जकरिया 6:1-8

जकरिया 6:1-8 NNRV

फेरि मैले माथि हेरें, र मेरो अगि दुई पर्वतहरूका बीचबाट चार वटा रथहरू आएका देखें। ती पर्वतहरू काँसाका थिए। पहिलो रथमा राता घोड़ाहरू, दोस्रो रथमा काला घोड़ाहरू, तेस्रो रथमा सेता घोड़ाहरू र चौथो रथमा पाङ्‌ग्रे घोड़ाहरू थिए— ती सबै बलिया थिए। मसित कुरा गर्ने ती स्‍वर्गदूतलाई मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्‌?” ती स्‍वर्गदूतले जवाफ दिएर मलाई भने, “यी स्‍वर्गका चार आत्‍माहरू हुन्, जो सारा संसारका परमप्रभुको सामुन्‍ने खड़ा भएर निस्‍किआएका हुन्‌। काला घोड़ाहरू भएको रथ उत्तर देशतिर जान्‍छ, सेता घोड़ाहरू भएको रथ पश्‍चिमतिर जान्‍छ, र पाङ्‌ग्रे घोड़ाहरू भएको रथ दक्षिणतिर जान्‍छ।” जब ती बलिया घोड़ाहरू बाहिर निस्‍के, तिनीहरू चारैतिर जानलाई तम्‍सिरहेका थिए। तिनले भने, “पृथ्‍वीका चारैतिर जाओ।” तब तिनीहरू पृथ्‍वीका चारैतिर गए। तब तिनले कराएर मलाई भने, “हेर, ती उत्तरको देशतिर लाग्‍नेहरूले मेरो आत्‍मालाई त्‍यहाँ आराम दिएका छन्‌।”