YouVersion Logo
Search Icon

यशैया 51

51
यरूशलेमलाई सान्‍त्‍वनाका वचनहरू
1परमप्रभु भन्‍नुहुन्‍छ,
“तिमीहरूले, मेरा कुरा सुन,
जसले उद्धार पाउन चाहन्‍छौ
र सहायताको निम्‍ति मकहाँ आउँदछौ।
जुन चट्टानबाट तिमीहरू कुँदिएका थियौ,
जुन ढुङ्गा-खानीबाट तिमीहरू निकालिएका थियौ,
तीबारे याद गर।
2तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्‍म दिने सारालाई याद गर।
जब मैले अब्राहामलाई बोलाएँ, त्‍यस बेला त्‍यो नि:सन्‍तान थियो। तर मैले त्‍यसलाई आशिष् दिएँ
र त्‍यसका सन्‍तानको सङ्‍ख्‍या गन्‍न नसकिने बनाइदिएँ।
3“म यरूशलेमलाई करुणा देखाउनेछु,
त्‍यसका विनाश भएका भूमिमा बास गर्नेहरूलाई दया गर्नेछु।
त्‍यसको देश मरुभूमि भएको भए पनि
म त्‍यसलाई अदनको बगैँचाझैँ बनाउनेछु।
त्‍यहाँ आनन्‍द र रमाहट, मेरा प्रशंसा र धन्‍यवादका गुण-गान हुनेछ।
4“ए मेरा प्रजा, मतिर आफ्‍नो कान थाप
मैले भनेको कुरा सुन।
म जाति-जातिलाई आफ्‍नो व्‍यवस्‍था दिँदछु,
मेरो न्‍याय तिमीहरूको ज्‍योति हुनेछ।
5म छिट्टै आएर तिनीहरूलाई बचाउनेछु,
मेरो उद्धारको समय नजिक छ।
म आफैं जाति-जातिहरूमाथि न्‍याय गर्नेछु,
टाढाका देशहरूले मेरो बाटो हेर्नेछन्।
मैले तिनीहरूलाई बचाउनेछु भनी तिनीहरूले मेरो आशा गर्नेछन्।
6उँभो आकाशतिर हेर, पृथ्‍वीलाई हेर!
आकाश धुवाँझैँ हराउनेछ,
पृथ्‍वी पुरानो कपडाझैँ फाटिजानेछ
र पृथ्‍वीका मानिसहरू झिँगाझैँ मरिजानेछन्,
तर मैले दिने मुक्ति सदासर्वदाको निम्‍ति हुनेछ,
मेरो विजय नै अन्‍तिम विजय हुनेछ।
7“तिमीहरू, जसले ठीक कुरा जान्‍दछौ
र जसका हृदयमा मेरो व्‍यवस्‍था गढेर बसेको छ, मेरा कुरा सुन।
मानिसहरूले तिमीहरूलाई खिसी र अपमान गर्दा तिमीहरू नडराओ।
8किराले खाएका लुगाझैँ तिनीहरू हराइजानेछन्!
तर मैले दिने उद्धार सदासर्वदाको निम्‍ति हुनेछ,
मेरो विजय सदाकालको निम्‍ति रहनेछ।”
9उठ्‍नुहोस्, हे परमप्रभु हामीलाई सहायता गर्नुहोस्!
आफ्‍नो शक्ति प्रयोग गरेर हामीलाई बचाउनुहोस्,
प्राचीन समयमा झैँ आफ्‍नो शक्ति प्रयोग गर्नुहोस्।
समुद्रको अजिङ्गर राहाबलाई टुक्रा-टुक्रा पार्ने
तपाईं नै हुनुहुन्‍थ्‍यो।
10समुद्र सुकाउने र आफूले बचाउन लागेका मानिसहरू पार गर्न सकून्‌ भनेर
पानीका बीचबाट बाटो बनाउनुहुने पनि तपाईं नै हुनुहुन्‍थ्‍यो।
11जसलाई तपाईंले बचाउनुभएको छ,
तिनीहरू आनन्‍दसाथ गाउँदै, रमाउँदै
यरूशलेममा पुग्‍नेछन्।
सदाको लागि तिनीहरू आनन्‍दित हुनेछन्,
हर्ष र खुसीले तिनीहरू भरिनेछन् र मानिसहरूका शोक र सुस्‍केरा मेटिनेछन्।
12परमप्रभु भन्‍नुहुन्‍छ,
“तिमीहरूलाई सान्‍त्‍वना दिने म नै हुँ,
तिमीहरू किन मरणशील मानिससित डराउँछौ?
