उत्‍पत्ति 42:29-38

उत्‍पत्ति 42:29-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब उनीहरू कनान देशमा आफ्‍ना बुबा याकूबकहाँ आइपुगे, तब उनीहरूमाथि भएको कुरा सबै तिनलाई यसो भनेर बताए, “त्‍यस देशका मालिकले हामीसित कठोर बोली गरे। हामीलाई त तिनले त्‍यस देशमा जासूसजस्‍तै तुल्‍याए। तर ‘हामी सोझा मानिस हौं। हामी जासूस होइनौं। हाम्रा बुबाका हामी बाह्र भाइ छोरा हौं। एउटाचाहिँ छैन, र कान्‍छोचाहिँ यस बेला कनान देशमा हाम्रा बुबाको साथमा छ’ भनेर हामीले तिनलाई भन्‍यौं। “त्‍यस देशका ती मालिकले हामीलाई भने, ‘यस कुराबाट मात्र तिमीहरू सोझा मानिस रहेछौ भनी मलाई थाहा हुनेछ, कि तिमीहरूका दाजुभाइमध्‍ये एक जना यहाँ मसँग छोड़, र अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज लिएर आफ्‍नो बाटो लाग। तर तिमीहरूको कान्‍छो भाइलाई यहाँ मकहाँ ल्‍याओ। तब मात्र तिमीहरू जासूस होइनौ, तर सीधा मानिस रहेछौ भन्‍ने मलाई थाहा हुनेछ, र म तिमीहरूको यस भाइलाई तिमीहरूका हातमा सुम्‍पनेछु, र तिमीहरू यस देशमा लेनदेन गर्न पाऔला’।” उनीहरूले आफ्‍ना धोक्राहरू खन्‍याउँदा उनीहरू हरेकका चाँदीको पोको आ-आफ्‍नो धोक्रोमा रहेछ। जब उनीहरूले र उनीहरूका बुबाले ती चाँदीका पोकाहरू देखे तब उनीहरू डराए। उनीहरूका बुबा याकूबले उनीहरूलाई भने, “तिमीहरूले त मेरा छोराहरू मबाट खोसेर मलाई अति शोकित तुल्‍याएका छौ। योसेफ छैन, शिमियोन छैन, अब बेन्‍यामीनलाई पनि लैजान खोज्‍छौ। यी सबै घटना मैमाथि पर्न आएको छ।” तब रूबेनले आफ्‍ना बाबुलाई भने, “यदि मैले बेन्‍यामीनलाई तपाईंकहाँ ल्‍याइनँ भने मेरा दुई छोराहरूको प्राण लिनुहोस्‌। बेन्‍यामीनलाई मेरो जिम्‍मामा दिनुहोस्‌। त्‍यसलाई म तपाईंकहाँ फर्काएर ल्‍याउनेछु।” तर याकूबले भने, “मेरो छोरो तिमीहरूसँग जानेछैन, किनकि त्‍यसको दाजु मरिहाल्‍यो, र अब यही मात्र बाँकी छ। यदि तिमीहरूले गर्न लागेको यात्रामा त्‍यसमाथि केही खतरा पर्न आयो भने, तिमीहरूले मलाई यो फुलेको कपाल अफसोसमै चिहानमा पुर्‍याउनेछौ।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 42 पढ्नुहोस्

