उत्पत्तिको पुस्तक 49:1-10
उत्पत्तिको पुस्तक 49:1-10 NERV
तब याकूबले सबै छोराहरूलाई बोलाए। उनले भने, “मेरा सबै छोराहरू मकहाँ आऊ। भविष्यमा के हुनेवाला छ म त्यो भन्ने छु। “हे याकूबका छोराहरू, तिमीहरू सँगै आऊ, अनि तिम्रा बाबु इस्राएलले भनेको सुन। “रूबेन, तँ मेरो जेठो छोरो होस्, तँ मेरो जेठो छोरो साथै मेरो शक्तिको पहिलो प्रमाण होस्। तँमेरा छोराहरू मध्ये सबै भन्दा गौरव शालि, अनि शक्तिशाली हुन्छस्। तर तेरो महत्वपूर्ण शक्ति बाढीको पानी जस्तै शक्तिशाली थियो तर तैंले त्यसलाई बचाई राख्न सकिनस्। यहीकारण तँ अरू छोराहरूभन्दा महत्वपूर्ण छैनस्। तँ आफ्नो बुबाको ओछ्यानमा चढिस् अनि उनकी एउटी पत्नीसित सुतिस्। तँ मेरो ओछ्यानमा गइस् अनि त्यसलाई भ्रष्ट पारिस्। “शिमोन र लेवी दाज्यू-भाइ हुन्। तिनीहरू आफ्नो तरवार लिएर खेल्न रूचाउँछन्। तिनीहरूको दुष्ट योजनामा म भाग लिनु चाहँदिनँ अनि तिनीहरूको सभामा उपस्थित हुनु चाहँदिन किनभने तिनीहरू आफू रिसाउँदा मानिसहरू मार्छन्। अनि आफ्नो आनन्दका लागि तिनीहरू प्राणीहरूलाई दुःख दिन्छन्। तिनीहरूलाई रिसको सराप परेको छ किनभने यो साह्रै उग्र हुन्छ। जब तिनीहरू रिसले बौलाहा भए, तिनीहरू साह्रै निर्दयी भए। तिनीहरू याकूबको भूमिमा आफ्नो अंश पाउने छैनन्। तिनीहरू याकूबको भूमिमा छरपस्ट हुनेछन्। “हे यहूदा, तेरा दाज्यू-भाइहरूले तेरो प्रशंसा गर्नेछन्। तैंले तेरा शत्रुहरूलाई ध्वंश पार्नेछस्। तेरा दाज्यू-भाइहरू तेरो अघि नतमस्तक हुनेछन्। यहूदा तँ सिंह जस्तै छस्। मेरो छोरा, तँ त्यो सिंह जस्तो देखिन्छस् जो आफूले मारेको जनावरमाथि उभिंदा देखिन्छ। तँ जब आराम गर्न ढल्किन्छस तँ सिंह जस्तै देखिन्छस्, अनि कसैले तेरो विरोध गर्ने साहस गर्दैन। यहूदाको परिवारबाट राजाहरू हुनेछन्। राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन, जब सम्म एकजना वास्तविक राजा आउनु हुँदैन। तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्।

