हितोपदेश 13
13
1सुधार्नलाई बुबाले अर्ती दिँदा बुद्धिमान् छोराले त्यसमा ध्यान दिन्छ तर अहङ्कारीले कहिल्यै आफ्नो भुल स्वीकार गर्दैन।
2असल मानिसले आफ्नो बोलीअनुसार इनाम पाउँछ तर छलीहरूचाहिँ हिँसा गर्न नै भोकाइरहेका हुन्छन्।
3आफ्नो बोलीको ख्याल गर् र प्राण जोगा। जथाभावी बोल्नेले आफ्नै नाश गर्छ।
4अल्छीले कुनै कुराको जति नै चाहना गरे तापनि त्यो कहिल्यै पाउनेछैन। मेहनत गर्ने मानिसले आफूले चाहेका सबै थोक प्राप्त गर्नेछ।
5इमानदार मानिसहरूले झूटो कुरालाई घृणा गर्दछन् तर दुष्टहरूका वचन लाजलाग्दा र बदनामी ल्याउने हुन्छन्।
6धर्मीले निर्दोषको रक्षा गर्छ तर दुष्ट्याइँले पापीहरूको पतन गराउँछ।
7कोही मानिसहरू आफूसित केही नभए पनि धनी छौं भन्ने धाक लाउँछन् तर कोहीचाहिँ आफूसित पूरा धनसम्पत्ति भए पनि दरिद्र छौं भन्ने बहाना गर्छन्।
8धनी मानिसले आफ्नो धन दिएर प्राण बचाउनुपर्छ तर गरीबलाई कसैको डर हुँदैन।
9धर्मीहरू चम्केर बलिरहेको ज्योतिजस्ता हुन् तर दुष्टहरूचाहिँ निभ्न लागेको बत्तीझैँ हुन्।
10अहङ्कारले झगडा मात्र ल्याउँदछ। सरसल्लाह लिनु अति बुद्धिमानी हो।
11जति सजिलो धन कमाउँछौ, उति चाँडै त्यो उडाउँछौ तर जति कष्ट गरेर धन कमाउँछौ उति त्यो बढाउँछौ।
12आशा मर्दा मन पनि मर्छ तर इच्छा पूरा हुनु जीवनको रूख हो।
13असल सल्लाह इन्कार गर्नेले कष्ट पाउँछ तर त्यो ग्रहण गर्नेले इनाम पाउँछ।
14बुद्धिमान्ले दिएको अर्ती जीवनको मूल हो, त्यसले खतराबाट उम्कने बाटो दिँदछ।
15समझदार व्यक्तिले आदर पाउँदछ तर भरोसा गर्न नसकिने व्यक्तिहरू बिनाशतर्फ जाँदैगरेका हुन्छन्।
16समझदार मानिसहरूले केही काम गर्नुअघि सधैँ सोच्ने गर्छन् तर मूर्खहरूले आफ्नो मूर्खता प्रचार गर्दछन्।
17सन्देश ल्याउने दुष्ट दूतले दु:ख ल्याउँछ तर भरपर्दो दूतले शान्ति ल्याउँछ।
18शिक्षा ग्रहण नगर्नेले दरिद्रता र अपमान कमाउँछ, सुधार ग्रहण गर्नेले आदर पाउँदछ। 19आफूले चिताएको कुरा प्राप्त गर्नु कति असल कुरा हो! मूर्खहरू दुष्ट्याइँबाट फर्की सुध्रिने मन गर्दैनन्।
20बुद्धिमान्को सङ्गत गर, तिमी बुद्धिमान् हुनेछौ, मूर्खको सङ्गत गर्ने नाश हुन्छ।
21पापीहरूलाई जहीँ पनि दु:खले पछ्याउँदछ तर धर्मीहरूले असल कुराकै इनाम पाउँछन्।
22असल मानिसहरूले छोरा-नातिनाहरूको निम्ति धन-सम्पत्ति छोडिराख्छन् तर पापीहरूको धन धर्मीहरूको हातमा पर्छ।
23बाँझो जमिनले पनि गरीबलाई प्रशस्त अन्न उमारिदिन सक्छ तर अन्याय गर्ने मानिसले त्यो खोस्छ।
24छोरोलाई अनुशासनमा नराख्नेले उसलाई प्रेम गर्दैन। छोरोलाई प्रेम गर्नेले उसको सुधार गर्छ।
25धर्मीहरूले पेटभरि खान पाउँछन् तर दुष्टहरू भोक-भोकै बस्दछन्।
Currently Selected:
हितोपदेश 13: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.