उत्‍पत्ति 42:29-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब उनीहरू कनान देशमा आफ्ना पिता याकोबकहाँ आइपुगे, तब उनीहरूले आफूमाथि जे घटना भएको थियो, ती सबै बताए; अनि भने, “त्यस देशका मालिकले हामीसित रुखो बोली बोले, र हामी त्यस देशमा जासुसी गर्न गएझैँ व्यवहार गरे। तर हामीले तिनलाई भन्यौँ, ‘हामी जासुसहरू होइनौँ; तर इमानदार मानिसहरू हौँ। हामी बाह्र जना दाजुभाइहरू एकै पिताका छोराहरू हौँ। एउटा भाइ मरिसक्यो, र कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासित छ।’ “तब त्यस देशका मालिकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी म यसरी जान्‍नेछु: तिमीहरूका दाजुभाइहरूमध्ये एक जनालाई यहाँ मसित छोड, र बाँकीचाहिँ भोकले ग्रस्त भएको आफ्ना घरानाका निम्ति अन्‍न लिएर जाओ। अनि तिमीहरूको कान्छो भाइलाई मकहाँ ल्याओ, र तिमीहरू जासुस होइन रहेछौ, तर इमानदार मानिसहरू रहेछौ भनी म जान्‍नेछु। तब म तिमीहरूको भाइलाई तिमीहरूकहाँ फर्काइदिनेछु, र तिमीहरूले यस देशमा स्वतन्त्र भएर लेनदेन गर्न सक्नेछौ।’ ” उनीहरूले जब आफ्ना बोराहरू खाली गर्दैथिए; हरेकको बोराभित्र आ-आफ्नो पैसाको थैली रहेछ! जब उनीहरूले र उनीहरूका पिताले पैसाको थैलीहरू देखे, तब उनीहरू भयभीत भए। उनीहरूका पिता याकोबले उनीहरूलाई भने, “तिमीहरूले मलाई मेरा छोराहरूदेखि वञ्चित गरायौ। योसेफ छैन; अनि अब यहाँ शिमियोन पनि छैन। अनि अझै तिमीहरू बेन्यामीनलाई लैजान खोज्दैछौ। यी सबै कुरा मेरा विरुद्धमा छन्!” तब रूबेनले आफ्ना पितालाई भने, “यदि मैले यसलाई फर्काएर ल्याउन सकिनँ भने तपाईंले मेरा दुवै छोराहरूलाई मारिदिन सक्नुहुन्छ। यसलाई मेरो जिम्मामा छोडिदिनुहोस्, म यसलाई फर्काएर ल्याउनेछु।” तर याकोबले भने, “मेरो छोरा तँसित त्यहाँ जानेछैन; यसको दाजु मरेर गयो, अब ऊ एउटा मात्र बाँकी रहेको छ। तिमीहरूसित यात्रामा यदि यसमाथि कुनै जोखिम आइपर्‍यो भने तिमीहरूले मलाई यो सेतै फुलेको अवस्थामा शोकसितै चिहानमा लैजानेछौ।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 42 पढ्नुहोस्

उत्‍पत्ति 42:29-38 पवित्र बाइबल (NERV)

कनानका ती दाज्यू-भाइहरू आफ्ना बाबु याकूबकहाँ पुगे। तिनीहरूले याकूबलाई के भएको थियो प्रत्येक कुरो बताए। तिनीहरूले भने, “त्यस देशका शासकले हामीसित निष्ठुर शब्दमा कुरा गरे। तिनले हामी जासूस हौ पनि भने। तर तिनलाई हामीले भन्यौं हामी जासूस होइनौं, हामी इमानदार मानिसहरू हौं। हामीले तिनलाई भन्यौं हामीहरू बाह्र भाइ छौं। हामीले आफ्नो बुबाको विषयमा भन्यौं र यो पनि भन्यौं हाम्रो सब भन्दा कान्छो भाइ कनान देशमा नै छ। “तब ती प्रशासकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी प्रमाण गर्ने एउटा उपाय छ। तिमीहरू मध्ये एकजनालाई मसित छोड अनि अरू भाइहरू आफ्ना मानिसहरूको निम्ति अन्न लिएर फर्क। त्यसपछि तिमीहरूको कान्छो भाइ लिएर मकहाँ आऊ, तब म बुझ्ने छु तिमीहरू साँच्चै इमानदार मानिसहरू हौ अथवा हामीलाई नष्ट पार्ने सेनाको पक्षका तिमीहरू एउटा सेनाद्वारा हामीहरूलाई नष्ट पार्नु पठाएका हौ। यदि तिमीहरूले साँच्चो भनेका रहेछौ र इमानदार ठहरियौ भने आफ्नो भाइ फिर्ता पाउनेछौ। म उसलाई दिनेछु र तिमीहरू पनि हाम्रो देशमा अन्न किन्न स्वतन्त्र हुनेछौ।’” त्यसपछि ती दाज्यू-भाइहरूले आ-आफ्नो बोराहरूबाट अन्न बाहिर निकाल्न शुरू गरे अनि प्रत्येकले आफ्नो पैसाको थैलो आफ्नो अन्नको बोरामा पाए। ती दाज्यू-भाइहरू र तिनीहरूका बाबुले पैसा देखे र खुबै डराए। याकूबले तिनीहरूलाई भने, “के तिमी मैले मेरा सबै नानीहरू गुमाएको चाहन्छौ? यूसुफ गए, शिमोन पनि गए अनि अहिले तिमी मबाट बिन्यामीनलाई पनि छुट्‌याउन चाहन्छौ।” तर रूबेनले आफ्नो बाबुलाई भने, “बुबा! यदि मैले बिन्यामीनलाई फर्काएर तपाईंकहाँ नल्याए मेरा दुवै छोराहरू मारिदिनु होस्। विश्वास गर्नु होस्, म बिन्यामीनलाई फर्काएर ल्याउँने नै छु।” तर याकूबले भने, “म बिन्यामीनलाई तिमीहरूसित जान दिंदिन। उसको दाज्यू मर्यो अनि मेरी पत्नी राहेलबाट जन्मेको छोरो यो मात्र छ। मिश्र देश जाँदा यसलाई बाटोमा केही भए त्यस घटनाले मेरो मृत्युलाई निम्त्याउने छ। एक अति शोकाकुल बूढो मानिसलाई तिमीहरूले चिहानमा गाड्नेछौं।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 42 पढ्नुहोस्

