जकरिया 1
1
याहवेहमा फर्कनलाई आह्वान
1दारा राजाको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा, अगमवक्ता जकरियाकहाँ आयो:
2“याहवेह तेरा पितापुर्खाहरूसँग अति क्रोधित हुनुभएको थियो। 3त्यसैकारण मानिसहरूलाई भन्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘मकहाँ फर्क,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म तिमीहरूकहाँ फर्कनेछु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ। 4तिमीहरूका पितापुर्खाहरू जस्ता नहोओ, जसलाई पहिलेका अगमवक्ताहरूले यसरी घोषणा गरेका थिए: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरूका दुष्ट चालहरूबाट र तिमीहरूका दुष्ट कामहरूबाट फर्क।’ तर तिनीहरूले मेरो कुरा सुनेनन् अथवा मेरा कुरामा ध्यानै दिएनन्, याहवेह घोषणा गर्नुहुन्छ। 5तिमीहरूका पितापुर्खाहरू अहिले कहाँ छन्? अनि ती अगमवक्ताहरू, के तिनीहरू सदा जीवित छन्? 6तर हेर मैले आफ्ना सेवक, अगमवक्ताहरूलाई आज्ञा दिएका मेरा वचनहरू र आदेशहरू के तिमीहरूका पितापुर्खाहरू माथि आइलागेनन् र?
“त्यसपछि तिनीहरूले पश्चात्ताप गरे र भने, ‘आफूले निश्चय गर्नुभएझैँ, सेनाहरूका याहवेहले हाम्रा चालहरू र कामहरूअनुसार हामीलाई सुहाउने व्यवहार गर्नुभएको छ।’ ”
मेहदीका रूखहरूको बीचमा भएको मानिस
7दारा राजाको शासनकालको दोस्रो वर्षको एघारौँ महिना, अर्थात् शबात महिनाको चौबीसौँ दिनमा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा अगमवक्ता जकरियाकहाँ आयो।
8रातको समयमा मैले दर्शन देखेँ, र त्यहाँ मेरो सामु रातो घोडामाथि सवार भएका एक जना मानिस थिए। तिनी खोल्साका मेहदीका रूखहरूका बीचमा उभिरहेका थिए। तिनको पछिल्तिर राता, खैरा र सेता घोडाहरू थिए।
9मैले सोधेँ, “मेरो प्रभु, यी के हुन्?”
मसँग कुरा गरिरहने स्वर्गदूतले जवाफ दिए, “म तिमीलाई देखाउनेछु कि तिनीहरू के हुन्।”
10तब मेहदीका रूखहरूका बीचमा उभिरहेका मानिसले जवाफ दिए, “यिनीहरू तिनै हुन्, जसलाई याहवेहले पृथ्वीका चारैतिर जाऊन् भनी पठाउनुभएको हो।”
11अनि तिनीहरूले मेहदीका रूखहरूका बीचमा उभिरहेका याहवेहका स्वर्गदूतलाई बताए, “हामी पृथ्वीभरि गयौँ, र सारा संसार विश्राम र शान्तिमा रहेको भेट्टायौँ।”
12त्यसपछि याहवेहका स्वर्गदूतले भने, “हे सेनाहरूका याहवेह, तपाईंले कहिलेसम्म यरूशलेम र यहूदाका सहरहरूबाट आफ्नो कृपा रोकिराख्नुहुन्छ, जससित तपाईं यी सत्तरी वर्षदेखि रिसाउनुभएको छ?” 13यसकारण मसँग कुरा गर्ने ती स्वर्गदूतसित याहवेहले दयालु र सान्त्वनाका वचनहरू बोल्नुभयो।
14तब मसँग कुरा गरिरहने स्वर्गदूतले भने, “यो वचन घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘म यरूशलेम र सियोनको निम्ति अति डाही भएको छु, 15तर ती राष्ट्रहरू, जसले सुरक्षित छौँ भनेर सोचिरहेका छन्, तिनीहरूप्रति म अति क्रोधित छु। म मेरा मानिसहरूसँग धेरै रिसाएको थिइनँ, तर अरू राष्ट्रहरूले तिनीहरूको सङ्कष्टलाई झन् बढाइदिए।’
16“यसकारण याहवेह यसो भन्नुहुन्छ: ‘म कृपालु भएर यरूशलेममा फर्कनेछु, र त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। अनि नाप्ने डोरीले यरूशलेमलाई नापिनेछ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
17“यसो भन्दै अझै घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘मेरा सहरहरू फेरि समृद्धिले भरिनेछन्, र याहवेहले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र यरूशलेमलाई चुन्नुहुनेछ।’ ”
चार वटा सिङ र चार जना कारिगरहरू
18त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो सामु चार वटा सिङहरू थिए! 19मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, “यी के हुन्?”
“तिनले मलाई जवाफ दिए, यी सिङहरू हुन्, जसले यहूदा, इस्राएल र यरूशलेमलाई तितरबितर पारिदिएका थिए।”
20तब याहवेहले मलाई चार जना कारिगरहरू देखाउनुभयो। 21मैले सोधेँ, “यिनीहरू के गर्न आउँदैछन्?”
उहाँले मलाई जवाफ दिनुभयो, “यहूदालाई तितरबितर पारिदिने यी सिङहरू नै हुन्, जसले गर्दा कसैले पनि आफ्नो शिर उठाउन सकेन, तर यहूदाका मानिसहरूलाई तितरबितर पार्ने यहूदाको देशको विरुद्धमा आफ्ना सिङहरू उठाउने राष्ट्रहरूलाई त्रसित तुल्याउन र फ्याँकिदिनलाई यी कारिगरहरू आएका हुन्।”
Markert nå:
जकरिया 1: NCV
Marker
Kopier
Sammenlign
Del
Vil du ha høydepunktene lagret på alle enhetene dine? Registrer deg eller logg på
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.