उत्पत्तिको पुस्तक 42:29-38

उत्पत्तिको पुस्तक 42:29-38 NERV

कनानका ती दाज्यू-भाइहरू आफ्ना बाबु याकूबकहाँ पुगे। तिनीहरूले याकूबलाई के भएको थियो प्रत्येक कुरो बताए। तिनीहरूले भने, “त्यस देशका शासकले हामीसित निष्ठुर शब्दमा कुरा गरे। तिनले हामी जासूस हौ पनि भने। तर तिनलाई हामीले भन्यौं हामी जासूस होइनौं, हामी इमानदार मानिसहरू हौं। हामीले तिनलाई भन्यौं हामीहरू बाह्र भाइ छौं। हामीले आफ्नो बुबाको विषयमा भन्यौं र यो पनि भन्यौं हाम्रो सब भन्दा कान्छो भाइ कनान देशमा नै छ। “तब ती प्रशासकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी प्रमाण गर्ने एउटा उपाय छ। तिमीहरू मध्ये एकजनालाई मसित छोड अनि अरू भाइहरू आफ्ना मानिसहरूको निम्ति अन्न लिएर फर्क। त्यसपछि तिमीहरूको कान्छो भाइ लिएर मकहाँ आऊ, तब म बुझ्ने छु तिमीहरू साँच्चै इमानदार मानिसहरू हौ अथवा हामीलाई नष्ट पार्ने सेनाको पक्षका तिमीहरू एउटा सेनाद्वारा हामीहरूलाई नष्ट पार्नु पठाएका हौ। यदि तिमीहरूले साँच्चो भनेका रहेछौ र इमानदार ठहरियौ भने आफ्नो भाइ फिर्ता पाउनेछौ। म उसलाई दिनेछु र तिमीहरू पनि हाम्रो देशमा अन्न किन्न स्वतन्त्र हुनेछौ।’” त्यसपछि ती दाज्यू-भाइहरूले आ-आफ्नो बोराहरूबाट अन्न बाहिर निकाल्न शुरू गरे अनि प्रत्येकले आफ्नो पैसाको थैलो आफ्नो अन्नको बोरामा पाए। ती दाज्यू-भाइहरू र तिनीहरूका बाबुले पैसा देखे र खुबै डराए। याकूबले तिनीहरूलाई भने, “के तिमी मैले मेरा सबै नानीहरू गुमाएको चाहन्छौ? यूसुफ गए, शिमोन पनि गए अनि अहिले तिमी मबाट बिन्यामीनलाई पनि छुट्‌याउन चाहन्छौ।” तर रूबेनले आफ्नो बाबुलाई भने, “बुबा! यदि मैले बिन्यामीनलाई फर्काएर तपाईंकहाँ नल्याए मेरा दुवै छोराहरू मारिदिनु होस्। विश्वास गर्नु होस्, म बिन्यामीनलाई फर्काएर ल्याउँने नै छु।” तर याकूबले भने, “म बिन्यामीनलाई तिमीहरूसित जान दिंदिन। उसको दाज्यू मर्यो अनि मेरी पत्नी राहेलबाट जन्मेको छोरो यो मात्र छ। मिश्र देश जाँदा यसलाई बाटोमा केही भए त्यस घटनाले मेरो मृत्युलाई निम्त्याउने छ। एक अति शोकाकुल बूढो मानिसलाई तिमीहरूले चिहानमा गाड्नेछौं।”