उत्पत्ति 49:1-10
उत्पत्ति 49:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब याकूबले आफ्ना छोराहरूलाई बोलाएर भने, तिमीहरू यहाँ जम्मा होओ, र पछिल्ला दिनहरूमा तिमीहरूमाथि के आइपर्नेछ सो म भनूँला। हे याकूबका छोरा हो, जम्मा भएर सुन, तिमीहरूका बुबा इस्राएलले भनेका सुन। रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको पहिलो फल, गौरव र शक्तिमा सर्वप्रमुख। पानीजस्तो चञ्चल तँ, तेरो प्रतिष्ठा कायम रहनेछैन, किनभने तेरा बुबाको पलङ्गमा तँ चढ़िस्, र त्यो अशुद्ध पारिस्— तँ मेरो ओछ्यानमा चढ़िस्! शिमियोन र लेवी दाजुभाइ हुन्, तिनका तरवार नै उपद्रवका हतियार हुन्, ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको सङ्गतमा नलाग्, किनकि आफ्नो रीसमा तिनीहरूले मानिसहरूलाई मारेका छन्, तिनीहरूले आफूखुशी गरेर गोरुहरूका ढोड़नसा काटेका छन्। तिनीहरूको रीसमाथि श्राप परोस्, किनभने त्यो भयानक छ, र तिनीहरूका क्रोधमाथि, किनकि त्यो निष्ठुर छ। तिनीहरूलाई म याकूबमा छिन्न-भिन्न पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु। ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन्, तेरो हातले तेरा शत्रुहरूका गर्दन पक्रनेछ, तेरै बुबाका छोराहरू तेरो सामुन्ने निहुरिनेछन्। यहूदा सिंहको डमरु हो। ए मेरो छोरो, शिकारबाट तँ आएको छस्, त्यो निहुरिन्छ, र सिंहझैँ लेटिरहन्छ, अँ, सिंहनीझैँ— कसले त्यसलाई उठाउने आँट गर्छ? यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउँदैनन्। र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्।
उत्पत्ति 49:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याकोबले आफ्ना छोराहरूलाई बोलाएर भने: “तिमीहरू भेला होओ, र आउँदा दिनहरूमा तिमीहरूलाई के-के हुनेछ, त्यो म भन्नेछु। “याकोबका छोराहरू हो! भेला होओ, र सुन; तिमीहरूका पिता इस्राएलका कुरा सुन। “रूबेन, तँ मेरो जेठा छोरा होस्, मेरो शक्ति, मेरो बलको पहिलो चिन्ह, सम्मानमा विशिष्ट, र शक्तिमा विशिष्ट। तँ पानीझैँ चञ्चल छस्; यसैले इज्जत रहनेछैन; किनकि तँ आफ्ना पिताको ओछ्यानमा चढिस्, मेरो पलङमा चढिस् र त्यसलाई अशुद्ध पारिस्। “शिमियोन र लेवी दाजुभाइहरू हुन्; तिनीहरूका तरवारहरू हिंसाका हतियारहरू हुन्। म तिनीहरूको सभामा नपसूँ, म तिनीहरूका परिषद्मा सामेल नबनूँ; किनकि तिनीहरूले रिसमा मानिसहरू मारेका छन्। अनि खेलवाड गरेर गोरुहरूका ढोडनसा काटेका छन्। तिनीहरूको यति डरलाग्दो रिस, तिनीहरूको निष्ठुर क्रोधमाथि श्राप परोस्! म तिनीहरूलाई याकोबमा छरपस्ट पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु। “यहूदा, तेरा दाजुभाइहरूले तँलाई प्रशंसा गर्नेछन्; तेरो हात तेरा शत्रुहरूको गर्दनमा हुनेछ; तेरा पिताका छोराहरूले तँलाई दण्डवत् गर्नेछन्। ए यहूदा, तँ सिंहको डमरुजस्तै छस्; मेरो छोरा, तँ शिकारबाट फर्कन्छस्। त्यो सिंहझैँ झुक्दछ, सिंहनीझैँ आराम गर्न लमतन्न पर्दछ—कसले उसलाई जगाउने आँट गर्ला? यहूदाको हातबाट राजदण्ड हट्नेछैन, न त शासकको लहुरो त्यसका खुट्टाहरूका बीचबाट हट्नेछ, जबसम्म यी जसका हुन्, ती आउँदैनन्, अनि जातिहरू उहाँमा आज्ञाकारी बन्नेछन्।
उत्पत्ति 49:1-10 पवित्र बाइबल (NERV)
