YouVersion Logo
Search Icon

यर्मिया 21

21
यरूशलेमको हार
1यहूदाका राजा सिदकियाहले मल्‍कियाहका छोरा पशहूर मासेयाहका छोरा पूजाहारी सपन्‍याहलाई मकहाँ यो बिन्‍ती गरेर पठाए। 2#२ राजा 25:1-11; २ इतिहास 36:17-21“हाम्रो निम्‍ति परमप्रभुसित सोधपुछ गर किनभने बेबिलोनका राजा नबूकदनेसर र तिनका सेना हाम्रो सहरमाथि हमला गर्न आउँदै छन्। सायद परमप्रभुले एउटा उदेकको काम गर्नुहुनेछ र नबूकदनेसरलाई फर्केर जान लाउनुहुनेछ।”
3अनि परमप्रभु मसित बोल्‍नुभयो र मकहाँ पठाएकाहरूलाई मैले भने, 4“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘पर्खाल बाहिर तँलाई घेरिरहेका बेबिलोनका राजा र सेनाहरूको विरुद्ध लड्‍न तेरो हातमा भएको हात-हतियार तेरै विरुद्धमा फर्काउनेछु। म तिनीहरूलाई सहरभित्र भेला गराउनेछु। 5मेरो पूरा शक्ति, क्रोध र आक्रोशका साथ म तेरो विरुद्धमा लड्‍नेछु। 6म यस सहरमा बास गर्ने मानिसहरू, पशुहरू सबैलाई मार्नेछु। तिनीहरू डरलाग्‍दो महारुढीले मर्नेछन्। 7तर तँ यहूदाका राजा सिदकियाह, तेरा भारदारहरू, लडाइँ, अनिकाल र रुढीबाट बचेका मानिसहरू सबैलाई म नबूकदनेसर राजा र तेरा शत्रुहरू, जसले तिमीहरूलाई नाश पार्न चाहन्‍छन्, तिनीहरूका हातमा कैदी हुनलाई सुम्‍पिदिनेछु। त्‍यसले तिमीहरू कसैलाई जिउँदो छोड्‍नेछैन वा दयामाया देखाउनेछैन र टिठ्याउने पनि छैन। म परमप्रभु बोलेको छु।”
8त्‍यसपछि मानिसहरूलाई यसो भन्‍न परमप्रभुले मलाई अह्राउनुभयो, “सुन, म तिमीहरूलाई जीवनको बाटो र मृत्‍युको बाटो रोज्‍ने मौका दिंदै छु। 9जो यस सहरमा बस्‍छ, त्‍यो लडाइँ, अनिकाल वा रुढीले मर्नेछ तर जो निस्‍केर गई अहिले सहरमाथि हमला गरिरहेका बेबिलोनीहरूका हातमा आफैंलाई समर्पण गर्छ, त्‍यो मर्नेछैन। त्‍यसले कम-से-कम आफ्‍नो ज्‍यानचाहिँ बचाउनेछ। 10मैले यस सहरलाई जोगाउने होइन तर नाश पार्ने निश्‍चय गरेको छु। त्‍यो सहर बेबिलोनको राजालाई दिइनेछ र त्‍यसले यसलाई आगोले भस्‍म पार्नेछ। म परमप्रभु बोलेको छु।”
यहूदाका राज-परिवारमाथि दण्‍ड
11-12दाऊदका सन्‍तान यहूदाका राज-परिवारलाई यो सन्‍देश दिन परमप्रभुले मलाई आदेश दिनुभयो, “म परमप्रभुले के भन्‍दै छु, सो सुन। दिन-दिन न्‍याय कायम राख। ठग्‍नेको हातबाट ठगिनेको रक्षा गर। नत्रता तिमीहरूका कुकर्मले मेरो क्रोधलाई कहिले ननिभ्‍ने आगोझैँ दन्‍काउनेछ। 13हे यरूशलेम, तँ बेसीहरूदेखि उच्‍चमा छस्, मैदानमा खडा भएको चट्टानझैँ छस्। तर म तेरो विरुद्धमा लडाइँ गर्नेछु। तँ भन्‍दछस् कि कोही ममाथि आइलाग्‍न सक्‍नेछैन, मेरो गढ कसैले भत्‍काउन सक्‍नेछैन। 14तर तेरा कामहरूका निम्‍ति म तँलाई दण्‍ड दिनेछु। म तेरो दरबारमा आगो लगाइदिनेछु र आगोले तेरा चारैतिर भएका सबै थोक भस्‍म पार्नेछ। म परमप्रभु बोलेको छु।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in