भजनसंग्रह 73
73
तेस्रो भाग
(भजनसंग्रह ७३—८९)
परमेश्वरको न्याय
1इस्राएलको लागि र शुद्ध हृदय भएकाहरूको लागि
परमेश्वर साँच्चै असल हुनुहुन्छ।
2तर मैले आफ्ना विश्वास र भरोसा प्राय:
हराइसकेको थिएँ,
3किनभने मैले दुष्टहरूको सबै कुरामा फलिफाप भएको देखें
र अहङ्कारीहरूसँग ईर्ष्या गरेको थिएँ।
4तिनीहरूले दु:ख-कष्ट भोग्दैनन्,
तिनीहरू बलिया र स्वस्थ हुन्छन्।
5अरू मानिसहरूले झैँ तिनीहरू दु:ख पाउँदैनन्;
अरूले भोगेझैँ तिनीहरूले कष्ट भोग्दैनन्।
6यसर्थ तिनीहरूले अहङ्कारलाई मालाजस्तै लाउँछन्
र हिँसालाई खास्टोजस्तै ओढ्छन्।
7तिनीहरूका हृदयदेखि खराबी निस्कन्छ
र तिनका मन दुष्ट युक्तिहरू निकाल्नमा व्यस्त रहन्छन्।
8तिनीहरू अरूमाथि हाँस्छन् र खराब कुरा बोल्छन्।
तिनीहरू घमण्डी छन् र अरूलाई सताउने युक्तिहरू रच्छन्।
9स्वर्गका परमेश्वरबारे तिनीहरूले दुष्ट कुरा भन्छन्
र पृथ्वीका मानिसहरूलाई घमण्डले भरिएका आज्ञा दिन्छन्।
10यहाँसम्म कि परमेश्वरका आफ्ना प्रजा पनि तिनीहरूतिर फर्कन्छन्
र तिनीहरूले भनेका कुरा झट्टै पत्याउँछन्।
11तिनीहरू भन्छन्, “परमेश्वरले जान्नुहुनेछैन,
सर्वोच्च परमेश्वरले थाहा पाउनुहुनेछैन।”
12दुष्टहरू त्यस्ता हुन्छन्,
तिनीहरूसँग प्रशस्त छ र तिनीहरूले सधैँ अझै धेरै पाइरहेका छन्।
13त के, मैले आफैंलाई पवित्र राखेको
र पाप नगरेकोमा व्यर्थ छ र?
14हे परमेश्वर, तपाईंले मलाई सारा दिन कष्ट भोग्न लगाउनुभएको छ,
हरेक बिहान तपाईंले मलाई दण्ड दिनुभएको छ।
15मैले यस्ता कुराहरू भनेको भएदेखि ता
मैले तपाईंका मानिसहरूले जस्तो काम गरेको हुनेथिइनँ।
16यस कुरामाथि मैले विचार गर्ने चेष्टा गरें,
तर त्यो मेरो लागि अति कठिन थियो।
17तपाईंको मन्दिरभित्र गएपछि मात्र
दुष्टलाई के हुनेछ, सो मैले बुझें।
18तपाईंले तिनीहरूलाई चिप्ला ठाउँहरूमा राख्नुहुनेछ
र तिनीहरूलाई नाश पारी लडाउनुहुनेछ।
19झट्टै तिनीहरू नष्ट हुनेछन्,
तिनीहरूको अन्त डरलाग्दो हुनेछ।
20तिनीहरू बिहान हराउने सपनाजस्ता हुन्छन्;
हे प्रभु, जब तपाईं उठ्नुहुन्छ, तिनीहरू हराउनेछन्।
21जब मेरा सोच-विचार तीता थिए
र मेरो मनमा चोट परेको थियो,
22म पशुझैँ मूर्ख बनेको थिएँ
र मैले तपाईंलाई बुझिनँ।
23तरै पनि, म सधैँ तपाईंको नजिक बस्दछु
र तपाईंले मेरो हात सह्माल्नुहुन्छ।
24तपाईंले आफ्नो शिक्षाले मलाई डोर्याउनुहुन्छ
र अन्तमा मलाई आदरसाथ ग्रहण गर्नुहुनेछ।
25स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र?
तपाईं हुँदाहुँदै मलाई पृथ्वीमा अरू कुन थोक चाहिन्छ र?
26मेरा शरीर र मन दुवै दुर्बल हुन सक्छन्,
तर परमेश्वर मेरा सामर्थ्य हुनुहुन्छ,
मलाई चाहिने उहाँ मात्र हुनुहुन्छ।
27तपाईंलाई त्याग्नेहरू निश्चय नाश हुनेछन्,
तपाईंलाई विश्वास नगर्नेहरूलाई तपाईंले ध्वंस पार्नुहुनेछ।
28तर मेरो निम्ति परमेश्वरको नजिक रहन पाउनु,
सार्वभौम परमप्रभुको सुरक्षा पाउनु,
र उहाँका कामबारे वर्णन गर्नु कति उदेकको कुरा हो!
Currently Selected:
भजनसंग्रह 73: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.