YouVersion Logo
Search Icon

यशैया 13

13
बाबेलमाथि परमेश्‍वरको दण्‍ड
1 # यशैया 47:1-15; यर्मिया 50:1—51:64 आमोजका छोरा यशैयाले बेबिलोनबारे पाएको अगमवाणी यही हो:
2नाङ्गो डाँडामा एउटा लडाइँको झन्‍डा उठाऊ! उच्‍च सोरले सिपाहीहरूलाई कराऊ र हात उचालेर त्‍यस अहङ्कारी सहरका मूल-ढोकामाथि आक्रमण गर्न सङ्केत देऊ। 3परमेश्‍वरले आफ्‍नो गर्व र भरोसापूर्ण सेनालाई एउटा पवित्र लडाइँ गर्न र उहाँको रिसमा परेका मानिसलाई दण्‍ड दिन बोलाउनुभएको छ।
4पर्वतहरूमाथि भइरहेको होहल्‍ला सुन। मानिसहरूको ठूलो भीड र राष्‍ट्र-राष्‍ट्र र राज्‍य-राज्‍य भेला भएको खैलाबैला भइरहेछ। सेनाहरूका परमप्रभुले आफ्‍नो फौज लडाइँको निम्‍ति तयार पार्दै हुनुहुन्‍छ। 5पृथ्‍वीको पल्‍लो छेउका टाढा-टाढा देशबाट तिनीहरू आइरहेका छन्। आफ्‍नो क्रोधमा सारा देशलाई विध्‍वंस पार्न परमप्रभु आउँदै हुनुहुन्‍छ।
6 # योएल 1:15 कष्‍टले कराऊ! परमप्रभुको दिन नजिकै छ, त्‍यस दिनमा सर्वशक्तिमान्‌ले नाश गर्नुहुनेछ। 7सबैका हात लुला हुनेछन्, मुटुले ठाउँ छोड्‍नेछ। 8सुत्‍केरी हुने पीडा लागेकी स्‍त्रीझैँ तिनीहरूलाई पीडा र भय हुनेछ। डरले तिनीहरू एक-अर्कालाई हेर्नेछन् र तिनीहरूको अनुहार आगोले डढेझैँ हुनेछ। 9प्रभुको दिन उहाँको क्रोध र भयानक रिसको निष्‍ठुर दिन आइरहेको छ। पृथ्‍वी उजाड पारिनेछ र एक-एक पापी नष्‍ट हुनेछन्‌। 10#इजकिएल 32:7; मत्ती 24:29; मर्कूस 13:24,25; लूका 21:25; प्रकाश 6:12,13; 8:12आकाशका हरेक तारा र नक्षत्र मण्‍डलको ज्‍योति हराउनेछ, घाम झुल्‍कँदै कालो हुनेछ र जूनले उज्‍यालो दिनेछैन।
11परमप्रभु भन्‍नुहुन्‍छ, “म पृथ्‍वीमा विपत्ति ल्‍याउनेछु र सबै दुष्‍ट मानिसहरूलाई तिनीहरूका पापको दण्‍ड दिनेछु। हरेक घमण्‍डीको घमण्‍ड झारिदिनेछु र हरेक अहङ्कारी र निठुरीलाई दण्‍ड दिनेछु। 12बाँच्‍नेहरूलाई भेट्टाउनु सुन पाउनुभन्दा गाह्रो हुनेछ। 13त्‍यस दिन म सर्वशक्तिमान् परमप्रभुले आफ्‍नो रिस देखाउँदा आकाश थर्कमान पार्नेछु र पृथ्‍वी त्‍यसको ठाउँमा हल्‍लिनेछ।
14“बेबिलोनमा बास गर्ने विदेशीहरू आ-आफ्‍ना देशमा भागिजानेछन्। शिकारीबाट भागेका मृग र गोठाला नभएका भेडाहरूझैँ तिनीहरू छरपष्‍ट हुनेछन्। 15भेटिएको हरेक मानिस भालाले रोपेर मारिनेछ। 16तिनीहरूकै आँखा सामुन्‍ने तिनीहरूका बाल-बालिका पछारेर मारिनेछन्, तिनीहरूका घर लुटिनेछन् र तिनीहरूका स्‍वास्‍नीहरूमाथि बलात्‍कार गरिनेछ।”
17परमप्रभु भन्‍नुहुन्‍छ, “म मादीहरूलाई बेबिलोनमाथि हमला गर्न उठाउँदै छु। तिनीहरूले चाँदीको वास्‍ता गर्दैनन् र सुनको लालच गर्दैनन्। 18तिनीहरूले धनु-काँड चलाई जवान मानिसहरूलाई मार्नेछन्। तिनीहरूले बच्‍चालाई दया देखाउनेछैनन् र साना केटाकेटीहरूलाई टिठ्याउनेछैनन्। 19#उत्‍पत्ति 19:24बेबिलोन सबैभन्दा सुन्‍दर राज्‍य हो। त्‍यसका देशवासीले त्‍यसमा गर्व गर्छन्। तर म परमप्रभुले सदोम र गमोरालाई झैँ त्‍यसलाई भताभुङ्ग पार्नेछु। 20त्‍यहाँ फेरि कसैले बास गर्नेछैन। कुनै पनि डुलिहिँड्‍ने अरबीले त्‍यहाँ आफ्‍ना पाल टाँग्‍नेछैन। कुनै गोठालोले त्‍यहाँ आफ्‍ना पशुहरू चराउनेछैन। 21#यशैया 34:14; सपन्‍याह 2:14; प्रकाश 18:2त्‍यस ठाउँमा मरुभूमिका जन्‍तुहरूले बास गर्नेछन् र लाटोकोसेराहरूले गुँड लाउनेछन्। शुतुरमुर्गहरू त्‍यहाँ बास गर्नेछन् र त्‍यहाँका भत्‍किएका घरहरूमा जङ्गली बाख्रा नाँच्‍नेछन्। 22त्‍यसका किल्‍ला र महलहरूमा स्‍याल र फ्‍याउराहरूको सोर गुन्‍जिएर फर्किनेछ। बेबिलोनको समय नजिक आएको छ, त्‍यसको दिन अब धेरै छैन।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in