YouVersion Logo
Search Icon

हितोपदेश 10

10
सोलोमनका उखानहरू
1सोलोमनका उखानहरू यी नै हुन्: बुद्धिमान् छोराले बुबाको छाती गर्वले फुलाउँदछ तर मूर्ख छोराले आफ्‍नी आमालाई पीर पार्दछ।
2बेइमानीले कमाएको धन काम लाग्‍दैन तर इमानदारीताले तिम्रो ज्‍यान बचाउँछ।
3परमप्रभुले असल मानिसहरूलाई भोकै रहन दिनुहुन्‍न तर दुष्‍टलाई त्‍यसले चिताएको कुरा पाउन दिनुहुन्‍न।
4अल्‍छी मानिस गरीब बन्‍दछ तर परिश्रमी मानिस धनी बन्‍दछ।
5ज्ञानी मानिसले बाली काट्‍ने समयमा अन्‍न बटुल्‍दछ, बाली काट्‍ने समयमा सुतिबस्‍नु बदनामी हो।
6असल मानिसहरूमाथि आशिष् बर्सन्‍छ तर दुष्‍टका वचनले त्‍यसको हिँसालु बानी लुकाइराख्‍दछ। 7असल मानिसहरूलाई आशिष्‌कै रूपमा सम्‍झना गरिंदछ तर दुष्‍टलाई छिट्टै बिर्सिइन्‍छ।
8ज्ञानी मानिसहरूले अर्तीका कुरा सुन्‍छन् तर मूर्ख कुरा गर्नेहरूचाहिँ नष्‍ट भएर जान्‍छन्।
9इमानदार मानिसले कुशल र सुरक्षा पाउँछ तर बेइमानीचाहिँ पक्राउ पर्छ।
10सत्‍य कुरा लुकाउनेले आपत्ति ल्‍याउँछ तर खुलस्‍त हप्‍काउनेले शान्‍ति कायम गर्दछ।
11असल मानिसको बोली जीवनको मूल हो, तर दुष्‍टको वचनले हिँसालु बानीलाई लुकाउँदछ।
12 # याकूब 5:20; १ पत्रुस 4:8 घृणाले झगडा बढाउँदछ तर प्रेमले सबै दोष ढाक्‍दछ।
13समझदार मानिसले बुद्धिको कुरा गर्छ तर मूर्ख मानिसलाई कोर्रा लाउनुपर्छ।
14बुद्धिमान् मानिसले सकेसम्‍म ज्ञान बटुलेर राख्‍दछ तर मूर्ख बोल्‍दा अशान्‍ति नजिक आउँदछ।
15धनले धनीको रक्षा गर्दछ, दरिद्रताले दरिद्रलाई नाश गर्दछ,
16असल कामको इनाम जीवन हो तर पापले पाप बढाउँछ।
17सुधार ग्रहण गर्नेले जीवन पाउँदछ तर आफ्‍नो भुल स्‍वीकार नगर्ने खतरामा पर्छ।
18मनमा आफ्‍नो घृणा लुकाउने मानिस ढँटुवा हो, व्‍यर्थका कुरा फैलाउने मानिस मूर्ख हो।
19जति धेरै बोल्‍छौ, उति नै धेरै पाप गर्ने सम्‍भावना हुन्‍छ, बुद्धिमान् मानिस चुप भई बस्‍छ।
20धर्मी मानिसको बोली निखुर चाँदीजस्‍तो हुन्‍छ, दुष्‍टको विचार बेकामको हुन्‍छ।
21धर्मी मानिसको बोलीले धेरैलाई लाभ गराउँछ तर मूर्खताले आफ्‍नै नाश गर्दछ।
22परमप्रभुको आशिष्‌ले तिमी धनी बन्‍दछौ तर कठोर परिश्रमले तिमीलाई धनी पार्दैन।
23दुष्‍कर्ममा आनन्‍द पाउनु मूर्खता हो, समझदार मानिसहरू बुद्धिमा आनन्‍दित र खुसी हुन्‍छन्।
24धर्मीले चिताएको पूरा हुन्‍छ तर दुष्‍ट जे कुरासित डराउँछ, त्‍यही त्‍यसले पाउँदछ,
25आँधी आएर दुष्‍टलाई उडाइलैजान्‍छ तर इमानदार मानिसहरू सधैँ सुरक्षित नै रहन्‍छन्।
26अल्‍छीलाई आफ्‍नो काम गर्न कहिले नलगा, दाँतमा सिर्का वा आँखामा धुवाँ परेझैँ त्‍यसले तँलाई पिरोल्‍नेछ।
27परमप्रभुको आज्ञापालन गर र तिमी दीर्घायु हुनेछौ, दुष्‍टहरू समय नपुगी मरिजान्‍छन्।
28धर्मीको आशाको अन्‍त आनन्‍द हुन्‍छ तर दुष्‍टले केही कुराको पनि आशा राख्‍न सक्‍दैन।
29परमप्रभुले इमानदार मानिसहरूको रक्षा गर्नुहुन्‍छ तर दुष्‍टहरूको नाश गर्नुहुन्‍छ।
30धर्मीहरू सधैँ सुरक्षित रहन्‍छन् तर दुष्‍टहरू पृथ्‍वीमा रहनेछैनन्।
31धर्मीहरूले बुद्धिका कुरा गर्छन् तर दुष्‍ट बोली निकाल्‍ने जिब्रो काटिनेछ।
32धर्मीहरूले दयाका कुरा गर्न जान्‍दछन् तर दुष्‍टहरूले सदा चोट पुर्‍याउने कुरा मात्र गर्दछन्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in