रोमी 14:13-23
रोमी 14:13-23 NCV
यसकारण हामी एक-अर्काको न्याय गर्न छोडौँ। बरु आफ्नो मनमा दाजुभाइ वा दिदीबहिनीको बाटोमा बाधा हुने वा ठेस लाग्ने कुनै चीज नराख्ने सोच गरौँ। म जान्दछु, र प्रभु येशूमा निश्चित छु, कि कुनै पनि भोजन आफैँमा अशुद्ध हुँदैन। तर कसैले त्यो अशुद्ध देख्छ भने त्यसको निम्ति त्यो अशुद्ध हुनेछ। यदि तिमीले खाएको कुराले तिम्रो दाजुभाइ वा दिदीबहिनीलाई उदास बनाउँछ भने तिमी प्रेममा जिएका छैनौ। तिमीहरूको भोजनको कारणले कसैलाई नाश नगर, जसको निम्ति ख्रीष्ट मर्नुभयो। यसकारण तिमीलाई जे असल लाग्छ, त्यसलाई खराबीको रूपमा बोल्न नदेऊ। किनकि परमेश्वरको राज्य खाने र पिउने कुराको बारेमा होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो। किनभने जसले ख्रीष्टलाई यस प्रकारले सेवा गर्दछ, त्यसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ र मानिसहरूबाट स्वीकृत हुन्छ। हामी हर प्रयासले ती कुराहरूमा लागौँ, जसले शान्तिमा डोर्याउँछ र पारस्परिक उन्नति गराउँछ। परमेश्वरको कामलाई भोजनको कारणले नाश नगर। सबै भोजन शुद्ध छन्, तर त्यो अर्को व्यक्तिलाई ठक्करको कारण बन्छ भने उसले यो खानु गलत हो। मासु नखानू वा मद्य नपिउनू अथवा तिम्रो दाजुभाइ-दिदीबहिनीलाई ठेस लाग्ने कुनै पनि काम नगर्नू उचित हो। यसकारण यसबारे तिमीहरू जे विश्वास गर्छौ, त्यो कुरा तिमी र परमेश्वरको बीचमा राख। त्यो मानिस धन्य हो, जसले आफूले स्वीकार गरेको कुराले आफूमाथि दोष ल्याउँदैन। तर यदि कसैले शङ्का गरेर खायो भने त्यो दोषी ठहरिन्छ। किनकि उसले विश्वासद्वारा खाएको हुँदैन। जे कुरा विश्वासद्वारा आउँदैन, त्यो पाप हो।

