YouVersion Logo
Search Icon

यर्मिया 27

27
यर्मियाको काँधमा गोरुको जुवा
1 # २ राजा 24:18-20; २ इतिहास 36:11-13 योशियाहका छोरा सिदकियाह यहूदाका राजा भएको केही दिनपछि 2काठ र छालाको डोरीहरूबाट एउटा जुवा बनाई मेरो काँधमा लाउन परमप्रभुले मलाई आज्ञा गर्नुभयो। 3त्‍यसपछि यरूशलेमका सिदकियाह राजालाई भेट्‍न आउने एदोम, मोआब, अम्‍मोन, टुरोस र सीदोनका राजाहरूका राजदूतहरूद्वारा ती राजाहरूकहाँ एउटा सन्‍देश पठाउने आज्ञा परमप्रभुले मलाई गर्नुभयो। 4ती राजदूतहरूलाई यो समाचार दिन भनी आज्ञा गर्नुभयो, 5“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, तिमीहरूले आ-आफ्‍ना राजाहरूलाई भन कि मैले आफ्‍नो ठूलो शक्ति र बाहुबलले यो संसार, यसका मानिस र पृथ्‍वीमा बास गर्ने जन्‍तुहरू बनाएँ। अनि म जसलाई चुन्‍दछु, त्‍यसलाई यो संसार दिंदछु। 6यी सबै जातिहरूलाई मेरो सेवक बेबिलोनका राजा नबूकदनेसरका अधीनमा दिने म नै हुँ र मैले जङ्गलका जनावरहरूलाई पनि उसको सेवा गर्न लाएको छु। 7सबै जातिहरूले उसको सेवा गर्नेछन् र उसको आफ्‍नो जातिको पतन हुने समय नआएसम्‍म तिनीहरूले उसका छोरा-नातिहरूका सेवा गर्नेछन्। त्‍यसपछि धेरै जातिहरू र ठूल्‍ठूला राजाहरूले उसलाई कमारो बनाउनेछन्।
8“तर यदि कुनै जाति वा राज्‍यले उसको जुवा बोक्‍न अर्थात् उसको अधीनमा रहन चाहँदैन भने त्‍यसलाई नबूकदनेसरले पूरा नाश नगरेसम्‍म म त्‍यस जातिलाई लडाइँ, अनिकाल र रुढी ल्‍याएर सजाय दिनेछु। 9तिमीहरूलाई बेबिलोनका राजाको अधीनमा रहनुहुँदैन भन्‍ने आफ्‍नै अगमवक्ताहरूका कुरा तथा अरू सपना वा मरेका मानिसका आत्‍मा वा जादू, टुना-मुनाद्वारा भविष्‍य बताउन दाबी गर्ने कुनै पनि मानिसका कुरा नसुन। 10तिनीहरूले तिमीहरूलाई झूटा कुरा भन्‍दै छन् र त्‍यसको नतिजाचाहिँ तिमीहरू आफ्‍नो देशबाट अन्‍यत्र लगिनेछौ। म तिमीहरूलाई धपाउनेछु र तिमीहरू नष्‍ट हुनेछौ। 11तर जुन जातिले बेबिलोनका राजाको जुवा बोक्‍न अर्थात् अधीनमा रहन चाहन्‍छ, त्‍यसलाई म आफ्‍नै देशमा बास गर्न र आफ्‍नो जमिन खन-जोत गरी त्‍यसका अन्‍न खाइरहन दिनेछु। म परमप्रभु बोलेको छु।”
12मैले त्‍यही कुरा यहूदाका राजा सिदकियाहलाई भने, “बेबिलोनका राजाको जुवा बोक्‍न अर्थात् उहाँको अधीनमा जान स्‍वीकार गर। तिनी र तिनका प्रजाको सेवा गर र तिमी बाँच्‍नेछौ। 13किन तिमी र तिम्रा प्रजा लडाइँ, अनिकाल वा रुढीमा मारिन्‍छौ? बेबिलोनका राजाको अधीनमा नरहने जातिलाई त्‍यस्‍तै हुनेछ भनी परमप्रभुले भन्‍नुभएको छ। 14तिनका अधीनमा रहनुहुँदैन भन्‍ने अगमवक्ताहरूका कुरा नसुन। तिनीहरूले तिमीहरूलाई झूटा सल्‍लाह दिंदै छन्। 15परमप्रभु आफैंले भन्‍नुभएको छ कि उहाँले तिनीहरूलाई पठाउनुभएको होइन र उहाँको नाममा तिनीहरूले तिमीहरूसित झूटा कुरा गर्दै छन्। यसकारण उहाँले तिमीहरूलाई धपाउनुहुनेछ र तिमीहरू मारिनेछौ। तिमीहरू र तिमीहरूलाई झूटा कुरा गर्ने अगमवक्ता सबै नष्‍ट हुनेछौ।”
16तब परमप्रभुले भन्‍नुभएको कुरा मैले पूजाहारीहरू र मानिसहरूलाई सुनाएँ, “मन्‍दिरका धन-सम्‍पत्ति बेबिलोनबाट फर्काई ल्‍याइनेछन् भन्‍ने अगमवक्ताहरूका कुरा नसुन। तिनीहरूले तिमीहरूलाई ढाँट्दै छन्। 17तिनीहरूका कुरा नसुन। बेबिलोनको राजाको अधीनमा रहो र तिमीहरू बाँच्‍नेछौ। किन यो सहर नष्‍ट हुन दिने? 18यदि तिनीहरू साँच्‍चै अगमवक्ता हुन् र तिनीहरूले मेरा वचन पाएका छन् भने म सर्वशक्तिमान् परमप्रभुलाई मन्‍दिर र राजमहलका बाँकी रहेका धन-सम्‍पत्ति बेबिलोनमा लैजान नदिनुहोस् भनी तिनीहरूले बिन्‍ती गरून्।”
19-20(बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीनसाथै यहूदा र यरूशलेमका गन्‍यमान्‍य मानिसहरूलाई बेबिलोनमा कैद गरी लैजाँदा उनले त्‍यहाँका स्‍तम्‍भहरू, काँसाको पानी ट्याँङ्की, गाडाहरू र मन्‍दिरका अरू सम्‍पत्तिहरू लगेनन्।)
21“यरूशलेमको मन्‍दिर र राजमहलमा छोडिएको सर-सम्‍पत्तिबारे म परमप्रभु इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर के भन्‍दछु, सो सुन। 22ती सबै बेबिलोनमा लगिनेछन् र मैले फेरि लिन नपठाएसम्‍म त्‍यहीं रहनेछन्। त्‍यसपछि मैले ती सर-सम्‍पत्तिलाई फर्काई ल्‍याउनेछु र यरूशलेममा फेरि राख्‍नेछु। म परमप्रभु बोलेको छु।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in