YouVersion Logo
Search Icon

भजनसंग्रह 88

88
सहायताको लागि पुकार
1परमप्रभु परमेश्‍वर, मेरा मुक्तिदाता, म दिनभरि तपाईंलाई पुर्कादछु,
राती म तपाईंको सामु आउँदछु।
2मेरो प्रार्थना सुन्‍नुहोस्,
सहायताको लागि मेरो पुकार सुन्‍नुहोस्।
3ममाथि यति धेरै कष्‍टहरू आएका छन् कि
म मृत्‍युको नजिक पुगेको छु।
4मर्न आँटेका अरू मानिसहरूजस्‍तै म भएको छु,
मेरो सारा बल गइसकेको छ।
5म मरेकाहरूको माझमा फ्‍याँकिएको छु,
मारिएर चिहानमा लडिरहेको लाशजस्‍तो म भएको छु,
जसलाई तपाईंले पूरै भुलिसक्‍नुभएको छ
र तपाईंको सहायता पुग्‍न सक्‍दैन।
6तपाईंले मलाई चिहानको गर्भमा सबैभन्दा अँध्‍यारो र गहिरो खाडलभित्र
फ्‍याँकिदिनुभएको छ।
7तपाईंको क्रोधको गह्रौं भारी ममाथि परेको छ
र म त्‍यसको छालमुनि दबेको छु।
8मेरा मित्रहरूले मलाई त्‍याग्‍न तपाईंले लगाउनुभयो,
तिनीहरूको निम्‍ति मलाई घिनलाग्‍दो बनाउनुभयो।
म कैद गरिएको छु र उम्‍कन सक्‍दिनँ।
9कष्‍टले मेरा आँखा कमजोर भएका छन्,
परमप्रभु, दिनहुँ म तपाईंलाई पुकार्दछु
र तपाईंतिर प्रार्थनामा आफ्‍ना हातहरू उचाल्‍दछु।
10के मरेकाहरूका निम्‍ति तपाईंले आश्‍चर्यकर्म गर्नुहुन्‍छ?
के तिनीहरूले जागी उठेर तपाईंलाई प्रशंसा गर्छन्?
11के चिहानमा तपाईंको अटुट प्रेमको बयान गरिन्‍छ?
वा नष्‍ट हुने ठाउँमा तपाईंको विश्‍वासयोग्‍यताको बयान गरिन्‍छ?
12त्‍यस अन्‍धकारका ठाउँमा के तपाईंका आश्‍चर्यकर्महरू देखिन्‍छन्?
र त्‍यस बिर्सिसकेको देशमा के तपाईंको भलाइ देखिन्‍छ?
13परमप्रभु, मद्दतको निम्‍ति म तपाईंलाई पुकार्दछु,
हरेक बिहान म तपाईंसँग प्रार्थना गर्दछु।
14परमप्रभु, किन मलाई अस्‍वीकार गर्नुहुन्‍छ?
किन मदेखि मुख फर्काउनुहुन्‍छ?
15म युवा छँदैदेखि सधैँ मैले दु:ख-कष्‍ट भोगेको छु
र मृत्‍युको नजिकसम्‍म पुगेको छु।
तपाईंका दण्‍डका बोझले म थाकिसकेको छु।
16तपाईंको बल्‍दो रिसले मलाई चुर-चुर पारेको छ।
तपाईंको डरलाग्‍दो प्रहारले मलाई नष्‍ट पार्दछ।
17दिनभरि तिनीहरूले मलाई पानीको भलले झैँ घेर्दछन्
चारैपट्टिबाट तिनीहरूले मलाई छेकेर राखेका छन्।
18मेरा हितका साथीहरूलाई पनि मलाई त्‍याग्‍न लगाउनुभयो
र अन्‍धकार मेरो एक मात्र साथी रहेको छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in