YouVersion Logo
Search Icon

यूहन्‍ना 18

18
येशूको गिरफ्‍तारी
मत्ती २६:४७-५६; मर्कूस १४:४३-५०; लूका २२:४७-५३
1यी कुरा भनिसकेर येशू आफ्‍ना चेलाहरूसँग किद्रोन खोल्‍सापारि जानुभयो। त्‍यहाँ एउटा बगैँचा थियो। येशू आफ्‍ना चेलाहरूसँग त्‍यहाँ प्रवेश गर्नुभयो। 2उहाँलाई पक्राइदिने यहूदाले पनि त्‍यो ठाउँ चिनेको थियो, किनभने येशू आफ्‍ना चेलाहरूसँग त्‍यहाँ धेरैजसो भेला हुनुहुन्‍थ्‍यो। 3तब बत्ती, राँको र हतियारहरू लिएका सिपाहीहरूको एक दल र मुख्‍य पूजाहारी र फरिसीहरूले पठाएका पहरेदारहरू लिएर यहूदा त्‍यहाँ आयो।
4तब आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर येशू अगि आउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कसलाई खोज्‍दैछौ?”
5तिनीहरूले उहाँलाई भने, “नासरतका येशूलाई।”
येशूले तिनीहरूलाई भन्‍नुभयो, “म उही हुँ।” अब उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो। 6जब उहाँले तिनीहरूलाई “म उही हुँ” भन्‍नुभयो, तब तिनीहरू पछि हटे, अनि भूइँमा लोटे।
7फेरि उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू कसलाई खोज्‍दैछौ?”
तिनीहरूले भने, “नासरतका येशूलाई।”
8येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिहालें, म उही हुँ। यसकारण यदि तिमीहरू मलाई खोज्‍दैछौ भने यी मानिसहरूलाई चाहिँ जान देओ।”
9 “तपाईंले मलाई दिनुभएकाहरूमध्‍ये एउटालाई पनि मैले गुमाइनँ” भनी उहाँले भन्‍नुभएको वचन पूरा होस्‌ भनेर यो भयो।
10सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्‍य पूजाहारीको कमारालाई प्रहार गरे र त्‍यसको दाहिने कान च्‍वाट्टै काटिदिए। त्‍यस कमाराको नाउँ माल्‍खस थियो।
11येशूले पत्रुसलाई भन्‍नुभयो, “तरवार म्‍यानमा हाल। के पिताले मलाई दिनुभएको कचौरा म नपिऊँ?” #मत्ती २६:३९; मर्क १४:३६; लूक २२:४२
येशू हन्‍नासकहाँ लगिनुभएको
12त्‍यसपछि सिपाहीहरूको दल, तिनीहरूका कप्‍तान, र यहूदीहरूका पहरेदारहरूले येशूलाई पक्रे, र उहाँलाई बाँधे। 13पहिले तिनीहरूले उहाँलाई हन्‍नासकहाँ लगे, जो त्‍यस सालका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए। 14यी तिनै कैयाफा थिए, जसले ‘जनताको निम्‍ति एक जना मानिस मर्नमा नै कल्‍याण छ’ भनी यहूदीहरूलाई सल्‍लाह दिएका थिए। #यूह ११:४९-५०
पत्रुसको पहिलो इन्‍कार
मत्ती २६:६९-७०; मर्कूस १४:६६-६८; लूका २२:५५-५७
15सिमोन पत्रुस र येशूका अर्का एक जना चेला येशूको पछि लागे। ती अर्काचाहिँ चेला प्रधान पूजाहारीका चिनारु थिए, र येशूसँगै प्रधान पूजाहारीको आँगनमा पसे। 16तर पत्रुस बाहिर ढोकामा उभिरहेका थिए। ती अर्काचाहिँ चेलाले, जो प्रधान पूजाहारीका चिनारु थिए, बाहिर निस्‍केर ढोकामा बस्‍ने ठिटीलाई भनेर पत्रुसलाई भित्र ल्‍याए।
17तब ढोकामा बस्‍ने त्‍यस ठिटीले पत्रुसलाई भनी, “के तिमी पनि यस मानिसका चेलाहरूमध्‍ये एक जना हौ?”
तिनले भने, “म होइनँ।”
18त्‍यहाँ कमारा र पहरेदारहरू आगोको भुङ्‌ग्रो ताप्‍दै उभिरहेका थिए, किनभने जाडो थियो। अनि पत्रुस पनि तिनीहरूसँग उभिएर आगो ताप्‍न लागे।
येशूलाई प्रधान पूजाहारीको प्रश्‍न
मत्ती २६:५९-६६; मर्कूस १४:५५-६४; लूका २२:६६-७१
19अब प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँका शिक्षाका विषयमा सोधे।
20येशूले तिनलाई जवाफ दिनुभयो, “मैले संसारलाई खुल्‍लमखुल्‍ला भनेको छु। मैले सधैँ सभाघरमा र मन्‍दिरमा शिक्षा दिएको छु, जहाँ सबै यहूदीहरू भेला हुन्‍छन्‌। मैले गुप्‍तमा केही भनेको छैनँ। 21मलाई किन सोध्‍नुहुन्‍छ? मैले तिनीहरूलाई के भनें सो सुन्‍नेहरूलाई नै सोध्‍नुहोस्‌। मैले भनेका कुराहरू यिनीहरूलाई थाहा छ।”
22येशूले यी कुरा भन्‍नुहुँदा नजिकमा उभिएका पहरेदारहरूमध्‍ये एक जनाले यसो भन्‍दै येशूलाई थप्‍पड़ लायो, “के प्रधान पूजाहारीलाई यसरी जवाफ दिन्‍छस्‌?”