तिनीहरू घाँसझैँ ओइलिजानेछन्।
13तिमीहरूलाई सृष्‍टि गर्ने,
आकाश फैलाउने र पृथ्‍वीको जग बसाल्‍ने,
परमप्रभुलाई के तिमीहरूले बिर्स्‍यौ?
तिमीहरूलाई नाश गर्न तयार हुनेहरूका र तिमीहरूमाथि अत्‍याचार गर्नेहरूका रिसको निरन्‍तर डर मानेर
किन तिमीहरू जिउँदछौ?
तिनीहरूका रिसले तिमीहरूलाई छुन सक्‍दैन।
14जो कैदमा परेका छन्,
तिनीहरू चाँडै छुट्‍नेछन्,
तिनीहरू लामो समयसम्‍म बाँच्‍नेछन्
र आफूलाई चाहिए जति भोजन तिनीहरूले पाउनेछन्।
15“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ,
म समुद्रलाई चलाउँदछु
र त्‍यसका छालहरू गर्जन्‍छन्।
मेरो नाम सर्वशक्तिमान् परमप्रभु हो!
16मैले आकाश फैलाएँ र पृथ्‍वीको जग बसालें।
म यरूशलेमलाई भन्‍दछु,
‘तिमीहरू मेरा प्रजा हौ! मैले तिमीहरूलाई शिक्षा दिएको छु
र आफ्‍ना बाहुबलले तिमीहरूको रक्षा गर्दछु’।”
यरूशलेमको दु:ख-कष्‍टको अन्‍त
17 # प्रकाश 14:10; 16:19 ए यरूशलेम, जाग्! जाग्‌ अनि उठ्!
परमप्रभुले रिसको झोकमा पिउन
दिनुभएको दण्‍डको कचौरा तैँले पिएको छस्।
त्‍यो तैँले पिइस् र तेरा खुट्टाहरू लरबराए।
18तँलाई बाटो देखाउने कोही छैन,
तेरा मानिसहरूबीच तेरो हात समातेर डोर्‍याउने कोही छैन।
19तँमाथि दोब्‍बर विपत्ति परेको छ,
तेरो देश लडाइँले ध्‍वस्‍त भएको छ
र तेरा मानिसहरू भोका छन्।
तँलाई टिठ्याउने कोही छैन।
20हरेक बाटोको छेउछाउ तेरा मानिसहरू दुर्बल भएर अचानक लड्दै छन्।
तिनीहरू शिकारीका जालमा फसेका हरिणझैँ छन्।
तिनीहरूले परमेश्‍वरको क्रोधको तेज भेटेका छन्।
21हे यरूशलेमका दु:ख भोगिरहेका मानिसहरू हो,
मतवालाजस्‍तै ढुन्‍मुनिंदै हिँड्‍नेहरू हो,
22तिमीहरूको रक्षा गर्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुहुन्‍छ,
“रिसको झोकमा मैले तिमीहरूलाई दिएको कचौरा म हटाउँदै छु।
तिमीहरू धरमराउने कचौरा अब उसो तिमीहरूले पिउनुपर्दैन।
23त्‍यो कचौरा म तिमीहरूमाथि अत्‍याचार गर्नेहरूलाई दिनेछु,
जसले तिमीहरूलाई यसो भनेका थिए,
“लमतन्‍न होओ र हामी तिमीहरूमाथि हिँड्‍नेछौं
र तिमीहरूले आफ्‍नो पिठ्युँचाहिँ भूइँ
र हिँड्‍ने बाटोजस्‍तै बनाइदियौ।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in