YouVersion Logo
Search Icon

यर्मिया 11

11
इस्राएलले भङ्ग गरेका करार
1परमप्रभुले मलाई भन्‍नुभयो, 2“शर्तहरू सुन्। यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई भन् कि 3यस करारका शर्तहरू पालन नगर्ने हरेकलाई म परमप्रभु इस्राएलका परमेश्‍वर सराप दिंदछु। 4यो करार मैले तिनीहरूका पिता-पुर्खाहरूसित त्‍यस बेला बाँधेको थिएँ, जब मैले तिनीहरूलाई आगो दन्‍केको भट्टीजस्‍तो मिश्रदेशबाट निकाली ल्‍याएको थिएँ। मैले तिनीहरूलाई मेरा आज्ञापालन गर्नू र तीअनुसार सबै काम गर्नू भनेको थिएँ। मेरा आज्ञा पालन गरे तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्‍वर हुनेछु भनी मैले तिनीहरूलाई भनेको थिएँ। 5तब तिनीहरूका पिता-पुर्खालाई एउटा धनी र मलिलो देश दिनेछु भनी गरेको प्रतिज्ञा पूरा गर्नेछु भनी मैले भनेको थिएँ। अनि त्‍यही देशमा तिमीहरू अहिले बसिरहेका छौ।”
मैले भनें, “हे परमप्रभु, यस्तै होस्।”
6तब परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका गल्‍ली-गल्‍लीमा जा। त्‍यहाँ मेरो सन्‍देश सुना र मानिसहरूलाई मेरा करारका शर्तहरू सुन्‍न र ती पालन गर्न लगा। 7जुन बेला मैले तिनीहरूका पुर्खाहरूलाई मिश्रबाट छुटाएर ल्‍याएँ, त्‍यस बेला मैले तिनीहरूलाई मेरो आज्ञापालन गर्न घरीघरी चेतावनी दिएँ र आजसम्‍म यी मानिसहरूलाई त्‍यस्‍तै चेतावनी दिइरहेको छु। 8तर तिनीहरूले मेरा आज्ञा सुनेनन् र पालन गरेनन्। बरु तिनीहरू सधैँ ढिट र दुष्‍ट भइरहे। मैले तिनीहरूलाई सो करार पूरा गर्ने आज्ञा गरेको थिएँ तर तिनीहरूले त्‍यसो गरेनन्। यसैकारण ती करारमा वर्णन गरिएका सबै दण्‍डहरू मैले तिनीहरूमाथि ल्‍याएँ।”
9त्‍यसपछि परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदा र यरूशलेमका मानिसहरूले मेरा विरुद्धमा षड्‌यन्‍त्र गरिरहेका छन्। 10मेरा वचनहरू सुन्‍न इन्‍कार गरेका आफ्‍नै पुर्खाहरूका पापतिर तिनीहरू लागेका छन्। तिनीहरूले विराना देवताहरू पुजेका छन्। इस्राएल र यहूदा दुवैले मैले तिनका पुर्खाहरूसित बाँधेको करार तोडेका छन्। 11यसकारण म परमप्रभु तिनीहरूलाई यो चेतावनी दिन्छु कि म तिनीहरूमाथि विनाश ल्‍याउनेछु र तिनीहरू उम्‍कन पाउनेछैनन्। अनि तिनीहरूले सहायताका लागि मेरा पुकारा गरे भने पनि म सुन्‍नेछैनँ। 12तब यहूदा र यरूशलेमका बासिन्‍दाहरूले आफूले बलि चढाएका देवताहरूलाई रोई-कराई पुकारा गर्नेछन्। तर ती देवताहरूले विनाशको बेलामा तिनीहरूलाई बचाउन सक्‍नेछैनन्। 