उत्पत्ति 42:29-38

उत्पत्ति 42:29-38 NCV

जब उनीहरू कनान देशमा आफ्ना पिता याकोबकहाँ आइपुगे, तब उनीहरूले आफूमाथि जे घटना भएको थियो, ती सबै बताए; अनि भने, “त्यस देशका मालिकले हामीसित रुखो बोली बोले, र हामी त्यस देशमा जासुसी गर्न गएझैँ व्यवहार गरे। तर हामीले तिनलाई भन्यौँ, ‘हामी जासुसहरू होइनौँ; तर इमानदार मानिसहरू हौँ। हामी बाह्र जना दाजुभाइहरू एकै पिताका छोराहरू हौँ। एउटा भाइ मरिसक्यो, र कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासित छ।’ “तब त्यस देशका मालिकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी म यसरी जान्‍नेछु: तिमीहरूका दाजुभाइहरूमध्ये एक जनालाई यहाँ मसित छोड, र बाँकीचाहिँ भोकले ग्रस्त भएको आफ्ना घरानाका निम्ति अन्‍न लिएर जाओ। अनि तिमीहरूको कान्छो भाइलाई मकहाँ ल्याओ, र तिमीहरू जासुस होइन रहेछौ, तर इमानदार मानिसहरू रहेछौ भनी म जान्‍नेछु। तब म तिमीहरूको भाइलाई तिमीहरूकहाँ फर्काइदिनेछु, र तिमीहरूले यस देशमा स्वतन्त्र भएर लेनदेन गर्न सक्नेछौ।’ ” उनीहरूले जब आफ्ना बोराहरू खाली गर्दैथिए; हरेकको बोराभित्र आ-आफ्नो पैसाको थैली रहेछ! जब उनीहरूले र उनीहरूका पिताले पैसाको थैलीहरू देखे, तब उनीहरू भयभीत भए। उनीहरूका पिता याकोबले उनीहरूलाई भने, “तिमीहरूले मलाई मेरा छोराहरूदेखि वञ्चित गरायौ। योसेफ छैन; अनि अब यहाँ शिमियोन पनि छैन। अनि अझै तिमीहरू बेन्यामीनलाई लैजान खोज्दैछौ। यी सबै कुरा मेरा विरुद्धमा छन्!” तब रूबेनले आफ्ना पितालाई भने, “यदि मैले यसलाई फर्काएर ल्याउन सकिनँ भने तपाईंले मेरा दुवै छोराहरूलाई मारिदिन सक्नुहुन्छ। यसलाई मेरो जिम्मामा छोडिदिनुहोस्, म यसलाई फर्काएर ल्याउनेछु।” तर याकोबले भने, “मेरो छोरा तँसित त्यहाँ जानेछैन; यसको दाजु मरेर गयो, अब ऊ एउटा मात्र बाँकी रहेको छ। तिमीहरूसित यात्रामा यदि यसमाथि कुनै जोखिम आइपर्‍यो भने तिमीहरूले मलाई यो सेतै फुलेको अवस्थामा शोकसितै चिहानमा लैजानेछौ।”

उत्पत्ति 42 पढ्नुहोस्