YouVersion Logo
Search Icon

यशैया 6

6
यशैयाको दर्शन
1 # २ राजा 15:7; २ इतिहास 26:23 उज्‍जियाह राजा मरेको वर्षमा मैले परमप्रभुको दर्शन पाएँ। उहाँ सर्वोच्‍च सिंहासनमा विराजमान् हुनुहुन्‍थ्‍यो र उहाँको वस्‍त्रले सारा मन्‍दिर ढाकिएको थियो। 2उहाँका मास्‍तिर आगोको ज्‍वालाझैँ चहकिला स्‍वर्गदूतहरू थिए र तिनीहरू प्रत्‍येकका छ-छ वटा पखेटाहरू थिए। दुई वटा पखेटाले आफ्‍नो मुख, दुईटा पखेटाले आफ्‍नो खुट्टा ढाकेका थिए र अर्को दुईटा पखेटाले तिनीहरू उड्दथे। 3#प्रकाश 4:8तिनीहरू आपसमा यसो भन्‍दै पुकार्दै थिए:
“पवित्र, पवित्र, पवित्र! सर्वशक्तिमान् परमप्रभु पवित्र हुनुहुन्‍छ! उहाँको महिमाले सारा संसार भरिपूर्ण छ।”
4 # प्रकाश 15:8 तिनीहरूको सोरले मन्‍दिरका सँघारहरू हल्‍लँदै थिए र मन्‍दिरचाहिँ धुवाँले भरिएको थियो।
5मैले भनें, “हाय! म नाश हुनेछु। म नाश हुनेछु किनभने मेरा ओठबाट निस्‍केको हरेक शब्‍द पापमय छ र म अपवित्र ओठ भएका मानिसहरूका बीचमा बास गर्दछु। तर पनि सर्वशक्तिमान् परमप्रभु महाराजालाई मैले आफ्‍ना आँखाले देखेको छु!”
6तब आगोको ज्‍वालाझैँ चहकिलो एउटा स्‍वर्गदूत वेदीबाट आगोको भुङ्ग्रो चिम्‍टाले च्‍यापेर मकहाँ उडेर आए। 7तिनले मेरो ओठ त्‍यस भुङ्ग्राले छोएर यसो भने, “यसले तिम्रो ओठ छोएको छ र तिम्रा दोषहरू अब मेटिए र पाप क्षमा भए।”
8तब परमप्रभुले यसो भन्‍नुभएको मैले सुनें, “म कसलाई पठाऊँ? हाम्रो सन्‍देशवाहक को हुने हो?”
मैले जवाफ दिएँ, “म जानेछु! मलाई पठाउनुहोस्।”
9 # मत्ती 13:14,15; मर्कूस 4:12; लूका 8:10; यूहन्‍ना 12:40; प्रेरित 28:26,27 तब उहाँले मलाई गएर मानिसहरूलाई यो सन्‍देश भन्‍दिन आज्ञा गर्नुभयो, “तिमीहरूले जति नै सुने पनि बुझ्‍नेछैनौ, तिमीहरूले जति नै हेरे पनि के भइरहेछ, सो थाहा पाउनेछैनौ।” 10त्‍यसपछि उहाँले मलाई भन्‍नुभयो, “तैँले यी मानिसहरूका बुद्धि बोधो पार्‌, कान बहिरा र आँखा अन्‍धा पारिदे, होइन भने त तिनीहरूले देख्‍नेछन्, सुन्‍नेछन् र बुझ्‍नेछन् र तिनीहरू मतिर फर्कनेछन् र निको हुनेछन्।”
11मैले सोधें, “परमप्रभु कहिलेसम्‍म यो अवस्‍था रहला नि?”
उहाँले जवाफ दिनुभयो, “सहरहरू नष्‍ट भएर रित्ता नभएसम्‍म, घरहरू निर्जन र यो देश आफैं उजाड नभएसम्‍म 12म यहाँका मानिसहरूलाई टाढा खेद्‌नेछु र सारा देश उजाड पार्नेछु। 13देशमा दशौँ भाग मानिसहरू बाँकी रहे भने पनि म ती सबैलाई नाश पार्नेछु तर तिनीहरू काटेर ढालेका फलाँट रूखका ठुटाझैँ हुनेछन्।”
(त्‍यसरी पवित्र बिउचाहिँ त्‍यस देशमा ठुटो हुनेछ।)

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in