यर्मिया 25
25
उत्तरबाट आउने शत्रुहरू
1 #
२ राजा 24:1; २ इतिहास 36:5-7; दानिएल 1:1,2 योशियाहका छोरा यहोयाकीम यहूदाका राजा भएको चौथो वर्षमा यहूदाका मानिसहरूबारे परमप्रभुको सन्देश मकहाँ आयो। (यो सन्देश नबूकदनेसर बेबिलोनका राजा भएको पहिलो वर्षमा आएको थियो।) 2मैले यहूदा र यरूशलेमका सबै मानिसहरूलाई भनें, 3“आमोनको छोरो यहूदाका राजा योशियाहका राज्यकालको तेह्रौँ वर्षदेखि आजसम्म यी तेईस वर्षभरि परमप्रभु मसित बोलिरहनुभएको छ। अनि मैले उहाँका ती वचन तिमीहरूलाई घरीघरी सुनाउँदैआएको छु। तर तिमीहरूले केही ध्यानै दिएका छैनौ। 4परमप्रभुले आफ्ना सेवक, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाइ नै रहनुभएको छ, तापनि ती कुरामा तिमीहरूले कानै थापेनौ नत ध्यानै दियौ। 5तिनीहरूले तिमीहरूलाई आ-आफ्ना जीवनको खराब चाल र दुष्टकर्महरूबाट फर्क्यौ भने परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खालाई सदाकालको निम्ति दिनुभएको देशमा तिमीहरू बास गरिरहेनेछौ भनेका थिए। 6तिनीहरूले तिमीहरूलाई विराना देवताहरू नपुज्नू र आफ्ना हातले बनाएका मूर्तिहरूलाई पूजा गरेर परमप्रभुलाई रिस नउठाउनू भनी भनेका थिए। तिमीहरूले परमप्रभुको वचन पालन गरेका भए उहाँले तिमीहरूलाई केही दण्ड दिनुहुनेथिएन। 7तर तिमीहरूले उहाँको कुरा सुन्न इन्कार गर्यौ भनी परमप्रभुले नै भन्नुहुन्छ। तर उल्टा आफ्ना हातले बनाएका मूर्तिहरूद्वारा तिमीहरूले उहाँको क्रोध जगायौ र आफूमाथि उहाँको दण्ड ल्यायौ।
8“तिमीहरूले उहाँको वचन नसुनेका हुनाले सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, 9‘उत्तरका सबै जातिहरू र मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरलाई म बोलाउन पठाउँदै छु। यहूदा र त्यहाँका बासिन्दाहरू र छिमेकका अरू सबै जातिहरूसित लडाइँ गर्न म तिनीहरूलाई ल्याउँदै छु। यो जाति र यसका छिमेकका जातिहरूलाई म नाश गर्नेछु र ध्वस्त पारी छोडिराख्नेछु, त्यो हेर्दा एउटा डरलाग्दो र अत्याउने दृष्य हुनेछ। म परमप्रभु बोलेको छु। 10#यर्मिया 7:34; 16:9; प्रकाश 18:22,23म तिनीहरूका हर्ष र आनन्दको सोर र बिहेको भोजको खुसीको आवाज बन्द गरिदिनेछु। तिनीहरूका बत्तीमा ज्योति हुनेछैन र जाँतोको आवाज सुनिनेछैन। 11#२ इतिहास 36:21; यर्मिया 29:10; दानिएल 9:2यो सारा देश उजाड र ध्वंस हुनेछ र यी जातिहरूले सत्तरी वर्षसम्म बेबिलोनको राजाको सेवा गर्नेछन्। 12त्यसपछि म बेबिलोन र त्यसका राजालाई तिनीहरूका पापको निम्ति दण्ड दिनेछु। म त्यस देशलाई नाश पार्नेछु र सदाकालको निम्ति ध्वस्त पारी छोडिराख्नेछु। 13मैले यर्मियाद्वारा भनेका सबै विपत्हरू, जुन जाति-जातिमाथि ल्याउनेछु भनी डर देखाएको थिएँ अर्थात् यस पुस्तकमा लेखिएका सबै विपत्तिहरू बेबिलोनमाथि ल्याएर म त्यसलाई दण्ड दिनेछु। 14तिनीहरूले गरेका कामका निम्ति म बेबिलोनीहरूसित बदला लिनेछु र धेरै जाति र ठूल्ठूला राजाहरूले तिनीहरूलाई कमारा बनाउनेछन्।”
जाति-जातिहरूमाथि परमेश्वरको न्याय
15परमप्रभु इस्राएलका परमेश्वरले मलाई भन्नुभयो, “मेरो क्रोधले भरिएको एउटा कचौरा यहाँ छ। मैले तँलाई पठाएका सबै जातिकहाँ यो कचौरा लैजा र तिनीहरूलाई पिउन लगा। 16त्यस कचौराबाट पिउँदा तिनीहरू धरमराउनेछन् र बौलाहा हुनेछन् किनभने तिनीहरूका विरुद्धमा म लडाइँ पठाउँदै छु।”
17यसकारण मैले परमप्रभुका हातबाट त्यो कचौरा लिएँ र उहाँले मलाई पठाउनुभएका सबै जातिकहाँ त्यो लगें र त्यसबाट तिनीहरूलाई पिउन लाएँ। 18ती ठाउँहरू उजाड र हेर्न नसकिने मरुभूमिजस्तो होऊन् र तिनीहरूका नाम लिएर मानिसहरूले सराप देऊन् भनी यरूशलेम र यहूदाका सम्पूर्ण सहरहरू, त्यहाँका राजा र अगुवाहरू सबैलाई मैले त्यस कचौराबाट पिउन लाएँ। आजसम्म पनि मानिसहरूले त्यसरी नै सराप दिने गरेका छन्।
