रोमी 14:13-23

रोमी 14:13-23 NNRV

यसैकारण हामी एउटाले अर्कालाई अब उसो इन्‍साफ नगरौं। बरु आफ्‍नो भाइको बाटोमा ठेस लाग्‍ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्‍यै नराख्‍ने अठोट गरौं। म जान्‍दछु, र प्रभु येशूमा मलाई निश्‍चय छ, कि कुनै कुरा पनि आफैमा अशुद्ध हुँदैन, तर जसले त्‍यो अशुद्ध ठान्‍छ, त्‍यसको निम्‍ति त्‍यो अशुद्धै हुन्‍छ। यदि तिमीले जे खान्‍छौ त्‍यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्‍ति ख्रीष्‍ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्‌। यसैकारण तिमीलाई जे असल लाग्‍छ त्‍यसलाई अरूले खराब भन्‍न नदेओ। किनभने परमेश्‍वरको राज्‍य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्‍मामा धार्मिकता, शान्‍ति र आनन्‍द हो। जसले यस किसिमले ख्रीष्‍टको सेवा गर्दछ, त्‍यो परमेश्‍वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्‍छ। यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्‍ति ल्‍याउँछ, अनि एउटाले अर्काको आत्‍मिक उन्‍नति गराउँछ। खानेकुराको खातिर परमेश्‍वरको कामलाई नष्‍ट नगर। वास्‍तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो। उचित त यो हुन्‍छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्‍तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्‍छ। तिमीमा भएको विश्‍वास परमेश्‍वर र तिम्रो बीचमा राख। धन्‍यको हो त्‍यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन। तर कसैले शङ्का गरेर केही खायो भने त्‍यो दोषी ठहर्छ, किनकि उसले विश्‍वाससाथ खाएको छैन। विश्‍वासबाट उत्‍पन्‍न नभएको कुनै पनि कुरा पाप हो।