13यहूदामा जति वटा सहरहरू छन्, त्‍यहाँका बासिन्‍दाहरूले त्‍यति वटै देवताहरू राखेका छन्। यरूशलेममा जति वटा गल्‍लीहरू छन्, त्‍यहाँका मानिसहरूले त्‍यति वटै वेदीहरू त्‍यो लाजलाग्‍दो बाल-देवतालाई बलि चढाउन खडा गरेका छन्। 14ए यर्मिया, यस जातिको निम्‍ति मलाई प्रार्थना नगर्‌, मसित बिन्‍ती नगर्‌। आफ्‍ना दु:खका समयमा तिनीहरूले सहायताको निम्‍ति मलाई पुकारा गर्दा म सुन्‍नेछैनँ।”
15परमप्रभु भन्‍नुहुन्‍छ, “मैले प्रेम गरेका मानिसहरूले दुष्‍ट काम गरिरहेका छन्। मेरो मन्‍दिरमा आउन तिनीहरूको के अधिकार छ? के तिनीहरू भाकल र पशुको बलिदान गरेर विपत्ति पन्साउन सक्‍छौं भनी ठान्‍छन्? तब के तिनीहरू खुसी हुन्‍छन्? 16एक समय मैले तिनीहरूलाई असल फल लागेको एउटा सुन्‍दर हरियो जैतुनको रूख भनी नाम दिएको थिएँ। तर अब बिजुलीको गर्जनसाथ म त्‍यसका पातमा डढेलो लाइदिनेछु र हाँगाहरू भाँचिदिनेछु।
17“म सर्वशक्तिमान् परमप्रभुले इस्राएल र यहूदालाई रोपेको थिएँ तर अब मैले तिनीहरूमाथि विपत्ति ल्‍याउने फैसला गरेको छु। दुष्‍ट काम गरेर यो विपत्ति तिनीहरूले आफूमाथि ल्‍याएका हुन्। बाल-देवतालाई धूप बालेर तिनीहरूले मलाई रिस उठाएका छन्।”
यर्मियालाई मार्ने षड्यन्‍त्र
18मेरा शत्रुहरूले मेरा विरुद्धमा के जाल रच्‍दै थिए, त्‍यो परमप्रभुले मलाई बताउनुभयो र मैले थाहा पाएँ। 19म त मार्न लगिएको एउटा सुधो थुमाझैँ थिएँ। तिनीहरूले मेरै विरुद्धमा जाल रचेका हुन् भनी मैले थाहा पाएको थिइनँ। तिनीहरूले यसो भन्‍दै थिए, “त्‍यस रूखलाई त्‍यसको फलसमेत ढालिदेऔं। त्‍यसलाई जीवितहरूको देशबाट नष्‍ट गरिदिऔं र त्‍यसको नामको कसैले फेरि सम्‍झना नगरोस्।”
20तब मैले यसरी प्रार्थना गरें, “हे सर्वशक्तिमान् परमप्रभु, तपाईं मानिसहरूको न्‍याय गर्नुहुन्‍छ। तपाईंले मानिसहरूका हृदयका सोच र विचारको जाँच गर्नुहुन्‍छ। मेरा कुरा तपाईंका हातमा मैले सुम्‍पिसकेको छु। तपाईंले तिनीहरूसित बदला लिनुभएको म देख्‍न पाऊँ।”
21अनातोतका मानिसहरू मलाई मार्न चाहन्‍थे। परमप्रभुको सन्‍देश तैँले प्रचार गरिरहिस् भने हामी तँलाई मार्नेछौं भनी तिनीहरूले मलाई भनेका थिए। 22यसकारण सर्वशक्तिमान् परमप्रभुले यसो भन्‍नुभयो, “हेर, म तिनीहरूलाई दण्‍ड दिनेछु! तिनीहरूका युवकहरू लडाइँमा मारिनेछन्। तिनीहरूका छोरा-छोरीहरू अनिकालले मर्नेछन्। 23अनातोतका मानिसहरूमाथि विनाश ल्‍याउने समय मैले तोकेको छु, त्‍यो समय आएपछि तिनीहरू कोही पनि बाँच्‍नेछैनन्‌।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for यर्मिया 11