YouVersion Logo
Search Icon

यशैया 14

14
कैदबाट फर्कन्‍छन्
1परमप्रभुले फेरि एक पल्‍ट इस्राएलका मानिसहरूलाई कृपा गर्नुहुनेछ र आफ्‍ना प्रजा छान्‍नुहुनेछ। तिनीहरूलाई तिनीहरूको आफ्‍नो देशमा बास गर्न दिनुहुनेछ। त्‍यहाँ विदेशीहरू आई तिनीहरूसित मिल्‍नेछन् र याकूबका सन्‍तानसँग एक हुनेछन्। 2धेरै जातिहरूले इस्राएलका मानिसहरूलाई परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा फर्कन सहायता गर्नेछन् र त्‍यस देशमा राष्‍ट्र-राष्‍ट्रका मानिस चाकर भई तिनीहरूको सेवा गर्नेछन्। ज-जसले एक चोटी इस्राएललाई कब्‍जा गरेथे, अब इस्राएलले तिनीहरूलाई कब्‍जा गर्नेछन्। इस्राएलीहरूले अघि एक चोटी आफूलाई अत्‍याचार गर्ने मानिसहरूमाथि राज्‍य गर्नेछन्।
बेबिलोनका राजाको मृत्‍यु
3परमप्रभुले इस्राएलका प्रजालाई दु:ख-कष्‍ट र तिनीहरूले गर्नुपरेको कठिन परिश्रमबाट छुटकारा दिनुहुनेछ। 4त्‍यसो भएको दिन तिनीहरूले बेबिलोनका राजालाई यसो भन्‍दै गिल्‍ला गर्नेछन्, “निष्ठुर राजा लड्यो! त्‍यसले फेरि कसैलाई अत्‍याचार गर्नेछैन! 5परमप्रभुले ती दुष्‍ट राजाहरूको बलको अन्‍त गरिदिनुभयो। 6जसले रिसमा प्रजाहरूमाथि अत्‍याचार गर्दथे र आफूले जितेका राष्‍ट्रहरूलाई कहिल्‍यै सताउन छोडेका थिएनन्। 7अन्‍तमा सारा संसार अब विश्राम र शान्‍तिमा रमाउनेछ। हरेक व्यक्तिले खुसीले गाउनेछ। 8सल्‍लाका रूखहरू र लेबनानका देवदारुका रूखहरू राजा पतन भएकोमा रमाउनेछन् किनभने उनी मरेकाले अब उसो ती रूखहरू काटी ढालिनेछैनन्।
9“मरेकाहरूका देशले बेबिलोनका राजालाई स्‍वागत गर्न तयारी गर्दै छ। पृथ्‍वीका शक्तिशाली अगुवाहरूका आत्‍माहरू यताउता घुमिरहेका छन्। राजाहरूका आत्‍माहरू सिंहासनबाट उठ्दै छन्। 10तिनीहरूले उसलाई यसो भन्‍दछन्, ‘तिमी अब हामीजस्‍तै दुर्बल भएका छौ! तिमी हामीजस्‍तै भयौ! 11वीणा बजाएर तिम्रो सम्‍मान गरिन्‍थ्‍यो तर अब यहाँ मृत्‍यु-लोकमा आइपुगेका छौ। औँसा तिम्रो ओछ्यान र किरा तिम्रो ओढ्‍ने भएको छ’।”
12 # प्रकाश 8:10; 9:1 हे बेबिलोनका राजा, बिहानको चम्‍किलो तारा, प्रभातको पुत्र तँ आकाशबाट खसिस्‌! अघि तैँले जाति-जातिलाई जितिस्‌ तर अहिले आफैं भूइँमा ढलेको छस्‌। 13#मत्ती 11:23; लूका 10:15तैँले स्‍वर्गमा पुग्‍ने र सबैभन्दा अग्‍लो ताराभन्दा पनि अरू उच्‍चमा आफ्‍नो सिंहासन राख्‍ने पक्‍का विचार गरेको थिइस्‌। उत्तरमा देव-देवता भेला हुने पर्वतमा राजाजस्‍तै विराजमान् गर्छु भन्‍ने विचार गरेको थिइस्‌। 14बादलको माथि चढी सर्वशक्तिमान् बराबर हुन्‍छु भनी तैँले ठानेका थिइस्‌। 15तर त्‍यसको सट्टामा तँ मृत्‍यु-लोकको सबैभन्दा गहिरो ठाउँमा झारिएको छस्‌।
16मरेकाहरूले मुख बाएर तँलाई हेर्नेछन्। तिनीहरूले यसरी सोध्‍छन्, “के पृथ्‍वी हल्‍लाउने र राज्‍य-राज्‍य थर्काउने मानिस यही हो? 17सहरहरू ध्‍वंस पार्न र सारा जगतलाई उजाड-स्‍थान बनाउने मानिस यही हो? के कैदीलाई कहिल्‍यै नछोड्‍ने वा घर फर्कन नदिने मानिस यही हो?”
