YouVersion Logo
Search Icon

यशैया 23

23
फोनिशियाबारे अगमवाणी
1 # इजकिएल 26:1—28:19; योएल 3:4-8; आमोस 1:9,10; जकरिया 9:1-4; मत्ती 11:21,22; लूका 10:13,14 यो टुरोसबारे अगमवाणी हो: हे महासागरका नाविक हो, विलाप गर! तिमीहरूको मुख्‍य बन्‍दरगाह टुरोस ध्‍वस्‍त भएको छ। त्‍यहाँका घरहरू र जहाजले आश्रय लिने स्‍थानहरू श्रापित भएका छन्। तिमीहरूका जहाज साइप्रसबाट फर्केपछि यो खबर तिमीहरूले सुन्‍नेछौ। 2-3सीदोनका व्‍यापारीहरू हो, विलाप गर! मिश्रमा उब्‍जेका अन्‍न किन-बेच गर्ने तिमीहरूले आफ्‍ना मानिसहरू समुद्रपारि पठाएका थियौ।
4ए सीदोन सहर, तेरो बदनाम भएको छ! समुद्र र महासागरले तँलाई इन्‍कार गरी भन्‍छन्, “मैले कहिल्‍यै बच्‍चा जन्‍माएको छैनँ। मैले कहिल्‍यै छोरा-छोरीहरू हुर्काएको छैनँ।”
5टुरोस ध्‍वंस भएको सुनी मिश्रीहरूलाई पनि धक्‍का लाग्‍नेछ र तिनीहरू व्‍याकुल हुनेछन्।
6विलाप गर, हे फोनिकेका बासिन्‍दा हो! तिमीहरू तर्शीश देशमा जाओ! 7धेरै दिनअघि बसालिएको आनन्‍दमय सहर टुरोस के यही हो? समुद्रपारि नयाँ मुलुक आबाद गर्न आफ्‍ना मानिसहरू पठाउने सहर के यही हो? 8सहरका व्‍यापारीहरूले पृथ्‍वीभरि सबैभन्दा धेरै सम्‍मान पाउँथे। त्‍यस्‍तो मनमोज गर्ने सहरको यो दशा गराउने जाल कसले रचेछ? 9त्‍यसको परिकल्‍पना सर्वशक्तिमान् परमप्रभुले बनाउनुभएको हो। तिनीहरूले आफ्‍ना काममा गरेका घमण्‍ड तोड्‍न र तिनीहरूलाई होच्‍याउन उहाँले त्‍यसो गर्नुभएको हो।
10तर्शीशमा नयाँ मुलुक आबाद गर्नेहरू हो, गएर त्‍यहाँको जमिन जोत! तिमीहरूको रक्षा गर्ने अब कोही छैन। 11परमप्रभुले समुद्रमाथि आफ्‍नो हात उचाल्‍नुभएको छ र राज्‍यहरूलाई हराउनुभएको छ। फोनिकेका व्‍यापार केन्‍द्रहरू नाश गर्नलाई उहाँले आज्ञा दिनुभएको छ। 12ए सीदोन सहर, तेरो आनन्‍द अन्‍त भएको छ र तेरा बासिन्‍दाहरू अत्‍याचारमा परेका छन्। तिनीहरू भागेर साइप्रसतिर गए पनि तिनीहरूको सुरक्षा छैन।
13(बेबिलोनियाहरूले जङ्गली जनावरहरूलाई टुरोस सहर मिच्‍न दिएका थिए, अश्‍शूरीहरूले होइन। टुरोस जफत गर्ने किल्‍लाहरू बसाल्‍ने त्‍यहाँका गढीहरू भत्‍काउने र सहर ध्‍वंस पारिराख्‍ने बेबिलोनीहरू थिए।)
14विलाप गर, हे महासागरका नाविकहरू हो! तिमीहरू भर परेको सहर नष्‍ट भएको छ।
15यस्‍तो समय आउँदै छ कि सत्तरी वर्षसम्‍म टुरोसलाई सबैले बिर्सनेछन्। सत्तरी वर्ष एक जना राजाको जीवनकाल हो। ती वर्ष बितेपछि टुरोस वेश्‍याको गीतझैँ हुनेछ।
16वीणा लिएर सहर चारैतिर डुल्,
ए बिर्सिएकी वेश्‍या!
फेरि मानिसहरू बटुल्‍न वीणा बजाएर गीत गा।
17सत्तरी वर्ष बितेपछि परमप्रभुले टुरोसलाई आफ्‍नो पुरानै व्‍यापारमा फर्कने अनुमति दिनुहुनेछ र त्‍यसले ज्‍यालामा पृथ्‍वीभरिका राज्‍यहरूसित काम गर्नेछ। 18त्‍यसले व्‍यापारबाट कमाएको धन परमप्रभुलाई अर्पण गरिनेछ। त्‍यसले त्‍यो धन कमाएर थुपार्नेछैन तर परमप्रभुलाई पुज्‍नेहरूले आफूलाई चाहिएको भोजन र वस्‍त्र किन्‍नलाई त्‍यो धन चलाउनेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in