YouVersion Logo
Search Icon

यशैया 47

47
बेबिलोनमाथि दण्‍डको आज्ञा
1 # यशैया 13:1—14:23; यर्मिया 50:1—51:64 परमप्रभु भन्‍नुहुन्‍छ,
“ए बेबिलोनिया, तेरो सिंहासनबाट ओर्लिआइज
र जमिनमा धुलोमाथि बस्।
एक समय तँ कन्‍या-केटीजस्‍तै थिइस्,
तर तँ अब कोमल र सुकुमारी छैनस्!
2जाँतो घुमा! पिठो पिंध!
घुम्‍टो हटा!
फरिया माथि सार्‌!
आफ्‍नो जाँघ देखाएर खोला तर्‌!
3मानिसहरूले तेरो नग्‍नता देख्‍नेछन्।
तँ होच्‍याइएको र लज्‍जित भएको देख्‍नेछन्;
म साटो फेर्नेछु, म कसैलाई छोड्‍नेछैनँ।”
4इस्राएलका पवित्र परमेश्‍वरले हामीलाई छुटकारा दिनुहुनेछ।
उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो।
5परमप्रभुले बेबिलोनियालाई भन्‍नुहुन्‍छ,
“चुप लागेर अन्‍धकारमा बस्।
तँलाई अब कसैको जाति-जातिकी रानी भन्‍नेछैन!
6म मेरा प्रजासित रिसाएको थिएँ,
मैले तिनीहरूलाई आफ्‍ना निज प्रजाजस्‍तो व्‍यवहार गरिनँ,
मैले तिनीहरूलाई तेरा हातमा दिएँ।
तर तैँले तिनीहरूमाथि केही दया देखाइनस्,
बुढापाकाहरूसित पनि तैँले कठोर व्‍यवहार गरिस्।
7“म सधैँ रानी नै रहनेछु भनी तैँले विचार गरिस्,
तैँले यी सबै कुरा मनमा राखिनस्
वा यी सबैको अन्‍त कस्‍तो होला भनी सोचिनस्।
8 # प्रकाश 18:7,8 ए! तँ सुख-विलास मन पराउने, यो कुरा सुन्।
म कुशल र सुरक्षित छु,
परमेश्‍वर जतिकै महान् छु
र मजस्‍तो अरू कोही छैन भनी तैँले ठानेकी थिई।
म कहिल्‍यै विधवा हुनेछैनँ
अथवा मेरा छोरा-छोरीहरूको बिजोग देख्‍नुपर्नेछैन
भनी तैँले सोचेको थिइस्।
9तर यी कुराहरू तँमाथि एकै घडी, एकै दिनमा पूर्णरूपले आइपर्नेछन्‌,
तैँले जत्तिकै टुना-मुना र मन्‍त्र-तन्‍त्र चलाए पनि
तेरा छोरा-छोरीहरू मर्नेछन्,
तँ विधवा हुनेछे।
10“आफ्‍नो दुष्‍टतामा तँ ढुक्‍कसित चल्‍थिस्,
कसैले मलाई देख्‍नेछैन भनी तँ भन्‍ठान्‍थिस्।
तेरा ज्ञान र बुद्धिले तँलाई कुबाटोमा लगे
र तैँले आफ्‍नो मनमा ‘म नै हुँ’ भन्‍थिस्, ‘मजस्‍तो अरू कोही छैन।’
11तँमाथि डरलाग्‍दो विपत्ति आइपर्नेछ
र तेरो टुना-मुनाले त्‍यो रोक्‍न सक्‍नेछैन।
अचानक विनाश तँमाथि आइपर्नेछ,
तैँले सपनामा नचिताएको विनाश आइपर्नेछ!
12तेरा जम्‍मै तन्‍त्र-मन्‍त्र र टुना-मुना अझै खेलाइराख्,
ती सबै त तैँले सानै उमेरदेखि चलाइरहिस्।
सायद ती कुराहरूले तँलाई केही मद्दत गरिहाल्‍लान् कि
वा तैँले आफ्‍ना शत्रुहरूलाई तर्साउन सक्‍छे कि।
13तैँले पाएका सबै सल्‍लाहहरूले तँलाई थकाएको छ।
तारा हेर्ने र तिनका ठाउँ खुट्ट्याउने
र महिना-महिना के-कस्‍तो हुन्‍छ भनी बताउने
तेरा ती ज्‍योतिषीहरू अघि आएर तँलाई बचाऊन्।
14“तिनीहरू परालका टुक्राझैँ हुनेछन्,
आगाले तिनीहरूलाई स्‍वाहा पार्नेछ!
तिनीहरूले आफ्‍नै बचाउ पनि गर्न सक्‍नेछैनन्।
ज्‍वालाले तिनीहरूलाई डढाइहाल्‍नेछ;
ताप्‍ने खालको न्‍यानो आगोझैँ हुँदैन।
15तैँले आफ्‍ना जीवनभरि हेराएका ज्‍योतिषीहरूले
तँलाई त्‍यति नै मात्र भलाइ गर्न सक्‍नेछन्।
तँलाई छोडेर तिनीहरू आफ्‍नै बाटो लाग्‍नेछन्
र तँलाई बचाउन कोही पनि रहनेछैन।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in