रा खुट्टालाई चोट नलागोस् भनेर
तिनीहरूले आफ्‍ना हातले तिमीलाई उचालिराख्‍नेछन्।
13 # लूका 10:19 तिमीले सिंहहरू र सर्पहरू,
डरलाग्‍दा सिंहहरू र विषालु सर्पहरू पैतालाले कुल्‍चनेछौ।
14“जसले मलाई प्रेम गर्छन्, तिनीहरूलाई म बचाउनेछु
र जसले मलाई परमप्रभु भनी स्‍वीकार गर्छन्, तिनीहरूलाई म रक्षा गर्नेछु।
15तिनीहरूले मलाई पुकार्दा म तिनीहरूलाई जवाफ दिनेछु;
तिनीहरू कष्‍टमा पर्दा म तिनीहरूको साथ रहनेछु,
म तिनीहरूलाई बचाउनेछु र आदर दिनेछु।
16म तिनीहरूलाई दीर्घायु दिनेछु
र बचाउनेछु।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in