उत्‍पत्ति 42:29-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरू कनानमा बुबाकहाँ आइपुगे र आफूलाई भएका सबै कुराहरू सुनाए, “मिश्रको बडा-हाकिमले हामीसित कडासित कुरा गरे र हामीलाई उनको देशको भेद लिनलाई आएका हौ भनी दोष लाए। ‘हामी जासूस होइनौं,’ हामीले जवाफ दियौं, ‘हामी इमानदार मानिस हौं। एउटा बुबाका बाह्र छोरा थियौं, एक भाइ मर्‍यो र कान्‍छो भाइ बुबासँग कनानमा छ’ भनेर हामीले उनलाई भन्‍यौं। उनले भने, ‘यस कुराबाट मात्र तिमीहरू इमानदार मानिस रहेछौ भनी मलाई थाहा हुनेछ: तिमीहरूमध्‍ये एक जना यहाँ मसँग बस। अरूहरूचाहिँ अन्‍न लिएर आफ्‍ना भोका परिवारकहाँ जाओ। तिमीहरूको कान्‍छो भाइलाई मकहाँ ल्‍याओ। तब तिमीहरू जासूस होइनौ तर इमानदार मानिसहरू रहेछौ भनी म बुझ्‍छु। तब तिम्रो यो भाइ म तिमीहरूलाई फर्काइदिनेछु र तिमीहरू यहाँ बस्‍न र किनबेच गर्न पाउनेछौ’।” तब तिनीहरूले आफ्‍ना भारी खोले र आफ्‍ना पैसाको धोक्रो आ-आफ्‍नो धोक्रोमा पाए। पैसा देखेर तिनीहरू र बुबा पनि डराए। याकूबले तिनीहरूलाई भने, “के तिमीहरूले मदेखि मेरा सबै छोराहरू खोस्‍ने? योसेफ गयो, शिमियोन छैन, अब बेन्‍यामीन पनि लैजाने कुरा गर्छौ। सबै कष्‍ट मैले भोग्‍नुपर्नेभयो।” रूबेनले बुबालाई भने, “मैले बेन्‍यामीनलाई फर्काइल्‍याइन भने तपाईंले मेरा दुई छोराहरू मारिदिन सक्‍नुहुन्‍छ। बेन्‍यामीनलाई मेरो जिम्‍मामा दिनुहोस्, म त्‍यसलाई फर्काई ल्‍याउनेछु।” तर याकूबले भने, “मेरो छोरा म तँसित पठाउन सक्‍दिनँ। त्‍यसको दाजुचाहिँ मरिगयो। त्‍यो मात्र रहेको छ। म बुढो भइसकें। बाटोमा यसलाई पनि केही भइगयो भने बुढेसकालमा तिमीहरूले मलाई अफसोसमा नै जिउँदै मार्नेछौ।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 42 पढ्नुहोस्