18पृथ्‍वीका सबै राजाहरू आ-आफ्‍ना सम्‍मानसाथ चिहानमा पस्रिरहेका छन्। 19तर तिम्रो चाहिँ चिहान छैन र तिम्रो लाश सडोस् भनी खुल्‍ला ठाउँमा फ्‍याँकिएको छ। लडाइँमा मारिएका सिपाहीहरूका लाशले तिम्रो लाशलाई छोपेको छ। सबै लाश ढुङ्गै-ढुङ्गा भएको खाडलमा फ्‍याँकिएर खुट्टाले कुल्‍ची-मिल्‍ची पारिएका छन्। 20तिमीले आफ्‍नै देश नाश गरेको र आफ्‍नै प्रजालाई हत्‍या गरेको हुनाले तिमीलाई अरू राजाहरूलाई जस्‍तो गाड्‍नेछैनन्। तिम्रो दुष्‍ट घरानाको कोही पनि बाँच्‍नेछैन। 21संहार सुरु होस्! राजाका पापले गर्दा उनका छोराहरू मर्नेछन्। तिनीहरू कसैले पृथ्‍वीमा राज्‍य गर्नेछैनन‌्‌ र सहर बनाउनेछैनन‌्‌।
बेबिलोनको विनाश
22सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “म बेबिलोनमाथि हमला गर्नेछु र त्‍यसलाई ध्‍वंस पार्नेछु। म कसैलाई छोड्‍नेछैनँ। केटा-केटीहरूलाई पनि छोड्‍नेछैनँ र कोही बाँच्‍नेछैन। म परमप्रभु बोल्‍दछु। 23म बेबिलोनलाई एउटा सिमसार बनाउनेछु र त्‍यहाँ लाटोकोसेरोहरू बास गर्नेछन्। म बेबिलोनलाई कूचोले बढारेझैँ सबै कुरा नाश पारिदिनेछु। म, सर्वशक्तिमान् परमप्रभुले यसो भन्‍दछु।”
अश्‍शूरीहरूको विनाश
24 # यशैया 10:5-34; नहूम 1:1—3:19; सपन्‍याह 2:13-15 सर्वशक्तिमान् परमप्रभुले यसो भनी शपथ खानुभएको छ, “मैले जे युक्ति गरेको छु, त्‍यो पूरा हुनेछ। मैले जे काम गर्ने सङ्‌कल्‍प गरेको छु, त्‍यो गरिछोड्‍नेछु। 25म मेरो देशमा अश्‍शूरीहरूलाई नाश पार्नेछु, म मेरा पर्वतहरूमाथि तिनीहरूलाई पैतालाले कुल्‍चनेछु। अश्‍शूरीहरूका जूवाबाट र तिनीहरूले बोक्‍नुपरेका बोझबाट म मेरा प्रजालाई मुक्त पार्नेछु। 26यो संसारको निम्‍ति मेरो युक्ति हो र जाति-जातिलाई सजायँ दिन मेरो हात उचालिएको छ।” 27सर्वशक्तिमान् परमप्रभुले त्‍यसो गर्न निश्‍चय गर्नुभएको छ। सजायँ दिनलाई उहाँले आफ्‍नो हात उचाल्‍नुभएको छ र कसैले उहाँलाई रोक्‍न सक्‍दैन।
पलिश्‍तीहरूको विनाश
28 # २ राजा 16:20; २ इतिहास 28:27 आहाज राजा मरेको वर्ष यो अगमवाणी भयो: 29#यर्मिया 47:1-7; इजकिएल 25:15-17; योएल 3:4-8; आमोस 1:6-8; सपन्‍याह 2:4-7; जकरिया 9:5-7“हे पलिश्‍ती देश तँलाई हिर्काउने लौरो भाँचियो तर तैँले रमाउने केही कारण छैन। जब एउटा साँप मर्छ, अर्को अझ खतरनाक साँप त्‍यसको ठाउँमा आउँछ। साँपका फुलबाट उड्‍ने विषालु सर्प निस्‍कन्‍छन्, 30परमप्रभु आफ्‍ना गरीब प्रजाको गोठालो हुनुहुनेछ र तिनीहरूलाई कुशलसित बास गर्न दिनुहुनेछ। तर तँ पलिश्‍ती देशमा उहाँले एउटा डरलाग्‍दो अनिकाल पठाउनुहुनेछ र तेरा कसैलाई जिउँदो छोड्‍नेछैन।
31“हे पलिश्‍तीका सहरहरू हो, ठूलो सोरले रोओ। तिमीहरू सबैले डर मान! उत्तरबाट धुवाँको बादल आइरहेको छ, त्‍यो एउटा सेना हो, जसमा एक जना पनि काँतर छैन।”
32पलिश्‍तीबाट खबर लिएर आउने मानिसहरूलाई हामीले कस्‍तो उत्तर दिनु? हामी तिनीहरूलाई परमप्रभुले सियोनलाई दरिलो बनाउनुभएको छ र उहाँका कष्‍ट पाएका प्रजा अब त्‍यहाँ कुशलसाथ रहनेछन् भनी भन्‍नेछौं।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in