19-26संसारका अरू राज्यहरू, ज-जसलाई त्यो कचौराबाट पिउनुपरेथ्यो, ती यी नै हुन्:
मिश्रका राजा, भारदारहरू र अगुवाहरू,
सबै मिश्रीहरू र त्यस देशमा बास गर्ने सारा विदेशीहरू,
ऊज देशका सबै राजाहरू,
पलिश्तीहरूका सहरहरू, अश्कलोन, गाजा, एक्रोनका र सबै राजाहरू अश्दोदका बाँचेकाहरू—
एदोम, मोआब र अम्मोनका सबै मानिसहरू,
टुरोस र सीदोनका सबै राजाहरू,
भूमध्य सागर छेउ-छाउका देशहरूका सबै राजाहरू,
ददान, तेमा र बूज सहरहरू,
आफ्ना केश छोटो गरी काट्ने सबै मानिसहरू,
अरब देशका सबै राजाहरू,
मरुभूमिमा बास गर्ने जातिका सबै राजाहरू,
जिम्री, एलाम र मादीका सबै राजाहरू,
उत्तर दिशाका, नजिक-टाढा सबै ठाउँका एक-एक गरी सबै राजाहरू,
पृथ्वीमा भएका सबै जातिहरूले त्यस कचौराबाट पिए,
अन्तमा बेबिलोनका राजाले त्यो कचौरा पिउनेछ।
27त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, “ती मानिसहरूलाई भन् कि म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यो आज्ञा दिंदछु: यो कचौराबाट पिओ, मात र बान्ता गर। लडेर उठ्न नसक्ने होओ। मैले तिमीहरूका बीचमा पठाएको लडाइँको कारणले त्यसो हुनेछ। 28यदि तिनीहरूले त्यो कचौरा तेरा हातबाट लिई पिउन इन्कार गरे भने तिनीहरूलाई भन कि सर्वशक्तिमान् परमप्रभुले भन्नुभएको छ कि तिमीहरूले त्यो पिउनैपर्छ। 29मेरो ध्वस्त गर्ने काम मेरो आफ्नै सहरमा म सुरु गर्नेछु। हामीहरू दण्ड नपाई छोडिनेछौं भनी के तिनीहरू ठान्छन्? होइन, तिनीहरूले दण्ड पाउने नै छन् किनभने म पृथ्वीका सबै जातिमाथि लडाइँ पठाउनेछु। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।
30“ए यर्मिया, मैले भनेका सबै कुरा तैँले सुनाउनुपर्नेछ। तैँले यी मानिसहरूलाई यसो भन्नुपर्नेछ,
‘परमप्रभु स्वर्गबाट गर्जनुहुनेछ,
स्वर्गका उच्चस्थानबाट भयानक आवाज गर्नुहुनेछ,
उहाँ आफ्नो प्रजाको विरुद्धमा गर्जनुहुनेछ,
दाख कुल्चने मानिसझैँ उहाँ कराउनुहुनेछ।
पृथ्वीका हरेक मानिसले उहाँको सोर सुन्नेछ।
31त्यो सोरको गुञ्जन पृथ्वीको पल्लो छेउसम्मै सुनिनेछ।
जाति-जातिका विरुद्धमा परमप्रभुको आरोप छ।
सबै मानिसहरूका विरुद्धमा उहाँले न्याय गर्नुहुनेछ
र दुष्टहरूलाई मार्नुहुनेछ।
परमप्रभु बोल्नुभएको छ’।”
32सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ कि विपत्ति एउटा जातिदेखि अर्को जाति गर्दै बढिआउनेछ र पृथ्वीको पल्लो भागमा एउटा ठूलो आँधी-बेहरी तयार हुँदै छ। 33त्यस दिन परमप्रभुले मार्नुभएकाहरूको लाश पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म छरिएर रहनेछ। कसैले तिनीहरूका निम्ति विलाप गर्नेछैन, कसैले तिनीहरूका लाश जम्मा गरी गाड्नेछैन। ती लाशहरू मलको थुप्रोझैँ जमिनमा लडिरहनेछन्।
34हे अगुवाहरू हो, मेरा बगालका गोठालाहरू हो, ठूलो सोरले रोओ। विलाप गर्दै धुलोमा लडीबडी गर। तिमीहरूको मारिने समय आइपुगेको छ र तिमीहरू साँढ-भेडाझैँ काटिनेछौ। 35तिमीहरूले भाग्ने बाटो पाउनेछैनौ। 36-37तिमीहरू कष्टले बिलौना गर्दै रुनेछौ किनभने परमप्रभुले आफ्नो क्रोधमा तिम्रा जातिलाई नाश गर्नुभएको छ र तिम्रो शान्तिसित रहेको देशलाई ध्वस्त पारी छोडिराख्नुभएको छ। 38सिंहले आफ्नो गुफा छोडेझैँ उहाँले आफ्नो प्रजालाई छोड्नुभएको छ। लडाइँका डरलाग्दा प्रतिफलहरू र परमप्रभुको भयानक क्रोधले यस देशलाई उजाड पारेका छन्।
Currently Selected:
यर्मिया 25: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.