रोमीहरूलाई पावलको पत्र 14:13-23
रोमीहरूलाई पावलको पत्र 14:13-23 NERV
यसैले एक अर्कालाई जाँच्ने काम बन्द गरौं। त्यसको सट्टामा तिमीले दाज्यू-भाइका वा दिदी-बहिनीका बाटोमा वाधा नहाल्ने वा केही त्यस्तो नगर्ने निश्चय गर जसले गर्दा ती पाप गर्न तिर लाग्लान्। म प्रभु येशूमा हुँ। म जान्दछु कुनै खाद्य आफैंमा फोहोर छैन। तर यदि कसैले फोहोर भनेर विश्वास गर्छ भने त्यो उसैको लागि फोहोर छ। केही खाँदैमा यदि तिमीले आफ्ना दाज्यू-भाइ दिदी-बहिनीको भावनामा चोट पुर्याउँछौ भने तिमीले प्रेमको बाटो पछ्याउँदैनौ। कसैले गलत सम्झेको खाना खाएर तिमीले उसलाई नष्ट गर्नु हुँदैन। ख्रीष्ट त्यस मानिसको लागि पनि मर्नु भयो। आफूलाई असल लागेको कुनै कुराको निन्दा हुन नदेऊ। परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द। कसैले यस प्रकारले ख्रीष्टको सेवा गरे उसले परमेश्वरलाई खुशी पार्दछ। अनि त्यो मानिस अरूहरूद्वारा स्वीकृत हुनेछ। यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्। भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो। मासु, दाखरस वा अरू कुनै थोक जसले दाज्यू-भाइ, दिदी-बहिनीलाई पापमा धकेल्दछ। असल हो नखानुनै। यी चिजहरूमा तिम्रो विश्वास परमेश्वर र आफूमाझ राख्नु पर्छ। अपराध बोध नगरी आफूले उचित ठहरयाएको काम गर्ने मानिस धन्य हो। उसलाई परमेश्वरबाट आशिष, प्रदान गरिन्छ। तर कसैले शंका गर्दै केही कुरो खान्छ भने ऊ स्वयं नै दोषी हुँदछ। किनभने उसलाई त्यो उचित हो भन्ने भरोसा भएन अनि भरोसा नभई गरेको जे कुरा पनि पाप हो।

