उत्पत्ति 49:1-10

उत्पत्ति 49:1-10 NCV

तब याकोबले आफ्ना छोराहरूलाई बोलाएर भने: “तिमीहरू भेला होओ, र आउँदा दिनहरूमा तिमीहरूलाई के-के हुनेछ, त्यो म भन्‍नेछु। “याकोबका छोराहरू हो! भेला होओ, र सुन; तिमीहरूका पिता इस्राएलका कुरा सुन। “रूबेन, तँ मेरो जेठा छोरा होस्, मेरो शक्ति, मेरो बलको पहिलो चिन्ह, सम्मानमा विशिष्‍ट, र शक्तिमा विशिष्‍ट। तँ पानीझैँ चञ्चल छस्; यसैले इज्जत रहनेछैन; किनकि तँ आफ्ना पिताको ओछ्यानमा चढिस्, मेरो पलङमा चढिस् र त्यसलाई अशुद्ध पारिस्। “शिमियोन र लेवी दाजुभाइहरू हुन्; तिनीहरूका तरवारहरू हिंसाका हतियारहरू हुन्। म तिनीहरूको सभामा नपसूँ, म तिनीहरूका परिषद्‌मा सामेल नबनूँ; किनकि तिनीहरूले रिसमा मानिसहरू मारेका छन्। अनि खेलवाड गरेर गोरुहरूका ढोडनसा काटेका छन्। तिनीहरूको यति डरलाग्दो रिस, तिनीहरूको निष्‍ठुर क्रोधमाथि श्राप परोस्! म तिनीहरूलाई याकोबमा छरपस्ट पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु। “यहूदा, तेरा दाजुभाइहरूले तँलाई प्रशंसा गर्नेछन्; तेरो हात तेरा शत्रुहरूको गर्दनमा हुनेछ; तेरा पिताका छोराहरूले तँलाई दण्डवत् गर्नेछन्। ए यहूदा, तँ सिंहको डमरुजस्तै छस्; मेरो छोरा, तँ शिकारबाट फर्कन्छस्। त्यो सिंहझैँ झुक्दछ, सिंहनीझैँ आराम गर्न लमतन्‍न पर्दछ—कसले उसलाई जगाउने आँट गर्ला? यहूदाको हातबाट राजदण्ड हट्नेछैन, न त शासकको लहुरो त्यसका खुट्टाहरूका बीचबाट हट्नेछ, जबसम्म यी जसका हुन्, ती आउँदैनन्, अनि जातिहरू उहाँमा आज्ञाकारी बन्‍नेछन्।

उत्पत्ति 49 पढ्नुहोस्