तब याकूबले सबै छोराहरूलाई बोलाए। उनले भने, “मेरा सबै छोराहरू मकहाँ आऊ। भविष्यमा के हुनेवाला छ म त्यो भन्ने छु। “हे याकूबका छोराहरू, तिमीहरू सँगै आऊ, अनि तिम्रा बाबु इस्राएलले भनेको सुन। “रूबेन, तँ मेरो जेठो छोरो होस्, तँ मेरो जेठो छोरो साथै मेरो शक्तिको पहिलो प्रमाण होस्। तँमेरा छोराहरू मध्ये सबै भन्दा गौरव शालि, अनि शक्तिशाली हुन्छस्। तर तेरो महत्वपूर्ण शक्ति बाढीको पानी जस्तै शक्तिशाली थियो तर तैंले त्यसलाई बचाई राख्न सकिनस्। यहीकारण तँ अरू छोराहरूभन्दा महत्वपूर्ण छैनस्। तँ आफ्नो बुबाको ओछ्यानमा चढिस् अनि उनकी एउटी पत्नीसित सुतिस्। तँ मेरो ओछ्यानमा गइस् अनि त्यसलाई भ्रष्ट पारिस्। “शिमोन र लेवी दाज्यू-भाइ हुन्। तिनीहरू आफ्नो तरवार लिएर खेल्न रूचाउँछन्। तिनीहरूको दुष्ट योजनामा म भाग लिनु चाहँदिनँ अनि तिनीहरूको सभामा उपस्थित हुनु चाहँदिन किनभने तिनीहरू आफू रिसाउँदा मानिसहरू मार्छन्। अनि आफ्नो आनन्दका लागि तिनीहरू प्राणीहरूलाई दुःख दिन्छन्। तिनीहरूलाई रिसको सराप परेको छ किनभने यो साह्रै उग्र हुन्छ। जब तिनीहरू रिसले बौलाहा भए, तिनीहरू साह्रै निर्दयी भए। तिनीहरू याकूबको भूमिमा आफ्नो अंश पाउने छैनन्। तिनीहरू याकूबको भूमिमा छरपस्ट हुनेछन्। “हे यहूदा, तेरा दाज्यू-भाइहरूले तेरो प्रशंसा गर्नेछन्। तैंले तेरा शत्रुहरूलाई ध्वंश पार्नेछस्। तेरा दाज्यू-भाइहरू तेरो अघि नतमस्तक हुनेछन्। यहूदा तँ सिंह जस्तै छस्। मेरो छोरा, तँ त्यो सिंह जस्तो देखिन्छस् जो आफूले मारेको जनावरमाथि उभिंदा देखिन्छ। तँ जब आराम गर्न ढल्किन्छस तँ सिंह जस्तै देखिन्छस्, अनि कसैले तेरो विरोध गर्ने साहस गर्दैन। यहूदाको परिवारबाट राजाहरू हुनेछन्। राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन, जब सम्म एकजना वास्तविक राजा आउनु हुँदैन। तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्।
उत्पत्ति 49:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
याकूबले आफ्ना छोराहरूलाई बोलाएर भने, “यहाँ भेला होओ र आउने समयमा तिमीहरूलाई के हुनेछ, सो म भन्नेछु: “एक साथ भेला भएर सुन, हे याकूबका छोराहरू हो! तिमीहरूका बुबा इस्राएलको कुरा सुन। “रूबेन मेरो जेठो छोरो, तँ मेरो बल होस्, मेरो जवानीका दिनको पहिलो छोरो, मेरा छोराहरूमा सबैभन्दा बलियो र गौरवपूर्ण! तँ उर्लंदो पानीको भलजस्तो छस्, तर तँ सबैभन्दा मुख्यचाहिँ हुनेछैनस् किनभने तँ मेरो रखेलसित सुतिस् र आफ्ना बुबाको ओछ्यानलाई अपमान गरिस्। “शिमियोन र लेवी दाजुभाइ हुन्, हिँसा गर्नलाई तिनीहरूले आफ्ना हतियार चलाउँदछन्। तिनीहरूको गुप्त बातचित र सभामा म बस्नेछैनँ किनभने तिनीहरूले रिसमा मानिस मारे र खेलवाड गरेर गोरुहरूलाई घाइते बनाए। तिनीहरूको रिसमाथि सराप परोस् किनभने त्यो डरलाग्दो छ, तिनीहरूको क्रोधमाथि सराप परोस् किनभने त्यो औधी निठुर छ। तिनीहरूलाई म सारा इस्राएलमा छरपष्ट पार्नेछु र तिनीहरूको बीचमा तितर-बितर पार्नेछु। यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन्। तेरा शत्रुहरूलाई तैँले घोक्रो अँठ्याएर राख्नेछस्, तेरा दाजुभाइले तँलाई ढोग्नेछन्, यहूदा सिंहजस्तो छ, जुन सिंह, शिकार मारेर आफ्नो गुफामा फर्कन्छ, पाउ पसारेर भूइँमा सुत्दछ र कसैले त्यसलाई चलाउन आँट गर्दैन। यहूदाले राज-दण्ड लिनेछ र त्यसको सन्तानले सधैँ राज्य गर्नेछन्। देश-देशले त्यसकहाँ कर ल्याउनेछन् र आज्ञापालन गरेर त्यसको अघि शिर निहुराउनेछन्।