हाग्गै 2
2
1सातौँ महिनाको एक्काइसौँ दिनमा, याहवेहको वचन अगमवक्ता हाग्गैद्वारा आयो: 2“शालतिएलको छोरा, यहूदाका राज्यपाल यरुबाबेल, यहोसादाकको छोरा, प्रधान पुजारी, यहोशू र बाँकिरहेका मानिसहरूसँग कुरा गर्। तिनीहरूलाई सोध्, 3‘तिमीहरूमध्ये यहाँ को बाँकी रहेको छ, जसले यस भवनको पहिलेको महिमा देखेको थियो? अहिलेको भवन तिमीहरूलाई कस्तो लाग्यो? के तिमीहरूलाई यो केही पनि होइन जस्तो लाग्छ? 4तर अहिले ए यरुबाबेल, साहस गर्,’ भनी याहवेह भन्नुहुन्छ। ‘ए यहोसादाकको छोरा, प्रधान पुजारी यहोशू साहस गर्। यस देशका सबै बाँकी रहेका मानिसहरू हो, साहसी होओ, र काम सुरु गर,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘किनकि म तिमीहरूको साथमा छु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ। 5‘तिमीहरू इजिप्टबाट निस्केर आउँदा मैले तिमीहरूसँग यही करार बाँधेको थिएँ। अनि मेरो आत्मा तिमीहरूका बीचमा छ। तिमीहरू भयभीत नहोओ।’
6“सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘केही बेरपछि फेरि एक पल्ट म आकाश र पृथ्वी, समुद्र र सुक्खा जमिनलाई हल्लाउनेछु। 7म सबै राष्ट्रहरूलाई हल्लाउनेछु, र ती राष्ट्रहरूबाट आफूलाई इच्छा लागेका बहुमूल्य धनसम्पत्तिसहित मानिसहरू आउनेछन्; अनि म यस भवनलाई महिमाले भर्नेछु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ। 8‘चाँदी मेरो हो, र सुन पनि मेरै हो,’ सेनाहरूका याहवेह भन्नुहुन्छ। 9‘यो वर्तमान भवनको महिमा पहिलेको भवनको भन्दा अझ बढी हुनेछ,’ सेनाहरूका याहवेह भन्नुहुन्छ। ‘अनि म यस भवनमा शान्ति प्रदान गर्नेछु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ।”
अशुद्ध मानिसहरूका निम्ति आशिष्
10दारा राजाको शासनकालको दोस्रो वर्षको नवौँ महिनाको चौबीसौँ दिनमा, याहवेहको यो वचन हाग्गै अगमवक्ताकहाँ आयो: 11“सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: व्यवस्थाले के भन्छ सो पुजारीहरूलाई सोध्: 12‘यदि कसैले आफ्नो कपडाको किनारामा पवित्र मासु बोक्छ; अनि त्यस कपडाको किनारले रोटी, सुरुवा, दाखमद्य, जैतुन तेल वा अन्य कुनै पनि खानेकुरा छोयो भने के त्यो खानेकुरा पवित्र हुन्छ र?’ ”
पुजारीहरूले जवाफ दिए, “हुँदैन!”
13तब हाग्गैले सोधे, “यदि मृत शरीर छोएर अशुद्ध भएको मानिसले यस्तो कुनै एउटा चीजलाई छोयो भने के त्यो अशुद्ध हुन्छ?”
पुजारीले जवाफ दिए, “हजुर, त्यो अशुद्ध हुन्छ।”
14तब हाग्गैले भने, “ ‘मेरो नजरमा यी मानिसहरू र यो राष्ट्रहरू पनि त्यस्तै हुन्,’ याहवेह भन्नुहुन्छ। ‘तिनीहरूले जे गर्छन्, र तिनीहरूले जे चढाउँछन्, सबै थोक अशुद्ध छन्।
15“ ‘अब आजको दिनदेखि उसो यस कुरामा होसियारीसाथ विचार गर; याहवेहको मन्दिर बनाउँदा एक ढुङ्गामाथि अर्को ढुङ्गा राख्दा अगिको अवस्था कस्तो थियो, सो विचार गर। 16त्यस समयमा जब कोही अन्नको थुप्रोमा बीस किलो अन्न लिन आउँथ्यो, तब दश किलो मात्र पाउँदथ्यो। जब कसैले दाखमद्यको कोलमा गएर पचास लिटर लिन चाहन्थ्यो भने केवल बीस लिटर मात्र पाउँदथ्यो। 17मैले तिमीहरूका हातबाट गरेका काममाथि रोग, ढुसी र असिनाले प्रहार गरेँ, तर पनि तिमीहरू मतिर फर्केनौ,’ याहवेह घोषणा गर्नुहुन्छ। 18‘आजको दिन नवौँ महिनाको चौबीसौँ दिनदेखि यता, त्यस दिनको बारेमा होसियारीसाथ विचार गर, जुन दिन याहवेहको मन्दिरको जग बसालिएको थियो, ती होसियारीसाथ विचार गर: 19के अझै पनि भकारीमा केही बिउ बाँकी रहेको छ? आजसम्म दाखको बोट, नेभाराको बोट, अनार र जैतुनका बोटले फल फलाएको छैन।
“ ‘तर आजको दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु।’ ”
यरुबाबेल याहवेहको औँठी-छाप
20नवौँ महिनाको चौबीसौँ दिनमा, दोस्रो पटक याहवेहको वचन हाग्गैकहाँ आयो: 21“यहूदाका राज्यपाल यरुबाबेललाई भन्, म स्वर्ग र पृथ्वीलाई हल्लाउनेछु। 22म राजगद्दीहरू पल्टाइदिनेछु, र विदेशी राज्यहरूका शक्ति चकनाचुर पारिदिनेछु। म रथ र सारथीहरू पल्टाइदिनेछु; अनि घोडा र तिनका सारथीहरू आफ्नै भाइका तरवारद्वारा मारिनेछन्।
23“ ‘त्यस दिन,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘मेरो सेवक, शालतिएलको छोरो, यरुबाबेल, म तँलाई लिनेछु’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘र तँलाई मेरो औँठी-छापजस्तै बनाउनेछु; किनकि मैले तँलाई रोजेको छु,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।”
Markert nå:
हाग्गै 2: NCV
Marker
Kopier
Sammenlign
Del
Vil du ha høydepunktene lagret på alle enhetene dine? Registrer deg eller logg på
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.