YouVersion Logo
Search Icon

यशैया 16

16
मोआबको दुर्दशा
1मोआबीहरूले मरुभूमिका सेला सहरबाट यरूशलेमका शासककहाँ थुमाको कोसेली पठाउँछन्। 2गुँडबाट खेदिएर यताउता उडिरहेका चराझैँ मोआबका नारीहरू अर्नोन नदीका घाटहरूमा यताउति गर्दै पर्खिरहन्‍छन्।
3तिनीहरू यहूदाका मानिसहरूलाई भन्‍छन्, “हामी कसो गरौं, सल्‍लाह देओ। मध्‍यदिनमा शीतल छाया दिने रूखले झैँ हामीलाई रक्षा गर। हामीलाई तिम्रा छायाँमा विश्राम गर्न देओ। हामी तिम्रो मुलुकमा शरण लिन आएका हौं। कसैले नभेट्‍ने ठाउँमा हामीलाई लुकाओ। 4हामीलाई तिम्रो देशमा बस्‍न देओ। हामीलाई नाश पार्न खोज्‍नेहरूका हातबाट हामीलाई बचाओ।”
(अत्‍याचार र विनाशको अन्‍त हुनेछ र देशलाई ध्‍वस्‍त पार्नेहरू रहनेछैनन्। 5दाऊदका सन्‍तानबाट एक जना राजा हुनेछन् र तिनले विश्‍वास र प्रेमसाथ प्रजालाई शासन गर्नेछन्। उचित काम जति तिनले झट्टै गरिहाल्‍नेछन् र न्‍यायको रक्षा गर्नेछन्।)
6यहूदाका मानिसहरू भन्‍छन्, “मोआबका मानिसहरू कति घमण्‍डी छन्, त्यो हामीले सुनेका छौं। तिनीहरू अति घमण्‍डी र अहङ्कारी छन्, त्‍यो पनि हामी जान्‍दछौं तर तिनीहरूले धाक लाएको काम लाग्‍नेछैन।”
7मोआबीहरू आफूले पाएका दु:ख-कष्‍टले रुनेछन्। कीर-हरेशेत सहरमा आफूले खाएका स्‍वादिला भोजनहरू सम्‍झेर तिनीहरू रुनेछन्। तिनीहरू हताश हुनेछन्। 8हेश्‍बोन छेउका खेतबारी र सिब्‍माका दाखबारीहरू नष्‍ट भएका छन्। ती दाखबारीका दाखमद्यले जाति-जातिका राजाहरू पनि मात्‍दथे। कुनै समयमा त्‍यहाँका दाखका बोटहरू फैलिएर याजेर सहरसम्‍म अनि पूर्वमा मरुभूमि र पश्‍चिममा मृत-सागरका पारिसम्‍मै पुगेका थिए। 9अब म याजेरको निम्‍ति रोएजस्‍तै सिब्‍माका दाखबारीको निम्‍ति पनि रुँदछु। हेश्‍बोन र एलालेका निम्‍ति मेरा आँसु खस्‍छन् किनभने मानिसहरूलाई आनन्‍द दिने फसल छैन। 10अब मलिला खेतहरूमा कोही प्रसन्‍न देखिंदैन। दाखबारीमा कोही कराउँदैनन्, गीत गाउँदैनन्। दाखमद्य बनाउनलाई कसैले दाख पेल्‍दैन। सबै आनन्‍दको सोर बन्‍द भएको छ। 11मोआबको निम्‍ति अफसोसले र कीर-हरेशेतको निम्‍ति दु:खले म पीडाको आवाज निकाल्‍दछु। 12मोआबका मानिसहरू प्रार्थना गर्नलाई पहाडका पूजास्‍थल र मन्‍दिरहरूमा जाँदाजाँदा थाक्‍नेछन् तर त्‍यसले तिनीहरूलाई केही लाभ हुनेछैन।
13मोआबबारे परमप्रभुले पहिले नै भन्‍नुभएको वचन यही हो। 14अब परमप्रभु भन्‍नुहुन्‍छ, “तीन वर्षमा मोआबको ठूलो धन-सम्‍पत्ति खतम हुनेछ। त्‍यसका धेरै मानिसहरूमध्‍ये अति थोरै मात्र बाँच्‍नेछन् र तिनीहरू कमजोर हुनेछन्।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in