23येशूले त्‍यसलाई भन्‍नुभयो, “मैले बेठीक भनेको भए त्‍यसको प्रमाण देऊ, तर यदि मैले ठीकै भनेको हुँ भने मलाई किन हिर्काउँछौ?” 24तब हन्‍नासले उहाँलाई बाधिँएकै अवस्‍थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाए।
पत्रुसको दोस्रो र तेस्रो इन्‍कार
मत्ती २६:७१-७५; मर्कूस १४:६९-७२; लूका २२:५८-६२
25सिमोन पत्रुस उभिएर आगो ताप्‍दैथिए। तिनीहरूले तिनलाई भने, “के उनका चेलाहरूमध्‍ये एक जना तिमी पनि होइनौ?”
तिनले इन्‍कार गरेर भने, “म होइनँ।”
26प्रधान पूजाहारीका कमाराहरूमध्‍ये एक जना, जसका नातेदारको कान पत्रुसले काटेका थिए, त्‍यसले सोध्‍यो, “के मैले तिमीलाई तिनीसँग बगैँचामा देखिनँ र?” 27तब फेरि पत्रुसले इन्‍कार गरे। अनि तुरुन्‍तै भाले बास्‍यो।
पिलातसको अगि येशू
मत्ती २७:१-२,११-१४; मर्कूस १५:१-५; लूका २३:१-५
28तब तिनीहरूले येशूलाई कैयाफाको घरबाट महलतिर लगे। त्‍यति बेला बिहानपख थियो। बिटुलिएर निस्‍तार-चाड़को भोज खान पाउँदैनौं भन्‍ने डरले तिनीहरू महलभित्र पसेनन्‌। 29यसकारण तिनीहरूकहाँ बाहिर निस्‍केर पिलातसले भने, “यस मानिसको विरुद्धमा तिमीहरू के अभियोग लाउँछौ?”
30तिनीहरूले उनलाई भने, “यदि यो मानिस अपराधी नभए हामी यसलाई तपाईंकहाँ सुम्‍पनेथिएनौं।”
31पिलातसले तिनीहरूलाई भने, “तिमीहरू यिनलाई लैजाओ, र तिमीहरूको आफ्‍नै व्‍यवस्‍थाबमोजिम यिनको इन्‍साफ गर।”
यहूदीहरूले उनलाई भने, “कुनै मानिसलाई प्राणदण्‍ड दिने अधिकार हामीलाई छैन।” 32उहाँको मृत्‍यु कुन रीतिले हुनेछ त्‍यसको सङ्केत दिएर उहाँले भन्‍नुभएको वचन पूर्ण होस्‌ भनेर यसो भएको थियो।#यूह ३:१४; १२:३२
33पिलातस फेरि महलभित्र पसे, र उनले येशूलाई बोलाएर भने, “के तिमी यहूदीहरूका राजा हौ?”
34येशूले जवाफ दिनुभयो, “तपाईं आफै यसो भन्‍नुहुन्‍छ, वा मेरो विषयमा तपाईंलाई अरू कसैले भने?”
35पिलातसले जवाफ दिए, “के म यहूदी हुँ र? तिम्रै जाति र मुख्‍य पूजाहारीहरूले तिमीलाई मेरो हातमा सुम्‍पिदिए। तिमीले के गर्‍यौ?”
36येशूले जवाफ दिनुभयो, “मेरो राज्‍य यस संसारको होइन। मेरो राज्‍य यस संसारको हुँदो हो त मेरा सेवकहरू मेरो निम्‍ति लड्‌नेथिए, र म यहूदीहरूका हातमा पर्नेथिइनँ। तर मेरो राज्‍य यस संसारको होइन।”
37पिलातसले उहाँलाई सोधे, “के तिमी राजा नै हौ त?”
येशूले जवाफ दिनुभयो, “म राजा हुँ भनी तपाईं नै भन्‍नुहुन्‍छ। यसैको निम्‍ति म जन्‍मेको हुँ, र यसैको निम्‍ति सत्‍यको गवाही दिन म यस संसारमा आएको हुँ। प्रत्‍येक जो सत्‍यको पक्षमा छ, त्‍यसले मेरो सोर सुन्‍छ।”
38पिलातसले उहाँलाई सोधे, “सत्‍य के हो?” यति भनेर उनी यहूदीहरूकहाँ बाहिर निस्‍केर गए, र तिनीहरूलाई भने, “म यिनमा केही दोष भेट्टाउँदिनँ। 39निस्‍तार-चाड़मा एक जनालाई मैले तिमीहरूका निम्‍ति छोडिदिने तिमीहरूको प्रथा छ। त के तिमीहरू चाहन्‍छौ, कि यहूदीहरूका राजालाई छोडिदिऊँ?”
40तर तिनीहरू फेरि यसो भन्‍दै कराए, “यसलाई होइन, तर बारब्‍बालाई।” बारब्‍बाचाहिँ डाँकू थियो।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy