YouVersion Logo
Search Icon

यशैया 2

2
अनन्‍त शान्‍ति
1आमोजक छोरो यशैयालाई यहूदा र यरूशलेमबारे परमेश्‍वरले दर्शनमा दिनुभएको सन्‍देश यही हो:
2आउँदा दिनमा परमप्रभुको मन्‍दिर बसालिएको पर्वत सबैभन्दा उच्‍च पर्वत हुनेछ। त्‍यो सबै डाँडाहरूभन्दा अग्‍लो हुनेछ। सबै जातिहरू ओइरिएर त्‍यहाँ आउनेछन् 3र ती मानिसहरूले यसो भन्‍नेछन्, “हामी परमप्रभुको पर्वत उक्‍लेर इस्राएलका परमेश्‍वरको मन्‍दिरमा जाऔं। उहाँले हामीलाई हामीले गर्नुपर्ने काम सिकाई दिनुहुनेछ। उहाँले खटाउनुभएको बाटोमा हामी हिँड्‍नेछौं किनभने परमप्रभुको शिक्षा यरूशलेमबाट आउँदछ र सियोनबाट फैलिनेछ र उहाँ आफ्‍ना प्रजासँग बोल्‍नुहुनेछ।” 4#योएल 3:10; मीका 4:3जातिहरू बीचका मुद्दाहरू उहाँले छिनोफानो गर्नुहुनेछ। तिनीहरूले आ-आफ्‍ना तरवार पिटेर हलोको फाली र भाला पिटेर हँसिया बनाउनेछन्। जाति-जातिहरूका बीच लडाइँ हुनेछैन, तिनीहरूले फेरि कहिल्‍यै युद्धको तयारी गर्नेछैनन्।
5अब हे याकूबका सन्‍तान हो, परमप्रभुले दिनुभएको ज्‍योतिमा हामी हिँडौं!
अहङ्कारी नाश गरिनेछ
6हे परमेश्‍वर, तपाईंले आफ्‍ना प्रजा याकूबका सन्‍तानलाई त्‍याग्‍नुभएको छ! त्‍यो देश पूर्वका र पलिश्‍तीहरूका जादूगरीका रीतिथितिले भरिएको छ। त्‍यहाँका बासिन्‍दाहरूले विदेशीहरूसँग सम्‍बन्‍ध राख्‍छन्। 7तिनीहरूको देश सुन र चाँदीले भरिएको छ र तिनीहरूलाई धनको केही कमी छैन। तिनीहरूको देश घोडाहरूले भरिभराउ छ र तिनीहरूका रथहरूको केही हिसाबै छैन। 8तिनीहरूको देश मूर्तिले भरिएको छ र तिनीहरूले आफ्‍ना हातले बनाएका मूर्तिको पूजा गर्दछन्।
9त्‍यसले गर्दा सबैको अपमान र बदनाम हुनेछ। हे परमप्रभु, तिनीहरू कसैलाई क्षमा नगर्नुहोस्!
10 # प्रकाश 6:15; २ थेसलोनिकी 1:9 परमप्रभुको क्रोधबाट बाँच्‍न र उहाँका महिमा र शक्तिबाट लुक्‍न तिनीहरू चट्टान र पहराका गुफामा पस्‍नेछन्। 11त्‍यो दिन आउँदै छ, जब मानिसको घमण्‍डको अन्‍त हुनेछ र अहङ्कार नाश हुनेछ। तब परमप्रभुको मात्र बढिबढाउ हुनेछ। 12त्‍यस दिन सर्वशक्तिमान् परमप्रभुले शक्तिशाली, घमण्‍डी र अहङ्कारी हरेकको सेखी झार्नुहुनेछ। 13उहाँले लेबनानका अग्‍ला देवदारुहरू र बाशान देशका सारा फलाँटका रूखहरू नाश गर्नुहुनेछ। 14अग्‍ला पर्वत र डाँडाहरू उहाँले सम्‍म पार्नुहुनेछ। 15हरेक धरहरा र हरेक किल्‍लाका पर्खाल उहाँले होच्‍याउनुहुनेछ। 16सबैभन्दा ठूलो र सुन्‍दर जहाजलाई पनि उहाँले समुद्रमा डुबाउनुहुनेछ। 17-18मानिसको घमण्‍ड अन्‍त हुनेछ, शेखी झर्नेछ। मूर्तिहरू सम्‍पूर्ण लोप हुनेछन् र त्‍यस दिन परमप्रभुको मात्र बढिबढाउ हुनेछ।
19जब परमप्रभु पृथ्‍वीमा थर्कमान गर्न आउनुहुन्‍छ, तब उहाँको क्रोधबाट बाँच्‍न र उहाँका महिमा र शक्तिबाट लुक्‍न मानिसहरू चट्टान र पहराका गुफामा वा जमिनमा खाल्‍डो खनी त्‍यसभित्र पस्‍नेछन्। 20त्‍यो दिन तिनीहरू आफूले बनाएका सुन र चाँदीका मूर्तिहरू फ्‍याँकेर छुचुन्‍द्रा र चमेराहरूको अघि छोडिदिनेछन्। 21पृथ्‍वीलाई थर्कमान पार्न परमप्रभु आउनुहुँदा मानिसहरू उहाँको क्रोधबाट बाँच्‍न र उहाँका महिमा र शक्तिबाट लुक्‍न पहराका ध्‍वान्‍द्रा र गुफाहरूमा पस्‍नेछन्। 22एक मुट्ठी मात्र सास हुने मानिसमा भरोसा नगर, त्‍यसको के मूल्‍य छ र?

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in