उत्पत्ति 49:1-10
उत्पत्ति 49:1-10 सरल नेपाली
याकूबले आफ्ना छोराहरूलाई बोलाएर भने, “यहाँ भेला होओ र आउने समयमा तिमीहरूलाई के हुनेछ, सो म भन्नेछु: “एक साथ भेला भएर सुन, हे याकूबका छोराहरू हो! तिमीहरूका बुबा इस्राएलको कुरा सुन। “रूबेन मेरो जेठो छोरो, तँ मेरो बल होस्, मेरो जवानीका दिनको पहिलो छोरो, मेरा छोराहरूमा सबैभन्दा बलियो र गौरवपूर्ण! तँ उर्लंदो पानीको भलजस्तो छस्, तर तँ सबैभन्दा मुख्यचाहिँ हुनेछैनस् किनभने तँ मेरो रखेलसित सुतिस् र आफ्ना बुबाको ओछ्यानलाई अपमान गरिस्। “शिमियोन र लेवी दाजुभाइ हुन्, हिँसा गर्नलाई तिनीहरूले आफ्ना हतियार चलाउँदछन्। तिनीहरूको गुप्त बातचित र सभामा म बस्नेछैनँ किनभने तिनीहरूले रिसमा मानिस मारे र खेलवाड गरेर गोरुहरूलाई घाइते बनाए। तिनीहरूको रिसमाथि सराप परोस् किनभने त्यो डरलाग्दो छ, तिनीहरूको क्रोधमाथि सराप परोस् किनभने त्यो औधी निठुर छ। तिनीहरूलाई म सारा इस्राएलमा छरपष्ट पार्नेछु र तिनीहरूको बीचमा तितर-बितर पार्नेछु। यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन्। तेरा शत्रुहरूलाई तैँले घोक्रो अँठ्याएर राख्नेछस्, तेरा दाजुभाइले तँलाई ढोग्नेछन्, यहूदा सिंहजस्तो छ, जुन सिंह, शिकार मारेर आफ्नो गुफामा फर्कन्छ, पाउ पसारेर भूइँमा सुत्दछ र कसैले त्यसलाई चलाउन आँट गर्दैन। यहूदाले राज-दण्ड लिनेछ र त्यसको सन्तानले सधैँ राज्य गर्नेछन्। देश-देशले त्यसकहाँ कर ल्याउनेछन् र आज्ञापालन गरेर त्यसको अघि शिर निहुराउनेछन्।

