उत्पत्ति 49:1-10
उत्पत्ति 49:1-10 NNRV
तब याकूबले आफ्ना छोराहरूलाई बोलाएर भने, तिमीहरू यहाँ जम्मा होओ, र पछिल्ला दिनहरूमा तिमीहरूमाथि के आइपर्नेछ सो म भनूँला। हे याकूबका छोरा हो, जम्मा भएर सुन, तिमीहरूका बुबा इस्राएलले भनेका सुन। रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको पहिलो फल, गौरव र शक्तिमा सर्वप्रमुख। पानीजस्तो चञ्चल तँ, तेरो प्रतिष्ठा कायम रहनेछैन, किनभने तेरा बुबाको पलङ्गमा तँ चढ़िस्, र त्यो अशुद्ध पारिस्— तँ मेरो ओछ्यानमा चढ़िस्! शिमियोन र लेवी दाजुभाइ हुन्, तिनका तरवार नै उपद्रवका हतियार हुन्, ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको सङ्गतमा नलाग्, किनकि आफ्नो रीसमा तिनीहरूले मानिसहरूलाई मारेका छन्, तिनीहरूले आफूखुशी गरेर गोरुहरूका ढोड़नसा काटेका छन्। तिनीहरूको रीसमाथि श्राप परोस्, किनभने त्यो भयानक छ, र तिनीहरूका क्रोधमाथि, किनकि त्यो निष्ठुर छ। तिनीहरूलाई म याकूबमा छिन्न-भिन्न पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु। ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन्, तेरो हातले तेरा शत्रुहरूका गर्दन पक्रनेछ, तेरै बुबाका छोराहरू तेरो सामुन्ने निहुरिनेछन्। यहूदा सिंहको डमरु हो। ए मेरो छोरो, शिकारबाट तँ आएको छस्, त्यो निहुरिन्छ, र सिंहझैँ लेटिरहन्छ, अँ, सिंहनीझैँ— कसले त्यसलाई उठाउने आँट गर्छ? यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउँदैनन्। र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्।

